साँस्कृतिक राज्य र राजनीतिक राज्य

काठमाडौं — हुन त गिरिजालाई पढेका मान्छे भनेर मानिदैन । तर, उनको राजनीतिक समझ ज्यादै राम्रो थियो । उनको सुचनाको स्रोत व्यापक थिए । आजभोलीका नेताको सुचनाको स्रोत कम छन् । फेसबुक हेरे पुग्छ, गाउँमा आफ्ना काका छन्, निर्वाचन क्षेत्र हेर्ने एउटा मुनिम छ, उसँग कुरा गरे भइहाल्छ भन्छन् । हाम्रा नेताहरु आफ्ना आसेपासेका कुराबाहेक नसुन्ने । कान र नाक बन्द राख्ने र मुखमात्र चलाउने छन्, अहिलेका हाम्रा नेताहरु ।

म नेपाली कांग्रेसको सक्रिय वा निस्क्रिय सदस्य कहिल्यै पनि भइनँ । तर कांग्रेसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अवलोकन गर्दै आएको छु । म अहिले कांग्रेस बदलिएको देख्छु ।

सन् १९७०/८० को दसकमा नेविसंघका कार्यक्रममा आउने मान्छेहरु खुट्टामा चप्पल लगाएका हुन्थे । अहिले सबैले जुत्ता लगाएको देखें । अहिले सुकिला–मुकिला भएका रहेछन् । त्यसबेला नेविसंघको कार्यक्रममा किताब, कापी र कलम नबोक्ने एक जना पनि हुँदैन थिए । त्यो यहाँ देखिएन । तर अहिले फोन चाहिँ सबैसँग रहेछ ।

अर्को त्यसबेला महिला विद्यार्थीहरु कम थिए, ४० वर्ष पछि पनि त्यस्तै देखियो । यो दु:खलाग्दो कुरा हो ।
कुनै पार्टीसँग सम्बन्ध नभएकोले मलाई माले, मसाले, मण्डले सबैले बोलाउँछन् । उनीहरुको कार्यक्रममा गए भने हरेक वक्ताको बोल्ने, विचार दिने शैली एउटै हुन्छ, तलदेखि माथिको तहसम्म उही भनाई हुन्छ । कांग्रेस अथवा नेविसंघ वा तरुण दलका भने फरक हुन्छन् । हरेक वक्ताले फरक बोल्छन् । अघिल्लो र पछिल्लो बीचका कुरामा केही फरक आइहाल्छ ।

महाभारतमा एउटा कथा छ । महाभारतमा कौरवहरुको विनाश भयो, पाण्डवहरु पनि विनास भए । महाभारतको युद्धमा सबैभन्दा बलियो निस्किए, यादवहरु । बलियो भएपछि यादवहरुमा दम्भ निस्कियो ।
एकपटक कृष्णजीका छोरा ऋषिहरुसँग जिस्किए । उनले आफू पुरुष भए पनि गदाको माथिल्लो भागको फलाम पोको पारि पेटमा राखेर, म दुई जीउको भएको छु, मेरो बच्चा के हुन्छ ? म पुरुष भएर कसरी बच्चा पाउने ? जस्ता प्रश्न सोधेर जिस्क्याए ।

तीमध्ये एक ऋषिलाई यो देखेर रिस उठ्यो । उनले श्राप दिए– तिम्रो जिउबाट मुसल (फलाम) जन्मिछ । यादव केटाहरु तर्सिए । एकजना जान्ने मान्छे कहाँ गएर गुनासो गरे । उनले भनिदिए– यदि मुसल जन्मियो भने यादव वंशको सर्वनास हुन्छ । त्यसलाई धुलो बनाएर फालिदेउ । त्यसपछि दुई कुरा भयो भन्ने सुनिन्छ ।

धुलो पारेर फलामको धुलो फलिदिए । पहिलो कथाले त्यो धुलो फालेर उम्रेको वाण लागेर कृष्णको मृत्यु भयो भन्छ । अर्कोले होइन, त्यो धुलो खाएको माछाबाट निस्केको काँडा बिझेर यादवहरुको मृत्यु भयो । उनीहरु कमजोर भएर गए । गुजरात, द्धापरका यादव अब छैनन् भन्दा हुन्छ । यादवहरु अहिले भारतको उत्तरप्रदेश, बिहार र हाम्रो मधेसमा छन् । तर गुजरातमा वंश नाश भएर गयो । त्यो एउटा सानो दम्भबाट आएको गल्तीले भएको थियो ।

संविधानमा अहिले भएको गल्ती कांग्रेसमा आएको त्यस्तै दम्भका कारण उब्जिएको हो । कांग्रेसमा दम्भ आयो, एमाओवादी र एमालेलाई खुब लडायौं । हामी बलियो भयौं भन्ने दम्भ पलायो । त्यही दम्भबाट जन्मिएको संविधान हो यो ।  

यसको पृष्ठभूमिमा जानु आवश्यक छ । बीपी कोइरालाले नारा त दिए– समाजवाद, प्रजातन्त्र र राष्ट्रियता । यो नारा शीत युद्धताका तत्कालीन विश्वयुद्धमा कमजोर राष्ट्रहरुले आफ्नो राष्ट्रियता कसरी बनाउने भन्नका लागि ल्याइएको थियो ।

समाजवादले गरिब र धनीबीचको वर्गिय द्वन्द्वलाई कम गर्छ । प्रजातन्त्रले वर्चश्वशाली र अन्य समुदायहरुको बीचको दुरीलाई कम गर्छ । र, हरेक मतको महत्व बराबर हुने अवश्कता सिर्जना गर्छ ।

सैनिक सोच राष्ट्रवादमा आधारित हुन्छ । दोस्रो विश्व युद्धमा महान् राष्ट्रवादी हिट्लर भएका हुन्, स्टालिन, माओत्सेतुङ महान राष्ट्रवादी भएका हुन् । राष्ट्रियताले सैनिक सोचलाई हावी गर्छ । त्यसलाई हटाएर सैनिक राष्ट्रवादको साटो सिविक (नागरिक) राष्ट्रवाद आयो । नागरिकताको राष्ट्रियताले सबै नागरिकहरु बीचमा सामन्वय स्थापित हुन्छ । यी तीन विचार धाराको आधारमा नेपाली कांग्रेसको राजनीति सन् १९६० देखि ८० को दसकसम्म चल्यो । त्यसपछि बीपी कोइरालाले के देखे भने यति मात्रले नेपालको राष्ट्रियता बलियो नहुँदो रहेछ ।

नेपाली समाजमा सैनिक सोच बलियो रहेछ । सैनिक सोचमा राजाले नेतृत्व गर्छन् । त्यसैले प्रजातान्त्रिक सोच भनेको प्रचण्डको भाषामा (सिविक सोच) र सैनिक सोच फ्युजन हो, बीपी कोइरालाको भाषामा भन्ने हो भने समन्वय हो । यसको लागि मेलमिलाप भन्ने भयो । यसको अर्थ एउटा अर्कोमा विलय होइन । दुवै मिलेर बसेनौं भने हामी दुवै बिलाउँछौ भन्ने हो । हामी दुई फरक छौं तर दुवै मिलेर बसेनौं भने दुवै विलय हुन्छौं भनेर मेलमिलापको नीति आयो । यो नीतिको सान्दर्भिकता सन् १९९० मा सकियो ।

त्यो बेलामा जापानी मूलका अमेरिकी राजनीतिशास्त्री थिए– फ्रान्सिस फुकुयामा, स्यामुयल हन्टिनटनका शिष्य । फुकुयामाले पुरानो विचार धाराहरुकै अन्त्य गरिदिए ।

सोभियत संघको पतन भएपछि एउटा विचारधारा हावी भयो । त्यसपछिको विचारधाराको द्वन्द्व सैनिक राष्ट्रवादको सट्टा वर्गिय सैनिक राष्ट्रवाद (जसलाई माक्र्सवाद भनिन्यो) ले प्रतिनिधित्व गर्ने भयो । अर्कोतर्फ नागरिक राष्ट्रवाद त छँदै थियो ।

यो दुई राष्ट्रवादलाई मिलाउने काम गरे सन् २००६ मा आएर गिरिजाप्रसाद कोइरालाले । त्यो पनि अर्को किसिमको मेलमिलाप थियो । न कांग्रेसमा माओवादीको विलय भयो न माओवादीमा कांग्रेसको विलय भयो । माओवादीले संसदीय व्यवस्था, निर्वाचन प्रणाली स्वीकार गरेको हो तर विलय भएका होइनन् । किनकि, उनीहरुको आस्था आफ्नै ठाउँमा थियो । कांग्रेस त विलय हुने कुरा हुँदै भएन । त्यो एउटा समन्वय, मेलमिलाप भएको थियो ।



गिरिजाप्रसाद अलि फरक थिए । उनले के देखे भने यो मेलमिलापले पनि पुगेन । २१ औं शताब्दीको विचारधाराको द्वन्द्व चाहिँ एकल पहिचानको हो । उनले सैनिक राष्ट्रवादमा पनि एकल पहिचान हुन्छ भन्ने बुझे । एक समान बनाउनु पर्छ भनेर हिटलरको राष्ट्रवाद र प्रजातन्त्रमा पनि एकल राष्ट्रियता नै थियो । एउटै भाषामा समाहित गर्नुपर्छ भने दोस्रो विश्वयुद्धमा जितेको अमेरिका, बेलायत, फ्रान्स थुप्रैको पहिचान एउटै बनाउनु पर्छ भन्ने थियो । बहुपहिचानले राष्ट्र कमजोर हुन्छ भने विचारधारा आएको थियो ।

यो विचारधाराको अन्त्यले अर्को विचार धारा आएको हो । उनलाई कसले सुचना पुर्‍याउँथ्यो मलाई थाहा छैन । त्यो मलाई जानकारी हुने कुरा भएन । सन् १९९० पछि नेपाली कांग्रेसका नेताहरुसँग यस्तै सार्वजनिक कार्यक्रमको मन्चमाबाहेक भेट भएको छैन । सन् १९९० भन्दा अघि उनलाई भेट्न कोही जादैन थिए, म जान्थें । त्यसपछि उनकामा ताँती लाग्न थाल्यो, मलाई त्यसो गरि भेट्न मन कहिल्यै लागेन ।

नेपाली कांग्रेसको सरकारले, जो राष्ट्र र सरकार प्रमुख दुवै थियो, मधेसवादीहरुसँग सम्झौता गरेको हो । सम्झौताको विस्तृतमा नगएर पनि त्यसको मर्मलाई नसमात्ने हो भने जसरी कांग्रेसले समाजवादलाई पोलेर खायो, प्रजातन्त्रलाई पनि पोलेर खायो । राष्ट्रियतालाई पोलेर खाने हो कि भन्ने जोखिम चाहिँ उत्पन्न हुन्छ । त्यो मधेसवादीसँग भएको सम्झौता नेपालको राष्ट्रियता जोगाउने अवसर हो । त्यो अवसरलाई दूर्भाग्यबस सुशील कोइरालाले बुझ्न सकेनन् ।

सन् १९९० मा गिरिजाले भनेका थिए यही टुँडिखेलबाट– प्रजातन्त्रमा कसैको हार हुँदैन, यो पञ्चहरुको पनि जित हो । यो संविधान जारी गर्दा सुशीलले कस्तो घोषणा गरिदिए भने– यो पञ्चेहरुको मात्रै जित हो । अरु यो देशमा छैन । नेपाली कांग्रेसलाई विघटन गरिदिने हो कि भन्ने डरमा पारिदिए, प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत भएको व्यक्तिले । तर नेपाली कांग्रेसमा कहिलेकाही कमाल हुन्छ । हामी विद्यार्थी हुँदाखेरि माले, मसाले, मण्डले भन्थें, ‘अनि नेविसंघहरु के त ?’ यिनीहरु कमाले हुन् । सन् १९६०/७० को दसकमा नेविसंघमा लाग्ने कमाले हुन् । बाटोमा, भीडमा  नदेखिने तर कलेजमा चुनावको निर्वाचनमा जित्ने । त्यस्तै कमाल सुशीलमा भयो । उनमा आत्मवोध भयो– ठूलो गल्ती भएको छ । कांग्रेस यो संविधानमा कायम भयो भने प्रजापरिषद हुन्छ । देश पञ्चहरुलाई बुझाइदिएको हो । कांग्रेस अराष्ट्रिय तत्व हुँदा प्रजापरिषद् राष्ट्रवादी तत्व थियो । त्यही स्थितिमा पुग्ने हो ।

दोस्रो बुँदा मधेस आन्दोलन कुरा । मधेसवादी दलका नेताहरुको अनुहारमा हेरेर मात्र जाने भने हो नेपाली कांग्रेसका नेताहरुको अनुहारमा पनि धेरै आकर्षण छ र ? भीमबहादुर तामाङ, महेन्द्र नारायण नीधि, रामहरी जोशी, यी दुई चार जनाको नाम हटाइदिने हो भने कसको अनुहार हेर्दा यसको लागि जीवन अपर्ण गर्न सक्छु भन्ने लाग्छ ? बीपी कोइराला त अब कांग्रेसका मात्र नेता होइनन् । उनी त अहिले सबैभन्दा ठूला नेता बाबुराम भट्टराईका, सबैभन्दा ठूला नेता कमल थापाका, सबैभन्दा ठूला नेता केपी ओलीका हुन् । उनी त अब राष्ट्रिय नेता भइहाले । त्यसैले बीपीलाई अब कांग्रेसमा मात्र बाँध्न सकिन्न । तपाई अहिले कुन चाहिँ काग्रेसका नेताको अनुहार हेरेर ज्यान अर्पण गर्न सक्छु जस्तो लाग्छ । जस्तो कि, दुर्गानन्द झाले गरे जनकपुरमा । लाठी खान चाहिँ तयार हुनु हुन्छ होला । किनकि बाँचेपछि त्यसको ब्याजसहित असुल्न पाइन्छ ।

गोली खान तयार हुनु हुन्न होला, किनकी त्यो किसिमको भावना जगाउन सक्ने महेन्द्रनारायण निधि, सरोज कोइराला, गणेशमान सिंह, भीमबहादुर तामाङ, जिउँदोमा त रामहरी जोशीको भन्दा अरुको नाम लिन आएन मलाई, त्यो किसिमको छैन त । कांग्रेसमा त्यही छ, एमालेमा त्यही छ । कांग्रेसमा जस्तो नेता छ, मधेसमा पनि त्यस्तै नेता छन् ।

जसरी कांग्रेसको नेताले मात्र होइन, नेपाली जनताले आन्दोलन गरेर सन् १९९० को परिवर्तन भयो, सन् २००६ को परिवर्तन भयो । त्यसरी अहिले मधेसमा रहेका नेपाली जनताले आन्दोलन गरिरहेका छन् ।
अब मधेसका मुद्दाहरु के–के हुन् भन्ने कुरा त कतिपटक दोहोर्‍याउने ? मेरो जानकारीअनुसार गिरिजाप्रसाद कोइराला भाङ, गाँजा खाँदैन थिए । रक्सी अलीअली खान्थे । सन् १९९० अघि रक्सी पनि लाग्नेगरि खाएको मेरो जानकारी छैन । भाङ, गाँजा, रक्सी नखाइकन भारतका राजदूतलाई साक्षी राखेर सम्झौता भएको छ भने त्यसबारेमा १९ होला, २१ होला, २० का २० नहोला, तर त्यसलाई आधार मानेर संविधान बन्नुपथ्र्यो नि ।

मधेसमा आधाभन्दा बढी जनसंख्या छन् । मधेसको थारु मुसलमान लगायत, कम्तिमा एक तिहाई जनसंख्या छ । नेपाली राष्ट्रियताको सबैभन्दा ठूलो प्रश्न साँस्कृतिक राष्ट्रियतालाई राजनीतिक राष्ट्रियता कसरी बनाउने भन्ने हो । अहिलेसम्म पञ्चायतको धङधशङीले धानिरहेको छ । एउटै धर्म, एउटै भेष, एउटै जाति, एउटै जीवन शैली ।

त्यसैले बढे–बढे साहित्यकारले के भन्छन् भने, अछामको एउटा नेपालीको घरमा पुग्दा नेपाल आए जस्तै भयो । तर सुगामा (जनकपुर) सीके लालको घरमा पुग्दा विदेश पुगे जस्तै भो ।

म एउटा नाम चलेका पत्रकारसँग कार्यक्रममा जनकपुरमा थिए । चीतवनमा उनले भनेका थिए, ‘मेरो विद्यालयका हेडमस्टर यतैतिरका हुन् । तर उनी नेपाली होइनन्, तपाईजस्तै हो ।’ उनी जनकपुरको मान्छे । नागरिकताबिना त हेडमास्टर हुन पाउने नियम पहिले नै हटेको थियो । घर जनकपुरमा छ, जनकपुर त भारतमा पर्दैन । पछि थाहा भयो हेडमास्टर मेरै दाई पर्ने रहेछन् । मैले पछि भनिदिए, ‘उनी मेरा दाई रहेछन्, नेपाली होइन रहेछन् ।’ हो म र मेरो दाई नेपाली हुने वातावरण छैन ।

किनकि नेपाली हुने परिभाषा साँस्कृतिक छ । राजनीतिक परिभाषा नेपाली हुनुको के हुन्छ भने देशमा जन्मिएका, देशमा बस्ने, देशका लागि काम गर्ने, देशका लागि कटिबद्ध । राजनीति दलहरु भने राष्ट्रियतालाई राजनीतिक परिभाषा दिनका लागि बसेका हुन् । नेविसंघको राजनीतिकमा आएकाहरुले पनि मधेसीहरुलाई नेपाली बनाउनु पर्छ भन्ने हो भने त नेविसंघको आधारभूत मूल्य र मान्यता तिरस्कार गरेको ठहरिन्छ नि । राजनीतिक दल र उनीहरुका भातृसंगठनहरुले राष्ट्रियताको परिभाषा दिने हो ।

भुटानका नेपाली भाषी नेपाली हुने । अमेरिकामा ३ लाख नेपाली छन् । तीमध्ये भुटानका शरणार्थी एक लाख, भारतका नेपाली मूलका एक लाख, नेपालका नेपालीहरु एक लाख । मधेसी ३०/४० हजार गनिदैनन् । किनभने नेपाली कार्यक्रम हुन्छ, त्यो राजनीतिक प्रकृतिको हुँदैन, त्यो साँस्कृतिक प्रकृतिको हुन्छ । दसैंमा मधेसीले टिका लगाउँदैन । नेपालमा भएको बेलामा त तत्कालीन राष्ट्रपति रामवरण यादवले धानेका थिए । तराईमा छठ मनाइन्छ । बरु भारतीय आउँछन्, पहाडीयाहरु गइदिँदैनन् ।
राजनीतिक राष्ट्रियताको कुरो गर्नुपर्ने यो संविधानको मुख्य जिम्मेवारी हो । राजनीतिक नेपाल राज्य निर्माण गर्ने कुरा, सुगौली सन्धीदेखिको हो त्यो अहिलेसम्म हुन सकेको छैन ।

साँस्कृतिक राज्य त रहिरहेको छ । यसको नेतृत्व कहिले थापा, राणा, शाह, पाण्डे, कोइरालाले गरे । व्यवस्थाहरु बदलिदै गए तर नेपाल साँस्कृतिक इकाईको रुपमा मात्र रह्यो । पित्रृभूमिको रुपमा रह्यो । यसलाई राजनीतिक इकाइको रुपमा स्थापना गर्ने भूमिका नयाँ संविधानको हुनु पर्थ्यो । ७० वर्षपछि मुसल जन्माउँदैमा त्यसले देश थाम्दैन । देश थाम्न जे कुरा आश्यकता हो, यो गर्न सक्नुपर्छ । त्यहाँनेर कता कता यो देश चुकेको छ । र, मधेशको आन्दोलन त्यही नेपालीको राष्ट्रियताको आन्दोलन हो, जसले नेपालको साँस्कृतिक परिभाषालाई बदलेर नेपाललाई राजनीतिक राज्यको रुपमा स्थापना गर्न चाहन्छ । त्यसका लागि जनसंख्याको आधारमा प्रतिनिधित्वको कुरा, समानुपातिका सवावेशीताको कुरा, संघीयता यस्तो होस, जसले पहिचानहरुको कमसेकम सम्मान गरोस, जुन मूल पहिचानको प्रश्न हो, त्यसलाई कमसेकम हल गरोस् ।

सुन्दै आएको छु– ओली र मोदीको कुरा मिल्दै छ रे । ओली र मोदीको कुरा जति मिलाए पनि कुनै बेला महेन्द्र र इन्दिरा गान्धीबीच पनि कुरा भएको थियो । तर त्यसले सन् १९९० को परिवर्तन रोकिएन । ओली र मोदीको कुरा मिलाएर मधेसको समस्या समाधान हुँदैन । यो बिलकुल बेग्लै हो ।

भारतले किन नाकाबन्दी गर्‍यो भनेर किन मधेसवादीलाई सोध्नु हुन्छ । ती भन्दा त धेरै नजिक ओलीजी हुनु हुन्छ । त्यही कोइराला हुनुहुन्छ, राष्ट्रप्रमुख नहुँदै राष्ट्रप्रमुखको सम्मान पाएको । त्यही कमल थापा हुनुहुन्छ, भारतीय जनता पार्टी र राप्रपा नेपालको सबै कुरा मिल्छ । एकै थरी छ । भारत के चाहन्छ, नाकाबन्दी के हो भने यिनीहरुलाई भन्दा अरुलाई के थाहा होला । यीनले के भने के गरेनन् । नाकाबन्दी भनेको राज्यको कुरा हो, सरकारको कुरा हो । सरकारले सम्बोधन गर्ने हो । आन्दोलन भनेको राजनीतिक कुरो हो । र, त्यो आन्दोलन अहिले राजनीतिक कुराहरुको लागि भइरहेको छ ।

(गत मंसिर १६ मा नेविसंघ सिरहा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको ‘संघीयता, मधेस आन्दोलन र बीपीको राष्ट्रिय मेलमिलाप नीति’ विषयक विचार–गोष्ठीमा राजनीतिक बिश्लेषक सीके लालले प्रस्तुत गरेको विचारको सम्पादित अंश)

प्रस्तुति : जगदीश्वर पाण्डे

 

प्रकाशित : मंसिर २३, २०७२ १७:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भारतले अपराध गर्‍योः गजुरेल

डिल्लीराम खतिवडा

उदयपुर — नेकपा माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले भारतले नेपालमाथि नाकाबन्दी गरेर ठूलो अपराध गरेको बताएका छन् ।


ग्याास, ईन्धन र औषधि लगायतका दैनिक उपभोग्य बस्तुमा नाकाबन्दी लगाएर मान्छेको घाँटी थिचेर मार्नुजस्तै ठूलो अपराध गरेको उनले बताए । संगठन विभाग प्रमुख समेत रहेका नेता गजुरेलले बुधवार उदयपुर सदरमुकाम गाईघाटमा पत्रकार भेटघाटमा भारतीय नाकाबन्दीले मुलुक जटिल अवस्थामा पुगेको वताए ।
'मुलुक इतिहासकै सवैभन्दा जटिल अवस्थामा पुगेको छ', उनले भने, 'ठूला दल र तीन दलका नेताका केही तुच्छ स्वार्थका कारण मुलुकमा यो अवस्था आएको हो ।'
भूकम्पले ८ खर्वको क्षति गरेको तथ्याङ्क दिने सरकारले अहिलेको राजनैतिक भूकम्पले १३ खर्वभन्दा बढी क्षति गर्दापनि समस्या समाधान गर्न नचाहेकोले यो सरकारको औचित्य माथि नै प्रश्न उठेको उनले वताए ।

 

प्रकाशित : मंसिर २३, २०७२ १७:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT