२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मुक्तिनाथ र मार्फा

भीम घिमिरे

काठमाडौं — पुजारी पनि आफैंमा नौलो सूचना बोकेर उभिएका थिए । ‘मेरो यो सातौं पुस्ता हो,’ उनले भने, ‘मेरो बुवाले २० वर्ष पुजारी भएर बिताउनुभयो । उहाँपछि म आएको पनि १५ वर्ष लाग्यो ।’ म्याग्दीको राखु गाविसका सुवेदीले पूजा गर्ने मन्दिरबारे नेपाली र दक्षिण भारतीयलाई बताइरहनु पर्दैन ।

मुक्तिनाथ र मार्फा

हेर्दा उनी नेपाली होइनन्, न तिब्बती, न त भारतीय मूलको जस्तो देखिएपछि जिज्ञासा स्वाभाविक थियो । ‘माइ नेम इज वेणुकृष्ण दास’ उनले भने, ‘आई एम फ्रम न्युजिल्यान्ड ।’ मुस्ताङको रानीपौवास्थित मुक्तिनाथ मन्दिर परिसरमा भेटिएका गोरो, पातलो, कैला जुंगादाह्री भएको नेपाली–हिन्दी नजान्ने यी मनुवाले आफ्नो यात्राबारे बताए ।

‘मैले न्युजिल्यान्डमै भगवान् कृष्णका बारेमा थाहा पाएँ,’ उनले भने, ‘अनि बाली गए, इन्डियाको चेन्नई, कर्नाटक । त्यहाँ मुक्तिनाथबारे सुनेर यता आएको हुँ ।’ मान्छे थरीथरी छन् । र, रुचिमा पनि विविधता । उनका बारेमा मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले बताए, ‘१० दिनदेखि यहाँ छन् । ध्यान गर्छन् । पूजापाठ गर्छन् ।’

नजानेकाहरूले पनि बुझेका छन्– मुक्तिनाथ एउटा प्रसिद्ध धार्मिक तीर्थस्थल हो । समुद्र सतहको ३७१० मिटर उचाइमा अवस्थित यो मन्दिर हिन्दु र बौद्ध परम्परा धानेको देख्न मिल्ने अनुपम नमुना हो । यहाँको बस्ती बौद्धमार्गीको छ ।

मन्दिरमा ब्राह्मण पुजारी छन् । बौद्ध भिक्षुणी, आनीहरू पनि छन् । ‘यो मैले सुने–जानेदेखिको धेरै पुरानो परम्परा छ,’ सुवेदीले सुनाए, ‘यहाँ हिन्दु आउँछन्, पूजा गर्छन् । बौद्धमार्गी आउँछन् दियो बाल्छन् ।’ मन्दिरभित्रको सरसफाइ र पूजाको काममा आनीहरू सधैं खटिन्छन् । नजिकै जमिनमुनिको ग्यास निस्केर निरन्तर बलिरहने ठाउँ छ । जसलाई ज्वालामाई भनिन्छ । यहाँ ज्वाला संरक्षित गरेको स्थानमा गुम्बा छ । गुम्बामा लामा भेटिए, वाङगेल लामा नामधारी हीराबहादुर ठकुरी । उनको कुरा पनि सुवेदीभन्दा धेरै फरक थिएन । ‘हाम्रो जिजुबाजेदेखिको परम्परा मैले पनि धानेको हो,’ उनले भने, ‘मेरो बाजे यहाँ लामा हुनुहुन्थ्यो । उहाँ बित्नु भएपछि म आएँ ।’ २५ वर्षको छँदा आएको मान्छे, उमेर दोब्बरभन्दा बढी पुगेको उनले बताए । ३० जना आनी र आफूसहित ३१ जना गुम्बामा आश्रित रहेको उनले उल्लेख गरे ।

‘हिन्दुले मुक्तिनाथलाई विष्णु मानेर पुजेका छन्, हामी नागको राजा लुआङ घ्याल्बो मान्छौं,’ उनले भने, ‘देशभरिमा एउटा यहीमात्र नमुना ठाउँ हो जसले हिन्दु र बौद्ध परम्परा मान्नेहरूलाई एकै ठाउँ धुप–बत्ती गर्न जोडेको छ ।’

मुक्तिनाथ मुस्ताङको रानीपौवामा पर्छ । यो ठाउँ पुग्न पोखरा–बाग्लुङ सडकहुँदै म्याग्दीको बेनीबाट सडक यात्रामा मार्फा, जोमसोम छिचोलेर पुग्न सकिन्छ । यो यात्रा करिब डेढ सय किलोमिटरको मात्रै हो । बाटो जोखिमपूर्ण यात्रा रुचाउनेले मात्रै मन पराउने स्तरको छ । दोस्रो चल्तीको मार्ग पोखराबाट १५ मिनेटको हवाई यात्रामा जोमसोम उत्रेर गाडीमा एक घन्टामै पुगिन्छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने थोराङ पास जाने यात्रुका लागि पनि रानीपौवा एउटा विश्राम गन्तव्य हो । २०३६ सालमा यहाँ पहिलो होटल खोल्ने छिरिङ दावा गुरुङले भने, ‘मैले होटल खोल्नुअघि यहाँ टुरिस्टका लागि गतिलो बास दिने ठाउँ थिएनन् ।’ उनले नै अहिले यहाँ नयाँ ३० वटा हाराहारी होटल थपिएको देखिसके । ‘हामीले जिप पनि हेलिकप्टरलाई बोकाएर ल्यायौं,’ उनले भने, ‘त्योबेला आठवटा ल्याएको अब छ पचास नाघे ।’

मुस्ताङ हिमालपारिको जिल्ला हो । नीलगिरिमा ठोक्किएला ठोक्किएलाजस्तो गरेर हवाइजहाज जोमसोम एयरपोर्टमा ल्यान्ड गर्दाको दृश्य मोहकमात्र लाग्दैन, जोखिमपूर्ण पनि छ । यहाँ १० बजेपछि जहाज हम्मेसी आउँदैन । कारण– जोडले हावा चल्छ । नेपथ्यको गीतले भने जस्तै ‘जोमसोमै बजारमा, बाह्र बजे हावा सरर... ।’

मुस्ताङ अनौठो प्रकारको भूबनोटले मात्रै पर्यटक तान्दैन । यसका थुप्रै विशेषता छन् । रानीपौवाका गाउँका मुखिया प्रेम गुरुङले भने ‘पानी धेरै पर्दैन । त्यसैले पहाडहरू मान्छेले कलाकृति खोपेकोजस्तो देखिन्छ । सबै माटोका पहाड छन् ।’ उनको भनाइमा लहलह फापर, आलु, उवा, गहुँ र जौ फलाउने मुस्ताङको अर्को परिचय स्याउ हो । पुस–माघ हिउँ पर्छ । त्यसैले जिल्लाका थुप्रै पाखा बोटबिरुवा हुर्कन नसकेर नांगा छन् । पानी निकै कम पर्ने भएकाले पहाडहरूमा खोपिएका शताब्दी पुराना गुफा सुरक्षित नै देखिन्छन् ।

स्याउका बारेमा जान्न मार्फा पुग्नुपर्छ । पोखरा र काठमाडौं पुग्ने मुस्ताङी स्याउले कुनै बेला मार्फालीको नाम पाएको थियो । ‘पहिले जुम्लाबाट बिरुवा ल्याएर लगाउन थालिएको रहेछ,’ शीतोष्ण बागवानी विकास केन्द्रका प्रमुख बालकृष्ण अधिकारीले भने, ‘अब यहाँको हावापानीमा सुहाउने ५ जात विकास भएको छ । स्याहार पुग्यो भने मनग्ये फल्छ ।’ २०२३ सालमा स्थापना भएको केन्द्रले मुस्ताङमा लगाउन सकिने बालीबारे अनुसन्धानमात्रै गर्दैन, सिफारिस जातहरू किसानलाई बिउ र बिरुवा पनि बिक्रीवितरण गर्छ ।

३ हजार ५ सय ७३ वर्ग किलोमिटरमा फैलिएको मुस्ताङमा ८ सय ८३ हेक्टर जमिन उब्जाउ मानिएको छ । ३ सय ३० हेक्टरमा स्याउ फलाइएको छ । तीन वर्षयता यहाँ ठूलो क्षेत्रफल ओगटेर स्याउ लगाउने होड सुरु भएको छ । टुकुचेका किसान पथबहादुर थकालीले भने ‘फलेपछि बोटको काटछाट र जराको स्याहारमा धेरै ध्यान दिनुपर्ने रहेछ । अनि असिना आउँछ, कैले कैले त्यसले बिगार्छ ।’ स्याउ किसानले बेच्न जानुपर्दैन । घरघर ठेकेदार पुग्छन् । र, मोलतोल गरेर आफैं लैजान्छन् । तिब्बतसँग सीमाना पर्ने भएकाले जिल्लामा त्यसको सांस्कृतिक प्रभाव छ । उतैको क्यालेन्डर अनुसारका पर्व छन् । थकाली, विष्ट, गुरुङ र दलित समुदाय यहाँका मूल बसोबासी हुन् ।

कालीगण्डकी किनारको छुसाङमा छानो नभएका ६ कोठाको गोठ छ । एउटाबाट पालैपालो दुई माउ गाई निकालेर साङ्मु गुरुङले दूध दुहिन् । गाई हेर्दा तराईतिरका बाछाजत्रै देखिने । ‘हामी यसलाई लुलु गाई भन्छौं,’ उनले भनिन्, ‘यी ६ वटै कोठा बेग्लाबेग्लै परिवारका गोठ हुन् ।’ दिनभरि खुला छाडेर साँझ गोठमा थुन्ने र दुहुने बेलामात्रै खोले–पानी दिने गरिएका गाई स्याहार पुगेजस्ता देखिएनन् ।

छुसाङका गाउँ मुखिया रामकुमार गुरुङका अनुसार लुलु मुस्ताङ र मनाङमा मात्रै पाइने गाईको रैथाने जाति हो । ‘यो यहाँभन्दा बाहिर मैले कतै पाइन्छ भन्ने सुनेकै छैन,’ उनले भने, ‘आकारमा सानो सानो र स्याहार धेरै गर्नु नपर्ने भएकाले जमानादेखिको घरपालुवा हो ।’ जिल्ला पशु सेवा कार्यालयका प्रमुख नन्दलाल बर्माका अनुसार हिमालपारिको जिल्लामा मात्रै पाइने भएकाले २० वटा लुलु गाई अनुसन्धानका लागि खुमलटार लगिएको छ । ‘यो निकै दूधालु रैथाने जात हो,’ उनले भने, ‘तर, यहाँका मान्छेको आम्दानीको स्रोत अरूथोक पनि धेरै भएकाले गाईको स्याहारमा पुग्नुपर्ने जति ध्यान दिएको पाइँदैन ।’ उनका अनुसार लेकाली जात भएकाले यी गाई घाँस नपाइने याममा बोटबिरुवाका सुकेका हाँगा चपाइरहेको पनि देख्न मिल्छ । ‘स्याहार चाकर पुग्ने हो भने यो गाई विकसित जर्सीभन्दा कुनै मानेमा कम हुँदैनन्,’ उनले भने, ‘तर, यहाँ पर्यटन, स्याउ, आलु, फापर, के के हो के के आम्दानीका बाटो छन् मान्छेका । गाई चाकर कसले गरिरहोस् ।’

मुस्ताङको यात्रा लोमान्थाङ नपुगी अधुरो छ । २०६४ सम्म यहाँका राजा जिग्मेपर्बल विष्ट थिए । राजतन्त्र हटे पनि उनलाई दिइने सांस्कृतिक मान समुदायमा यथावत् छ । सन् १९९२ सम्म माथिल्लो मुस्ताङ जान तेस्रो मुलुकका पर्यटकलाई नेपाल सरकारले अनुमति दिएको थिएन । अब भने खुला छ ।
७ सय डलर तिरेर १० दिन घुम्ने पर्यटकले हाल प्रवेश शुल्क ५ सय डलर तिर्नुपर्छ । आन्तरिक पर्यटकका लागि कुनै शुल्क छैन । पदयात्रा रुचाउनेले हिंडेरै र, जिप चढेर घुम्न चाहनेले भनेकै ठाउँसम्म लैजान गाडी पाउँछन् । बेनीबाट रुप्से झरना र संसारकै गहिरो गल्छी हेर्दै यो जिल्ल प्रवेश गर्न सकिन्छ ।

यो जिल्लालाई मोटरबाटोको विकासले घुमन्तेका लागि सहज बनाएको मात्र छैन, पर्यटन व्यवसायमा लागेर ठमेल र पोखरामा होटल–रेस्टुराँ गरिरहेकाहरूलाई पनि फिराएको छ । जोमसोमका होटल व्यवसायी ट्रिपल पी गुरुङले भने, ‘हुदहुद आँधी एउटा नराम्रो सपनाजस्तो थियो । त्यसले केही सयम हाम्रो जिल्लाको व्यापार सुकायो । अब ठीकै छ । राजनीति ट्रयाकमा आए सबै राम्रो हुन्छ ।’

मुलुकको अवस्था सहज हुँदा एक दिन २२ वटासम्म उडान हुने जोमसोममा अहिले मुस्किलले ३/४ उडानमात्रै हुन्छन् । दक्षिण भारतीय पर्यटक मुक्तिनाथ आउने तीर्थालुमध्येमा धेरै हुन्छन् । सडकमार्ग पनि बढी उपयोग हुन थालेको छ । ट्राफिकका असइ मित्रलाल ढकालका अनुसार मुस्ताङमा कालोपत्रे सडक छैनन् । तर, ९५ वटा बस र ५४ वटा जिप कुद्छन् । जोमसोमबाट मुक्तिनाथको २३ किलोमिटर कच्ची बाटोले दिनरात फुर्सद पाउँदैन । ‘मेरो कमान्डमा हामी ट्राफिक जम्मा ५ जना छौं,’ उनले भने, ‘अचम्मै मान्नुपर्छ बाटो सबै हेर्दा जोखिमपूर्ण छन् तर, दुर्घटना भएको मैले थाहा पाएको छैन ।’

   

 

प्रकाशित : भाद्र २१, २०७२ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?