कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गल्तीबाट सिक्नु विज्ञान

विज्ञान
डा. उदयराज खनाल

काठमाडौ — हाम्रो देशमा विज्ञान प्रविधिको अवस्था पक्कै निकै कमजोर छ । यो क्षेत्रलाई उन्नयनमा लान जिम्मेवार सरकारी निकाय, विश्वविद्यालयहरू सबै तदर्थवाद र परमुखी प्रवृत्तिमा अल्झेका छन् ।

गल्तीबाट सिक्नु विज्ञान
हाम्रो देश किन विज्ञान प्रविधिको क्षेत्रमा पछाडि पर्‍यो भन्ने कुरा चल्दा म कसो-कसो १९८९ को घटना सम्झन्छु । नोबेल पुरस्कार विजेता विश्वविख्यात भौतिकशास्त्री अब्दुल सलाम नेपाल आएका थिए । पाकिस्तानी मूलका उनलाई नेपाल मन पर्‍यो । यहाँका विद्यार्थी-अध्येताहरूसँग अन्तक्रिर्या गरे, सरकारी अधिकारीहरूसँग भेटे । त्यतिबेलै नेपालमा पनि केही गरौं भन्ने उनको मनमा आएछ । तत्कालीन राजा वीरेन्द्रद्वारा भएको उद्घाटनपछिको सार्वजनिक सम्बोधनमा, नेपालमा एउटा उच्चस्तरीय प्रविधि विकास केन्द्र खोल्नका लागि प्रस्ताव गर्दै त्यसका लागि अनुकूल अन्तर्राष्ट्रिय वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता देखाए ।
सलाम गए, नेपालमा काम होला त नि भनेर । यता सरकारले चाहिँ एउटा कमिटी बनायो । तर के राय दियो, त्यो प्रस्ताव अघि बढेन । त्यसको एक महिनापछि सलाम निर्देशक रहेको इटालीस्थित अन्तर्राष्ट्रिय सैद्धान्तिक भौतिकशास्त्र केन्द्रमा जाने मौका मलाई मिल्यो । पुगिसकेपछि उनलाई भेट्न मन लाग्यो । समय लिएर उनको कार्यालय पुगें । गरिब राष्ट्रबाट आएका जोसुकैलाई उनी स्नेह गर्थे । अशक्त शरीरलाई घस्ट्याउँदै मलाई स्वागत गर्न ढोकैसम्म आए ।
सलामले मलाई गरेको पहिलो प्रश्न थियो- 'नेपालमा हामीले गर्न खोजेको काम के भइरहेको छ ?'
'कमिटी बनाएका छन्, यसको सम्भाव्यताबारे बुझ्न,' मैले सहजतापूर्वक भनें । 'ल, अब छोडिदिनोस्, त्यो काम हुँदैन, नगर्ने नै भए,' उनको मुहार मलिन भयो ।
नभन्दै, त्यही भयो । कमिटी त्यत्तिकै थन्कियो । मेरो बुझाइमा केही यहाँकै, केही विदेशी अनुदानमा चलेका तत्त्वहरू सलामको प्रस्तावसँग खुसी थिएनन् । अरूको हातबाट राम्रो काम भएमा आफ्नो भाग खोसिन्छ भन्ने निम्नकोटिको सोच खोई हाम्रो देशमा कहिलेसम्म रहला !
अहिले त्यो प्रकरण सम्झँदा मलाई हामीले दैलामै आएको ठूलो मौका गुमाएछौं जस्तो लाग्छ । सलामले त्यो 'हाई टेक्नोलोजी सेन्टर'मा नेपालमा मुख्यतः सूचना विज्ञान (इन्फर्मेसन्स साइन्स), जैविक प्रविधि (बायोटेक्नोलोजी) र पदार्थ विज्ञान (मेटिरियल साइन्स) मा अध्ययन-अनुसन्धान अगाडि बढाउने सोच राखेका थिए । दक्षिण एसिया, त्यो पनि पाकिस्तानजस्तो अविकसित मुलुकको वैज्ञानिकले नोबेल पुरस्कार पाएपछि उनले निकै खिसिटिउरी बेहोरेका थिए । तर उनले आफ्नो मूल कहिल्यै बिर्सेनन् । यो क्षेत्रको गरिबीसँग उनको मन सधैं दुखिरह्यो । विज्ञान प्रविधिबाटै यो क्षेत्रलाई अगाडि बढाउन उनले नेपाललाई तटस्थ र उपयुक्त भूमि सम्झेको भन्ने मलाई यतिबेला लाग्छ । त्यो समय त्यस्तो केन्द्र भारत वा पाकिस्तानमै राखेको भए राजनीतिक तुषका कारण त्यो स्वीकार्य नहुन सक्थ्यो ।
हामीलाई भाग्यले साथ नदिएको होइन । तर, हामीले क्षेत्रीय विज्ञान प्रविधि केन्द्र र त्यसबाट मिल्ने दीर्घकालीन लाभहरू गुमायौं । हामी चुक्यौं त, अरू पनि त्यस्तै हुन्छन् भन्नै छैन । भारतकै कुरा गरौं । नब्बेको दशक सुरु हुँदाहुँदै तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले बैंग्लोर र हैदराबादलाई केन्द्र बनाएर सूचना प्रविधि र जेनेटिक साइन्समाथि खोज अनुसन्धान अगाडि बढाए । आज ती दुवै सहरले विज्ञान प्रविधिबाटै आफूलाई विकसित बनाउनुका साथै देशैको आर्थिक प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।
यो प्रसंगलाई यहाँ महत्त्वपूर्वक वर्णन गर्नुको एउटै उद्देश्य हाम्रो विगतको सान्दर्भिक सिंहावलोकनमात्रै हो । पछि पर्‍यौं भन्नुको मतलब अब हामी कहिल्यै अगाडि बढ्न सक्दैनौं भन्ने होइन । अब पनि हाम्रो विकास उच्चस्तरीय विज्ञान प्रविधिबाट मात्र सम्भव छ । विज्ञानबिनाको विकास दिगो हुन सक्दैन । एकथरीको मान्यता छ, विज्ञान महँगो छ, त्यसमा लागि रहनु बुद्धिमत्ता होइन । उनीहरूको धारणामा अरूले सिद्ध गरेको कुरा नक्कल गरेरै काम चलाउनु श्रेयस्कर छ । तर त्यो परनिर्भरता हो । परनिर्भरताले हामीलाई कुनचाहिँ क्षेत्रमा अगाडि लग्यो र ?
हाम्रो देशमा विज्ञान प्रविधिको अवस्था निकै कमजोर छ । यो क्षेत्रलाई उन्नयनमा लान जिम्मेवार सरकारी निकाय, विश्वविद्यालयहरू सबै तदर्थवाद र परमुखी प्रवृत्तिमा अल्झेका छन् । राज्यको प्राथमिकता र लगानी छैन । मुख्यतः सोच छैन ।
पछिल्लो समय जीवविज्ञान र रसायन विज्ञानका क्षेत्रमा निजी क्षेत्रबाट केही प्रयास भएका छन् । खासगरी जडीबुटी औषधिसम्बन्धी खोज अनुसन्धानका लागि । तर भएका ती थोरबहुत कामले पनि अन्तर्राष्ट्रिय मान्यता पाएका छैनन् । तिनै कुरा बाहिरबाट भएर आए भने वाहीवाही हुन्छ । यहाँ त हामीले आफ्नै बारीमा फल्ने बेसारका असाध्य औषधीय गुणहरूको वैज्ञानिक अनुसन्धान र बजारीकरण गर्न सक्नुपर्ने हो । क्यान्सरजस्ता घातक रोगहरूको निर्दिष्ट औषधि (टार्जेटेड मेडिसिन) हामीसँगै भएका जैविक चीजहरूबाट बन्ने देखिन्छ । हामी वनस्पति, पर्यावरण र आनुवंशिक विज्ञानका क्षेत्रमा उपयोगी उपलब्धिहरू हासिल गर्न सक्छौं । संसार क्रमशः भोकको चपेटामा पर्दैछ । जनसंख्या र उपभोग बढ्दो छ । साधनस्रोत त बढ्दैन । यतिबेला 'मोलिक्युलर बायोलोजी'को ठूलो सम्भावना छ । गएको शताब्दीमा संसारलाई भौतिक विज्ञानले निकै अगाडि बढायो । एसियाका सिंगापुर, ताइवान, कोरिया, जापानजस्ता मुलुक विद्युतीय क्रान्तिबाट उन्नति गर्न सफल भए । अब सम्भावना जीवविज्ञानतिर गएजस्तो लाग्छ । हरित उद्योगको माग हुने देखिन्छ । खाद्यान्नदेखि ओखतीमूलोका क्षेत्रमा 'बायो मोलिक्युलर' आधारित खोजी र बुझाइ बढिरहेको छ । अमेरिकाले अब भौतिक विज्ञानको सामथ्र्यलाई पनि जैविक क्ष्ाेत्रमा प्रयोग गर्न थालेको छ । अफगानी पहाडहरूमा तालिवान खोज्न उडाइने ड्रोनहरू ठूल्ठूला खेतीमाथि उडाइन थालेका छन्, कहाँ के भइरहेको छ भनेर सूचना लिन ।
हामीकहाँ समस्या ज्ञान, विज्ञानकै हो । परम्परागत कृषि गरे उल्टै भोकै परिने स्थिति आइसक्यो । पहिलेको अन्नभण्डार तराईमा मान्छेहरू कृषिभन्दा ज्यालादारी वा वैदेशिक रोजगारीमा लागेका छन् । हामीले आफ्नो स्थानीय सामथ्र्यमा आधारित वैज्ञानिक प्रविधिगत विकास नगरेसम्म उँभो लाग्न सकिँदैन । कुनै बेलाको गरिब मुलुक नर्वेले परम्परागत पानीघट्टहरूमा डायनामो जोडेर ऊर्जा क्रान्ति गरेको इतिहास हाम्रा लागि अनुकरणीय छ । हामी पनि जुम्लाको कालिमार्सी धानको आनुवंशिक अध्ययन गरेर उच्च उत्पादन गर्न मिल्ने बीउहरू निकाल्न सक्छौं । संसारमा त्यति धेरै उचाइमा धान फल्नु अचम्मैको कुरा हो । अमेरिकाले बासमतीको 'पेटेन्ट राइट' दर्ता गर्न खोज्दा भारतले हंगामा गर्‍यो । हामी आफ्नो कालिमार्सी किन छाड्ने ? विडम्बना भनौं, कृषिप्रधान देशमा यस्तो वैज्ञानिक उपागम लत्याएर हामी आफ्ना किसानहरूलाई 'टर्मिनेटर जिन' युक्त बीज प्रयोग गर्न बाध्य पार्दैछौं । बोट हल्केर घोगा नलाग्ने त्यस्तो जातको बीउले हाम्रा किसानहरूको मनोबल के भयो होला ?
हामीले जलस्रोतको गीत मात्र गायौं । यसको प्रविधिगत विकासमा केही गर्न सकेका छैनौं । बरु अब विकसित देशहरूले सौर्य ऊर्जालाई यति सहज र सरल बनाइसके कि खर्चका हिसाबले जलऊर्जासरह नै भइसक्यो र चाँडै झन् सस्तो हुँदै छ । संसारलाई ढपक्कै पारेको सूचना प्रविधिका क्षेत्रमा व्यक्तिगत स्तरबाट केही राम्रा काम भएका छन् । ती संस्थागत हुन सकेका छैनन् । राज्यले त्यसमा ध्यान दिनुपर्छ ।
भौतिक विज्ञानको अवस्था एकदमै दयनीय छ । संसारमै विद्यार्थीहरू गाह्रो लागेर कक्षाकोठाबाट भाग्ने पढाइ हो भौतिक विज्ञान । यहाँ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बर्सेनि १ सय २० जना विद्यार्थी भर्ना हुन्छन् । तीमध्ये साला नै ५०-६० जनाले विदेशमा पीएचडी गर्ने मौका पाउँछन् । विदेशमा गएर नयाँ प्रविधिमा समाहित हुँदै आफ्नो क्षमता बढाएर राम्रो काम पाइरहेका छन् । मेरा एक विद्यार्थीले त विश्वप्रसिद्ध इन्टेल कम्पनीमा माइक्रोप्रोसेसरसम्बन्धी अनुसन्धानको प्रमुखकै रूपमा काम गरिरहेका छन् । विदेश जाने त उम्किहाले, नजाने-नपाउनेहरूको यहाँ बिजोग हुन्छ । उनीहरूलाई कक्षा ११-१२ मा पढाएर गु्जारा गर्न पनि मुस्किल छ । मुलुकले उनीहरूको प्रतिभाको उपयोग गर्न सकेको छैन ।
मैले भन्दा मान्छेहरू रिसाउने गर्छन्, फेरि पनि रिसाउलान् । तर कटुसत्य के हो भने अन्य सबै क्षेत्रमा जस्तै नेपालको विज्ञानले पनि सक्षम नेतृत्व पाउन सकेको छैन । राजनीति छिरेको छ । सलामले भनेको सम्झन्छु ः 'विज्ञान प्रविधि क्षेत्रको नेतृत्व क्रियाशील वैज्ञानिक (वर्किङ साइन्टिस्ट) ले नै गर्नुपर्छ ।' हात मैलो होला भन्ने मानिस वैज्ञानिक हुन सक्दैन । उसले त सधैं प्रयोगशालामा चलिरहनुपर्छ । नेतृत्व गर्नेले त्यसैगरी अरूलाई पनि गराउन सक्नुपर्छ । टेबल कुरेर, फाइलमा घोरिएर हुन्न । नेतृत्वको कुरा गर्दा महान् भारतीय वैज्ञानिक मेघनाथ शाहको कुरा आउँछ । दिल्ली विश्वविद्यालयमा म आफ्नो पीएचडीको शोध प्रतिरक्षा गर्न जाँदा त्यहाँका प्राध्यापकहरूले भनेका थिए, 'हामीकहाँ पनि शाहकै कारणले मात्र विज्ञान यो अवस्थामा छ ।' शाह त्यस्ता वैज्ञानिक हुन् जो बंगालबाट चुनाव लडेर सभासद बने, अनि संसद्मा पुगेर देशका लागि आवश्यक विज्ञान प्रविधिसम्बन्धी नीति पास गराए ।
वि.सं २०४७ तिर जर्मन सरकारले नेपालमा विज्ञान क्षेत्रमा ठोस परियोजनाका लागि रामै्रै पैसा दिने मनसाय बनाएछ । त्यसका लागि एउटा टोली आएर यहाँ अन्तर्क्रिया गरे, विश्वविद्यालयका विभागमा, मन्त्रालय, प्रज्ञाप्रतिष्ठानहरूमा । कतै, विज्ञानको विकास तल्लो कक्षाको पढाइबाटै सुधार गरेरमात्र सम्भव छ भन्ने, अर्कातिर अनुसन्धानले मात्र भन्ने जस्ता कुरा गरेपछि विश्वविद्यालयको विज्ञानको सुधार गर्नै मूल उद्देश्य लिएर आएको त्यो टोली अलमलिएर फक्र्यो । यस्तो सोच, अस्पष्टताले सम्भावना र अवसर मात्र गुम्छ ।
विज्ञान प्रविधिका क्षेत्रमा हाम्रो सोचै पुग्न नसकेकै हो । दुनियाँले हाम्रो भूगोललाई प्रयोगशाला बनाएर त्यहाँबाट निस्केको डाटाबाट हजारौं पीएचडी निकालिसके । हामीचाहिँ पुरानै ढर्रामा छौं । हामीले तुलनात्मक फाइदाका क्षेत्रमा पनि विज्ञानलाई उपयोग गर्न सकेका छैनौं । विज्ञानका महत्त्वाकांक्षा त हाम्रा लागि अहिले सपनासरह छन् । भारतले अन्तरिक्षमा यान पठाउँदा करोडौं भोको पेटमा लात्ती हानेको भनेर आलोचना भयो । तर म के सोच्छु भने त्यो कामले भारतलाई धेरै राम्रो गरेको छ, विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने नयाँ उद्योगहरू फस्टाउन थालेका छन्, विज्ञान प्रविधितर्फ आममानसमा विश्वास बढेको छ । हामीकहाँ विज्ञानका मुद्दामा कसैले विश्वास गर्दैन । विज्ञान मन्त्रालयमा कसैलाई आकर्षण छैन । नेतृत्वमा विज्ञानबारे बेखबर मान्छे जान्छ । सही मान्छेले अवसर पाउँदैन । विज्ञानका सभा/सम्मेलन हाम्रा मान्छेहरूलाई विदेश भ्रमणको अर्थमा मात्र सीमित छन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको गठनसगै, छलफलका लागि वितरित पुस्तिकामा पनि, नेपाल सानो बजार भएको हुनाले विकसित विज्ञान (एडभान्स्ड साइन्स) का अभ्यासलाई प्राथमिकता दिन उपयुक्त नहुने र संसारमा भए, गरेका अभ्यास ल्याए पुग्ने विचार प्रकट गरिएको थियो । यस्ता मानसिकता नै विज्ञानको विकासमा तगारो बनेको छ ।
हामीकहाँ विभाग, इकाइहरू टुक्र्याएर, धेरै साइनबोर्ड झुन्ड्याएर विज्ञानमा के-के न काम गर्न खोजेको जस्तो देखाउने चलन छ । एउटा नयाँ मान्छे विदेशको पीएचडी बोकेर आउँछ, उसलाई नयाँ विभाग नै चाहियो । विज्ञानले निरन्तर र व्यापक अन्तक्रिर्या र अभ्यास खोज्छ । वि.सं. २०४७/४८ सालतिर अमेरिकाको कोरनेल युनिभर्सिटीका भौतिकशास्त्री साल पिटर नेपाल आएका थिए । उनले हाम्रा विभागहरूको वर्गीकरणबारे चासो राखेछन् । उनले सुन्नेबित्तिकै भने, 'हामीले २० वर्षअघि जे गल्ती गरेथ्यौं, तिमीहरू अहिले त्यही गर्दैछौं । टुक्राएर सबै साधनस्रोत पातलिन्छ, जोडेचाहिँ अन्तरक्रिया पनि बढ्छ र स्रोत पनि जुट्छ ।' पूर्वी जर्मनीका एकल प्रयोगशालालाई विश्वविद्यालयहरूमा गाभियो । भारतमा पनि, मेघनाद शाहले विरोध गर्दागर्दै खोलिएको राष्ट्रिय प्रयोगशालाहरूमा पनि अनुसन्धानकर्ता एक्लिएर उत्पादकत्व निकै घटेको अनुभव भएको छ ।
कक्षा ११-१२ मा अपूर्व प्रतिभा भएका विद्यार्थीहरू भेट्छु म । उनीहरूले मौका पाउने हो भने भविष्य उज्ज्वल छ । तर तिनीहरू पनि एउटा अवस्थामा गएर निराश हुन्छन् । म वैज्ञानिक प्रयोगका नाममा जिज्ञासा राख्नेहरूलाई प्रोत्साहित गर्छु तर उनीहरूलाई पढाइ नछोड्न मेरो अनुरोध हुने गर्छ । त्यस्ता प्रतिभाहरू 'गाइडेड' हुनुपर्छ । हामीले विज्ञान नै बुझ्न नसकेका हौं । विज्ञान भनेको 'ट्रायल एन्ड इरर'कै प्रक्रिया हो । गल्तीबाट सिक्नु विज्ञान हो, त्यस्तै गल्ती बारम्बार गर्नु अविज्ञान हो । हामी वैज्ञानिक शिक्षा, भूमिसुधार, के के भन्छौं । तर यसले, विज्ञान नै नगरी कसरी वैज्ञानिक हुन्छ, मलाई अचम्म लाग्छ ।
यावत् समस्या, अन्तरविरोध, विडम्बना हुँदाहुँदै कसरी अगाडि बढ्ने त ? यो प्रश्नमा मलाई विख्यात अर्थशास्त्री अमत्र्य सेनको धारणा ठीक लाग्छ । उनले राजनीतिक खेलवाडले भोकमरी र पिछडापनले मरेका दक्षिण एसियाली मुलुकहरूको सन्दर्भमा अब विकासका लागि मानवीय पुँजी (ह्युमन क्यापिटल) मा जोड दिनुपर्ने भनेका छन् । हामीले पनि आफ्नो मुलुकमा अब विज्ञान शिक्षाका माध्यमबाट विकासको बाटो पहिल्याउनुपर्छ । त्यसका लागि विद्यालय तहदेखि नै विज्ञान र सीपलाई जोड दिनुपर्छ । उच्च शिक्षामा पुग्दापुग्दै सीपको विज्ञानतिर लाग्ने, छुट्टिने शैक्षिक व्यवस्था विकास गर्नुपर्छ । यससँगै सरकारले मात्रै नभएर निजी क्षेत्रलाई पनि योजनाबद्ध रूपमा विज्ञानको शिक्षा र अनुसन्धानमा सामेल गराउनुपर्छ । यी सबै कुराले वैज्ञानिक शिक्षा र विकासको बिस्तारै प्रत्याभूति हुन्छ ।
(भौतिकशास्त्री खनालसँग सुन्दर खनाल र अतुल मिश्रले गरेको कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ८, २०७० १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?