आगामी वर्षको वाङ्मय

साहित्य
डम्बर चेम्जोङ

काठमाडौ — समाजभित्र व्यक्ति बस्छ, व्यक्तिभित्र समाज । यसैले यिनलाई अलग गर्न सकिँदैन । लेखन पनि यो समाज र व्यक्तिबाट अलग छैन ।

आगामी वर्षको वाङ्मय
मान्छे-मनुवा हुनुको सार्थकता सामाजिकता र संस्कृतिको निर्माण अनि निरन्तरतामा सिद्ध हुन्छ । कुनै व्यक्ति आफ्नै समाज-संस्कृतिको विरोधमा उभिन सक्छ यदाकदा तर कसैलाई पनि समाजको निरपेक्षमा बुझ्न र अथ्र्याउन कदापि सकिँदैन । एउटा मनुवाको बाह्य वैयक्तिकताका विविध आयामहरू र ऊभित्रको सांसारिक झिलीमिलीपूर्ण भावहरू, माया, मोह, त्याग, कर्तव्यबोध, दुःखसुखका अनुभूति आदिको बुझाइ र व्याख्या सामाजिक परिप्रेक्ष्यमा मात्र हुन सक्छ ।
समाज भनेको व्यक्तिको आफ्नै परिवार, कुलकुटुम्ब, नातागोता, भाषा, रीतिथिति, श्ािक्षा व्यवस्था, अन्य समुदाय र सरकारसँगको सम्बन्ध आदिको समग्र स्वरूप हो । यसो हुँदा समाजभित्र व्यक्ति बस्छ, व्यक्तिभित्र समाज । रूख र जंगलबीचको जस्तो सम्बन्ध छ, करिब त्यहीखाले सम्बन्ध बुझ्न सकिन्छ व्यक्ति र समाजबीच पनि । चर्मचक्षुले व्यक्तिहरूबीचको क्रियाकलाप, अन्तरक्रियाहरू मात्र देख्छ भने अन्तरदृष्टिले मात्र बुझ्छ समाज । बेहुला-बेहुलीबीच स्वयम्बर, सम्धीहरू, सम्धिनीहरूबीच चिनजान ढोगभेट, भोजभतेर आदि देख्दछ चर्मचक्षुले भने अन्तरचक्षुले यसैलाई विवाह भनी बुझ्छ । त्यसैले व्यक्तिहरू नै समाजका श्वासप्रश्वास र धड्कन हुन् । समाज जीवित देखिन्छ व्यक्तिहरूको चलखेलमा । स्रष्टा वा सर्जकहरू पनि समाजनिर्मित नै हुन् त्यसैले स्रष्टाले समाज निरपेक्ष कुनै सिर्जना गर्दछ भन्ने लाग्दैन । यसरी साहित्य पनि समाजभन्दा धेरै टाढा र असम्बन्धित हुन सक्दैन ।
'साहित्य समाजको ऐना हो ।' हामी आफूले भोगिरहेको, देखिरहेको समाजकै अनुहार झल्कन्छ साहित्यरूपी ऐनामा समेत । आगामी एक वर्षको नेपाली वाङ्मय वा नेपाली लेखन परम्परा वा नेपाली साहित्यले कुनै नितान्त नवीन मोड लिन्छ र नयाँ सन्दर्भ दिन्छ भन्ने मलाई लाग्दैन ।
वर्तमान नेपाली समाज(हरू) को स्वरूप, चरित्र, आनीबानी हेर्दा कुनै पनि क्षेत्रमा छलाङ्मयी परिवर्तन आउने सम्भावना छैन । त्यसैले पनि साहित्यका विविध विधाहरूमा जुन परम्परा छ त्यसले ठूलो फड्को हान्ने छैन । आ-आफ्नो विधाहरूमा कति फुटकर कृतिहरू थप होलान् ? उपन्यास, कथा, काव्य, खण्डकाव्य, महाकाव्य, नाटक, एकांकी, निबन्ध, प्रबन्ध कुन विधामा बढी सिर्जना होला ? कुन विधाले बढी साहित्यानुरागीहरूलाई आकषिर्त गर्ला ? भन्ने कुरा जोखाना हेरेर थाहा लाग्दैन । सायद यसो भन्न उपयुक्त होला- आगामी एक वर्षको नेपाली वाङ्मय 'देश, काल, परिस्थिति' मुताविकको हुनेछ । यहाँ देश भनेको समाज हो ।
काल भनेको इतिहास वा ऐतिहासिकता हो र परिस्थिति भनेको समाजको समकालिक विशिष्ट राजनीतिक, आर्थिक, सांस्कृतिक आदि घटनाक्रमहरू हुन् । त्यस्ता घटनाक्रमहरूउपर प्रतिक्रिया स्वरूप सर्जकहरूमा उत्पन्न हुने विशिष्ट भाव लेखनका माध्यमले व्यक्त गर्दा साहित्य सिर्जना हुन्छ ।
हाम्रा सर्जकहरूले टिप्ने विषयवस्तु अनगिन्ती छन् तर ती सबको धरातल मूलतः यही समाज नै हो । क्रमशः संस्थागत भइरहेको भ्रष्टाचार, राजनीतिलाई कसिलो बेर्दै ल्याइरहेको सामूहिक पहिचानको मुद्दा, रोजगारीका निमित्त विदेश जानेको लर्को, विदेशबाट बाक्साबन्दी भएर घर फर्काउनुपर्ने बाध्यता 'मन्त्री नियुक्त हुनु कहिले कहिले, निवास बुकिङ पहिले' जस्तो राजनीति, यावत् कुराहरूबाट सिर्जना हुने त हो साहित्य ।
वर्षमा धेरैजसो तरुल कन्दमूलले छाक टार्नेहरूले समेत गरिबी महसुस नगरेको स्थिति अनि वर्षको एक दिन माघेसंक्रान्तिमा जात-जातका तरुल खाने बन्दोबस्त गर्न नसकेकोमा मात्र पनि पैदा हुने 'गरिबी'को अनुभूति, यी सबै हुन सक्छन् साहित्य निर्माणका कच्चा पदार्थहरू । यस्ता खुद्रे चानचुने कुरा पनि हुन्छन् साहित्यको स्रोत ? खुद्रा जम्मा गरे बिटो होला, बिटोबाट गड्डी । साहित्य रचना पनि त्यस्तै हो । जीवनको एकक्षण एकपटक साहित्यरूपी ऐनामा देखाउनुपरे लघुकथाको रचना होला वा एउटा कविता वा मञ्चन गरिने भए होला एकांकी । मानव जीवनको एउटा पाटो देखाउनुपरे कथा, खण्डकाव्य रच्ाना होला । जीवनको सम्पूर्ण पक्षको वर्णन होला उपन्यासमा, महाकाव्यमा ।
आगामी एक वर्षमा साहित्यानुरागीहरूलाई आल्हादित पार्ने कुरा 'यी' 'ऊ' चिजबिजहरू पस्किएलान् भनेर अझ ठोस र सटीक रूपमा आँकलन गर्न सकिँदैन तर एउटा कुरा पक्का होः कुन साहित्यकार कति सफल होला भन्ने कुरा साहित्यानुरागीहरूको स्वादमा भर पर्नेछ । पाठकहरू आफ्नो 'स्वाद' अनुसारको रचना खपत गर्दछन् । यो फरक-फरक 'स्वाद'को सवाल पनि सामाजिक, सांस्कृतिक, राजनीतिक संरचनाबाट नै निसि्रत हुन्छ । कुरा स्पष्ट छः राजन मुकारुङको 'हेत्छाकुप्पा' एउटा पाठकलाई महभन्दा मिठो लाग्छ, अर्को पाठकलाई खल्लो, अझ अर्कोलाई चुकझैं अमिलो । 'हेत्छाकुप्पा' जस्तो कृतिले उठाएको 'जातीय मुक्ति'को आवाजमा स्वर थप्न खोज्लान् कतिपय पाठकहरू तर कतिपय पाठकहरू भने उही कृतिले निचोरिएलान् कागतीझैं अमिलो मानेर, 'हेत्छाकुप्पाहरूले देश फुटाउने भो' ठानेर । जे जस्ता स्वादवाला भए पनि सबै साहित्यानुरागी हुन् । सबै आ-आफ्नो स्वादका पारखी हुन् । लेखन कलामा सिद्धहस्त र शिल्पयुक्त रचना हुँदैमा पाठक आल्हादित हुन्छ भन्न सकिन्न । साहित्यानुरागीको चित्त हरिनुपर्छ, स्वाद भरिनुपर्छ । यसैले साहित्यमा पनि 'स्वाद'को महिमा पनि ठूलै छ ।
के 'स्वाद' मात्र हो त साहित्यकार र साहित्यानुरागीबीच सम्बन्धको सेतु ? कुन पाठकहरू कस्ता स्वादे छन् भन्ने बुझेर वा हेक्का राखेर साहित्यकारले रचना गर्ने हुन् त ? साहित्यको प्रयोजन पाठकहरूको स्वाद भर्नु मात्र होइन । सर्जक र उपभोक्ता (पाठक) बीच अन्य धेरै सम्बन्धहरू छन् । साहित्य भनेकै 'हितकारी भावयुक्त सिर्जना'
हो । संस्कृत साहित्याचार्य मम्मट साहित्य सिर्जनाको प्रयोजनबारे भन्छन् ः साहित्य पढेर पाठकहरू आल्हादित हुनु, उनीहरूलाई ज्ञान प्राप्ति हुनु भनेको उनीहरूको कल्याण हुनु हो । यसबाट साहित्यकारले धर्म कमाउँछन् । पाठकहरू सित्तैमा पढ्दैनन्, केही कुनै रूपमा सर्जकलाई समेत तिर्दछन् जसबाट साहित्यकारले केही अर्थोपार्जन पनि गर्दछ आफ्नो रचनाबाट । अर्थोपार्जन भएपछि साहित्यकारले आफ्नो भौतिक शारीरिक विलासिताका आवश्यकता केही भए त्यो पनि पूर्ण गर्न सक्ने भयो । जब धर्म गरियो, अर्थ कमाइयो, भोगविलास पनि केही भोगियो भने यति तीन कुरा पुगिसकेपछि कृतिले नै साहित्यकारको कीर्ति फैलाउँदछ र दुनियाँसँग प्रीति स्थापित हुन्छ । यतिका कुरा प्राप्तिपछि कोही पनि मोक्ष खोज्न अन्त जानै परेन । यसरी मम्मटका अनुसार 'उल्लेखित उपलब्धिहरू हासिल गराउन सक्नु नै साहित्यको प्रयोजन हो र त्यस्तो साहित्य विशिष्ट साहित्य हुन्छ ।'
नेपाली साहित्यकारहरूको हकमा पनि मम्मटको उपरोक्त परिभाषा सान्दर्भिक भएझैं लाग्दछ भलै उनीहरूले लेख्ने बखत 'धर्म, अर्थ, काम, मोक्ष, कृति, प्रीतिबारे हेक्का राख्छन् नै भन्ने लाग्दैन । सर्जकहरू आफूलाई लागेको कुरा लेख्छन् । उदाहरण, महाकवि देवकोटा आफ्नो भावनाको मूल फुटेर बहेको रचनालाई वषर्ात्को भेलसँग तुलना गर्दछन् 'शाकुन्तल' महाकाव्यमा-
माटो हो हुनता तथापि गहिरा आँखा हुने सज्जन ।
दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण ।।
जो आयो तर वषिर्ई घनघटा कालो-नीलोबाट यो ।
जो जो ल्याउँछ सो बिनी बिनी लिने सौजन्यको सौख हो ।।

महाकविलाई लाग्छ कि उनको सिर्जना कतिपयलाई माटोजस्तै लाग्ला तर यदि कुनै सज्जनको दृष्टि गहिरो छ भने यस रचनाभित्र सुनका कनिकाहरू भेट्नेछन् । वषर्ात्को भेलजस्तै भावनाबाट उर्लेर आउँदा यो रचनाले के-के बगाइल्याउँछ के-के । ती सबबाट सज्जनहरूले आ-आफ्नो स्वाद, रुचि अनुसार छानीछानी जे मन पर्छ त्यो लिऊन् भन्ने चाहना छ यहाँ ।
साहित्य सिर्जना अर्काको 'स्वाद'का आधारमा वा मम्मटले भनेजस्तो यसका विविध प्रयोजन पूर्ण गर्नका लागि मात्र पनि हुँदैन । समाजको वृहत्तम उपरी संरचना र मूलतः समष्टिगत ऐतिहासिक वास्तविकताले पनि साहित्यको धार र मोडहरू निर्धारण गर्दछन् किनकि व्यक्ति-सर्जकहरूलाई त उनीहरूभन्दा माथिको विशिष्ट ऐतिहासिक सामाजिक संरचनाले कज्याएर राखेको हुन्छ । नेपाली साहित्यको पुरानो परम्परालाई हेर्दा यो प्रस्ट हुन्छ । गोख्राली सेनाहरूले जताततै युद्ध जित्दै राज्य विस्तार गरिरहेका बेलाका साहित्य वीर रस प्रधान थिए- 'फिरङ्गी हराई लुटीपिटी चाँडो, .... पुगी पखाल्नु छ खाँडो' जस्ता कविता सिर्जना हुन्थे । सुगौली सन्धिपछिका अवस्थामा यस्तो रचना घटेर गएको प्रतीत हुन्छ र क्रमशः राजा सामन्तहरूको भक्ति गाउने, शक्तिको पूजा-अर्चना गर्नेखाले भावका साहित्य सिर्जना हुने गरेको देखिन्छ । राणाकालीन साहित्य सिर्जना यस्तै देख्ािन्छ । नेपाल एकखाले विशिष्ट राजनीतिबाट गुजि्ररहेको बेला शंृगार रसमय साहित्य प्रमुख धारझैं भएको पनि देखिन्छ । जब नेपाली राजनीतिमा माक्र्सवाद हाबी हुने क्रम र त्यसमाथि विश्वास बढ्यो, 'आशमाया' (डीपी अधिकारी), 'चेतनाको पहिलो डाक' (खगेन्द्र संग्रौला) जस्ता उपन्यासहरू लेखिए ।
वर्तमान नेपालको अवस्था भनेको 'नेपाली समाज' मात्र भन्न मिल्ने खाले होइन । अब 'नेपाली समाजहरू' भनियो भने मात्र राजनीतिक रूपमा सही हुन्छ । साहित्यकार तथा साहित्यानुरागी दुवै पक्षमा बहुसंस्कृतिवाद र बहुलराष्ट्रवादप्रति सचेत जमात बढिरहेको छ र हिजोको एकात्मक राज्यले आन्तरिक सांस्कृतिक, भाषिक, धार्मिक उपनिवेश विस्तार गरेकै हो भन्ने बुझाइ विस्तृत हुँदै गएको छ । मूलतः सबैखाले जातीय पहिचानहरू उत्तिकै महत्त्वपूर्ण र महानतापूर्ण हुन्छन् भन्ने सन्देश दिने साहित्य पनि आगामी वर्षमा सशक्त धारको रूपमा विकसित हुँदै जानेछ भन्ने लाग्छ । जातीय पहिचानवादी साहित्य सिर्जना वा त्यसलाई परिभाषित गर्ने सवालमा आजभन्दा ८० वर्ष अघि नै रूपनारायण सिंहले उनको कृति 'जातीय जीवनमा साहित्यको स्थान' (सन् १९३४) मा भन्नुभएको कुरालाई इन्द्रबहादुर राईले 'नेपाली उपन्यासका आधारहरू' मा उद्धृत गर्नुभएको छः 'साहित्य हो जीवनको पथप्रदर्शक । साहित्यले अगुवा भएर हामीलाई लैजान्छ कर्तव्य औ विचारका सर्वोच्च टाकुरामा । साहित्यले हामीलाई पुर्खाहरूका कीर्ति र यशको याद गराउँदै जातिको पृष्ठपोषण गर्छ, जातिलाई जात्याभिमानी, दृढ औ सुसंगठित तुल्याउँछ । साहित्यले हामीलाई स्वदेशको महिमा जनाएर, देशका चराचुरुङ्गी, फलफूल, लतावृक्ष, हावापानी आदिमा हाम्रो प्रेम उमारेर जातिलाई स्वदेशाभिमानी, देशभक्त औ कर्मनिष्ठ बनाउँछ ।'
नेपालको वर्तमान राजनीतिक र सामाजिक संकथन पनि संघीयतामा जातीय पहिचान नभई नहुने र संघीयतामा जातीय पहिचान हुने/नहुनेबीच धु्रवीकृत छ । आगामी एक वर्षको नेपाली वाङ्मयमा पनि यो ध्रुवीकरणको झलक देखिनेछ ।
(लेखक मानवशास्त्री हुन् ।)

प्रकाशित : फाल्गुन ८, २०७० १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?