कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बदलिँदा आयामहरू

समाज सेवा
आरति चटौत

काठमाडौ — धार्मिक कार्यका रूपमा समाजसेवालाई हेरिने विगत भएको समाजमा सेवा भावना र कर्मको अर्थ फेरिँदै गएको छ । यो सेवा मात्र नभएर अभियान बन्दै गएको छ ।

बदलिँदा आयामहरू
परम्परागत रूपमा धर्मले समाजसेवाको भावनालाई कुनै न कुनै रूपमा प्रेरित गरेको पाइन्छ । उदाहरणका रूपमा इस्लाम धर्मले आफ्नो कमाइको १० प्रतिशत गरिबहरूलाई देऊ भनेको छ, क्रिस्चियन धर्ममा 'च्यारिटी'का रूपमा अरूलाई केही न केही सहयोग गर्न भनिएको छ, हिन्दु धर्मको गीतामा आफ्नो उत्पादन जल र अग्निलाई दिएर बचेको हिस्सा लेऊ भनिएको छ ।
परम्परागत मान्यतामा समाजसेवा गर्नु भनेको धर्म कमाउनु हो । तर, पछिल्लो समयमा यो बहुआयामिक बनेको छ । समाजसेवा गरेबापत यही जुनीमा नाम, दाम र प्रसिद्धि खोज्ने प्रवृत्ति पछिल्लो समय हावी हुन थालेको छ ।
हिजोसम्म समाजसेवाबाटै टाढै रहेको र यसको महसुस नगरिएको क्षेत्रको संलग्नता बढ्नु यसको देखापरेको अर्को आयाम हो । सञ्चारमाध्यमहरूले सूचना र मनोरञ्जनलगायतका कार्यक्रमका साथै बाढीपहिरो जस्ता विपत्तिमा कोष नै खडा गरेर रकम संकलन गर्ने र पीडितलाई उपलब्ध गराउने जस्ता सकारात्मक पक्षहरू यसमा थपिएका छन् ।
समाजसेवामा लाग्दै गरेको मान्छेलाई प्रोत्साहनको जरुरत पर्दछ । थोरैमात्र प्रोत्साहन दिँदा पनि उसको जीवनमा त्यसले ठूलो ऊर्जा ल्याउँदो रहेछ र परिवर्तन गर्दो रहेको छ । त्यसमा सञ्चारमाध्यमको भूमिका झनै ठूलो हुन्छ । म मेरै कार्यक्रमको उदाहरण दिन चाहन्छु ।
दिलशोभा श्रेष्ठ । आज समाजसेवामा चिनिएको नाम । सबैभन्दा पहिला उनलाई संघर्ष कार्यक्रममार्फत सार्वजनिक गर्दा अवस्था फरक थियो । थोरै आमाहरूलाई आफ्नै खर्चले पालिरहेको कुरा मैले कतै सुनंे र हेर्न जाँदा निकै प्रभावित भएँ । आफ्नै आमालाई परित्याग गर्ने सन्तान थुप्रै छन् । तर, त्यस्ता आमाहरूलाई केही नभएकी दिलशोभाले उठाएर ल्याइन् र पालिन् । उनी आफैं छोरा नभएर श्रीमान्बाट त्यागिएकी महिला हुन् ।
मैले उनको कामबारे टेलिभिजनमा देखाएको एक वर्षभित्रै उनको जीवनमा धेरै परिवर्तन भयो । मन्त्रालयले खोजी गर्‍यो, उदाहरणीय व्यक्तित्व भनेर उनलाई विदेशसमेत पठायो । थाहा पाएपछि मान्छेहरूले तीजको दर र जन्मदिनमा गर्ने भोजको खर्च कटाएर उनको घरमा चामलको बोरादेखि अन्य सहयोग पुर्‍याउन थाले । अहिले उनले दुःख पाएका आमाबाहरूलाई सजिलै पालिरहेकी छन् ।
हिजो गाउँका हुनेखानेले पाटीपौवा बनाएर समाज सेवा गर्थे, अहिले आर्थिक रूपमा कमजोरहरूले पनि समाजसेवा गरिरहेका छन् । यसले समाजसेवा धनमात्रै होइन, अन्य उपायद्वारा पनि गर्न सकिन्छ भन्ने 'ट्रेन्ड' स्थापित गरेको छ । समग्रमा भन्नुपर्दा, धेरै क्षेत्र र फरक वर्गको संलग्नता र फरक क्षेत्रमा सेवाभाव रूपान्तरण हुनु यसका सकारात्मक पक्ष हुन् ।
यद्यपि विदेशी दाताबाट भए गरेका कामहरू र त्यसमा संलग्नहरूको कार्यलाई पूर्णरूपमा समाजसेवा भन्न सकिंदैन । त्यसलाई जागिरका रूपमा लिन सकिन्छ । त्यस्ता परियोजना समाजसेवासँग सम्बन्धित (जस्तैः छोरीलाई विद्यालय पठाउने वा गरिबी निवारणसम्बन्धी) होलान्, तर त्यस्ता कार्यमा संलग्नहरू जागिरे हुन् । त्यसको प्रभावलाई समाजसेवाका रूपमा लिन सकिए पनि संलग्न व्यक्ति आफैं समाजसेवी होइनन् ।
समाजसेवा भनेको व्यक्ति आफैं उत्प्रेरित भएर गर्ने काम हो । दाताको सहयोगबाट सञ्चालित कार्य समाजसेवा जस्तो देखिए पनि वास्तविकता त्यस्तो पाइँदैन ।
मैले टेलिभिजन कार्यक्रममा साक्षात्कार गरेका व्यक्तिहरूमा अधिकांश तल्लो तहमा रहेर समाजसेवामा संलग्नहरू छन् । ती पात्रहरूमध्ये ९९ प्रतिशत जातीय, भौगोलिक, लैंगिक र आर्थिक रूपले पछाडि परेका व्यक्ति थिए । तिनीहरूले गरेको सानो प्रयासले पनि समाजमा ठूलो परिवर्तन ल्याएको छ । उनीहरूले समाजमा जनचेतना जगाउने र आवश्यकतामा रहेका मानिसहरूलाई सानो स्तरको भए पनि सहयोग गरेर सामाजिक रूपमा बहिष्कृत समूहलाई माथि उठाउने प्रयास गरेका छन् ।
स्थानीय तहमा गृहणीहरू, आमा समूहका सदस्यहरू, शिक्षकहरू समाजसेवामा संलग्न भएको मैले पाएको छु । मजदुरी गर्ने र वादी समुदायका महिलाहरूमा मैले बाँच्नु र खानुमात्रै जिन्दगी होइन, केही गर्नुपर्छ भनेर लागेकाहरू भेटेको छु । उदाहरणका रूपमा बाजुराकी किशोरी हजारी वादीलाई लिन सकिन्छ । आफ्नै जीवन संघर्षमय हुँदाहुँदै समाजसेवा प्रतिको
उनको समर्पण लोभलाग्दो छ । वादीको परम्परागत गीतलाई चेतनामूलक बनाएर गाउँ-गाउँमा सुनाउने मात्र गरेकी छैनन्, राजधानी आएर संकलन गरेका लत्ताकपडा र खाद्यान्न विपन्नहरूलाई बाँड्ने कामसमेत गरिरहेकी छन् ।
कार्यक्रम सञ्चालनकै दौरानमा साक्षात्कार गरेकी यौन व्यवसायी महिलाको समाजसेवाबाट पनि प्रभावित छु । सशस्त्र द्वन्द्वका कारण विस्थापित भई यौन व्यवसाय गर्न बाध्य महिलाले आफ्नो छोरामात्रै नभई गाउँका विपन्न छिमेकीको छोरीलाई समेत पढाइरहेको थाहा पाउँदा म आश्चर्यमा परेकी थिएँ । जस्तोसुकै दुःख पर्दा पनि ती बालिकाले भविष्यमा आफूले जस्तै देहव्यापार गर्नु नपरोस् भनेर पढाएको उनको अभिव्यक्ति सुन्दै गर्दा भावविह्वल भएकी थिएँ ।
यी उदाहरणहरूले 'हुँदा पनि नदिने के सम्पन्न, नभएर पनि दिने पो धनी' भन्ने उक्तिलाई पुष्टि गर्छ । वास्तविक रूपमा निःस्वार्थ समाजसेवा गर्नेहरू र थोरै काम गरेर धेरै चर्चा खोज्नेहरूबीच यहींनिर भिन्नता छ । यिनीहरूकै योगदानले समाजको तल्लो तहमा थुप्रै परिवर्तन भएका छन्, तर पनि उनीहरू खासै चर्चामा आउँदैनन् । आए पनि एकदमै कम । केही मान्छेहरू भने थोरै गरेर पनि धेरै चर्चामा छन् । जागिरको हिस्साका रूपमा गरेका कामलाई पनि समाजसेवा गरेको भन्दै नाम बनाएका छन्, थप दाम कमाएका छन् ।
समाजसेवामा लाग्नेको मूल सन्देश 'काम गर तर फलको आशा नगर' भन्ने नै हो । तर, हामी थोरै काम धेरै चर्चा र दाम कमाउन चाहिरहेका छौं । यस्तो प्रवृत्तिले समाजसेवालाई अन्ततः व्यापारमुखी बनाउँदै लगेको छ । समाजसेवाको नाममा महँगा गाडी चढ्ने, ठूला कार्यालय खोल्ने र सम्पन्न हुँदै जानेहरू हाम्रै वरिपरि छन् । यद्यपि यस्तो गर्नेहरूको संख्या थोरै होला । बिस्तारै समाजसेवा 'ग्ल्यामर' क्षेत्रका रूपमा परिणत हुँदैछ । आफ्नो पेसामा स्थापित वा नाम कमाएका व्यक्तिलाई समेत समाजसेवामार्फत थप 'ग्ल्यामर' बढाउने मोह देखिन्छ । सञ्चारमाध्यमले पनि त्यस्तालाई नै स्थान दिएर रातारात चर्चित बनाएका छन् । त्यसैको भरमा राजनीतिक नियुक्ति पाएका छन्, राष्ट्रिय/अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । 'संस्थागत सामाजिक उत्तरदायित्व' पूरा गर्न समाजसेवामा बिस्तारै व्यावसायिक घरानाहरूको पनि प्रवेश बढ्दो छ । यसलाई सकारात्मक मान्नुपर्छ । सञ्चारमाध्यममा तिनको पहुँचले प्रचार-प्रसार सजिलो बनाइदिएको छ । व्यावसायिक घराना, समाजसेवा र मिडियाको त्रिकोण बन्दै गएको पनि देख्न थालिएको छ । सामाजिक कार्यमा सहयोगले मात्र व्यावसायिक घरानाहरू सन्तुष्ट हुँदैनन्, उनीहरूले प्रचार खोज्छन्, यो समाजसेवामा देखिएको पछिल्लो आयाम हो ।
जे-जस्ता पाटाहरू देखापरे पनि समग्रमा समाजसेवाले सकारात्मक सोचाइ वृद्धि गर्छ । आर्थिक, सामाजिक, राजनीतिक र मानसिक लगायत हरेक क्षेत्रमा यसले सकारात्मक सोचको विकास गराउँछ । मैले कसैप्रति राम्रो गर्छु भने त्यो व्यक्तिको मप्रतिको सोचाइ पनि सकारात्मक नै हुन्छ । यस प्रकारको सकारात्मक सोचले समाजमा हरेक मान्छेमा सेवाभाव उत्पन्न गराउँछ । सकारात्मक सोचले अन्ततः जनशक्ति विकासमा पनि योगदान दिन्छ । लामो सशस्त्र द्वन्द्व हुँदै संक्रमणकालमा गुजि्ररहेको हाम्रो समाजमा द्वन्द्वको रूपान्तरणका लागि पनि समाजसेवाले भूमिका खेलिरहेको छ ।
स्थानीय तहमा पछाडि पारिएका वर्गको उत्थानका लागि भनेर ल्याइएका सरकारका सामाजिक कार्यक्रमलाई स्वतःस्फूर्त रूपमा समाजसेवाप्रति प्रेरित मान्छेहरूको कामसँग जोडिदिने हो भने त्यसले उनीहरूलाई ऊर्जा दिन्छ । यसले स्थानीय आवश्यकता पनि परिपूर्ति हुनुका साथै देश विकासमा पनि सहयोग पुग्न सक्छ ।
सामाजिक कार्यमा संलग्न गैरसरकारी संस्थाहरूको प्रकृति हेर्दा एकै खाले धेरै खुलेका र काममा पनि दोहोरोपना (डुप्लिकेसन) देखिन्छ । उदाहरणका लागि प्रजा (चेपाङ) उत्थानका लागि भएका कार्यक्रमहरू नै हेरौं न । धेरै संस्था प्रजाको विकासका लागि भनेर खुलेका छन् । तिनको कामले ती समुदायको जीवनमा के परिवर्तन भयो भन्ने कुरा हेर्ने बेला आएको छ । राज्यले यस्ता क्षेत्रमा हस्तक्षेप गर्ने बेला भयो । समाजसेवामा पनि प्राथमिकताको क्षेत्र तोकिदिनुपर्छ । राज्यले अनुसन्धान गरेर प्राथमिकताका क्षेत्र तोकिदिँदा सहयोग गर्न चाहनेलाई पनि सजिलो हुन्छ ।
धेरै हुनेले थोरै दिँदा उसको जीवनमा केही फरक पर्दैन तर प्राप्त गर्ने मान्छेले संसारै पाए जस्तो हुन्छ, यो भावनालाई फैलाउन जरुरी छ । उदाहरणका लागि, भारतमा सन् १९५० को दशकमा आचार्य दिनोनाभावेले दान दिने अभियान थाले, जसमा मानिसहरूमा आफूसँग बढी भएको र नचाहिने चीजको दान गर्ने अभियान चल्यो । यसले यति ठूलो उत्प्रेरणा ल्यायो कि मान्छेले आफूसँग भएको जमिन पनि बाँड्न थाले । त्यसैबाट त्यो अभियानको नाम भूदान रहन गयो ।
अर्को उदाहरण बनारसस्थित सर्वेश्वरी समूहलाई लिन सकिन्छ । यो कुष्ठरोगीहरूलाई सहयोग गर्ने संस्था हो । कुष्ठरोगीको स्वास्थ्य उपचारलगायत उनीहरूको सरसफाइ र अन्य हेरचाहको सेवा थालेको यो समूहले कुनै संस्था वा नाम चलेका व्यक्तिबाट सहयोग लिएनन् । त्यहाँ सेवा लिन पुग्नेहरूले प्रभावित भएर स्वेच्छाले दान बाकसमा हालेको चन्दाको भरमा संस्था चलेको छ ।
समाजसेवालाई पाठ्यक्रमले समेटेको खण्डमा सैद्धान्तिक अवधारणा बुझाउने र व्यावहारिक रूपमा अभ्यास गराउन सकिन्छ, यसले मुलुकको विकासमा थप योगदान दिन सक्छ । अधिकांश विकसित मुलुकहरूमा यो अभ्यास प्रचलित छ । हाम्रै मुलुकमा पनि अमेरिकालगायतका विकसित देशबाट स्वयंसेवीका रूपमा विद्यार्थीहरू काम गर्न
आइरहेका छन् । त्यसो गर्दा समाजसेवाप्रति नागरिकको लगाव सानैदेखि बढ्न थाल्छ । असल र आदर्श नागरिक बनाउने यो एउटा उपाय हुन सक्छ ।
(सञ्चारकर्मी चटौतसँग मैना धितालले गरेको कुराकानीमा आधारित)



प्रकाशित : फाल्गुन ८, २०७० १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?