१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सम्झना : ‘जब म हुँदिनँ’

गीतकार अम्बर गुरुङको पहिलो स्मृति दिवसका सन्दर्भमा उनका छोरी अल्का र छोरा किशोरको सम्झना :
अल्का गुरुङ

गएका महिनाहरूमा मैले स्वर्गीय पिता अम्बर गुरुङलाई बारम्बार सम्झँदै उहाँको जिन्दगी, उहाँको कला र उहाँको निधनको बारेमा मनन गर्दै आइरहेकी छु ।

सम्झना : ‘जब म हुँदिनँ’

जब म हुँदिनँ मलाई खोज्छौ होला
उराठिलो मनले तिमी सोध्छौ होला
यो मान्छे यहीँ थ्यो कहाँ गयो होला

म हिँडेको आवाज तब कहाँ सुन्छौ
तिम्रै छेउ उभेको तिमी कहाँ देख्छौ
झझल्कोमा तिम्रो उभिएँ भने म
कसरी म फकाऊँ धेरै रुन्छौ होला

फर्किएँ भने म फेरेर यो चोला
भन के गरेर मलाई चिन्छौ होला
पानी त त्यही हो के नदी के खोला
कसरी यो भेद तिमी बुझ्छौ होला
                                    –अम्बर गुरुङ

उहाँको जीवन, उहाँको कला र उहाँका परिवार तथा मित्रजन जीवितै रहे तापनि बाबाचाहिँ कहाँ जानुभएको होला भन्ने म सोचिरहन्छु । यस सोचाइबाट उत्पन्न भएको सन्नाटामा कुनै उत्तरको प्रतिध्वनि म सुन्दिनँ । जवाफको सट्टा मेरो अन्तरमनमा एउटा गहिरो मौनता, दु:खदायी शून्यता र परास्त गर्नै नसकिने वियोगको अनुभूति हुन्छ । तर शोकको सामना गर्दागर्दै पनि मैले स्विकार्नुपर्छ, निधनपश्चात् बाबाले क्यान्सरबाट मुक्ति पाउनुभएको छ, जसले उहाँको शरीरलाई गाँज्दैगाँज्दै पुरानो रूपको प्रतिविम्बजस्तो बनाएको थियो । जन्मपछि मृत्यु अवश्यम्भावी छ । तर पनि बाबाको निधन र त्यसबाट पैदा भएको एकलासपन मेरो जीवनको सायद सबैभन्दा ठूलो चुनौती हुन गएको छ । जीवनमा संघर्ष गर्दै उतारचढावलाई झेल्दै आए पनि अन्त्यमा यदि हाम्रो यथार्थ मृत्यु हो भने बाँच्नुको अर्थ के ? 

तर मलाई थाहा छ, यदि बाबा अहिले मेरोसामु हुनुहुन्थ्यो र हामी जीवन वा मरणबारे कुराकानी गरिरहेका हुन्थ्यौँ भने उहाँले मुस्कुराउँदै सायद भन्नुहुन्थ्यो होला— मृत्युको अगाडि जीवन निरर्थक छैन, बरु मृत्यु अवश्यम्भावी भएकाले गर्दा नै त्यसले जीवनलाई अर्थ दिन्छ, महत्त्वपूर्ण र सार्थक बनाउँछ । झट्टै सुन्दा बाबाको विचार आदर्शवादीजस्तो लागे तापनि उहाँको दृष्टिकोण खोक्रो आदर्शमा आधारित थिएन । बाबाले भोगेका आरोह–अवरोहबाट उहाँले जीवन सजिलो छैन, हुरीबतासयुक्त छ, अनिश्चित छ, समान र न्यायसंगत छैन भनेर स्विकार्दा स्विकार्दै पनि जीवनका हरेक नमीठा, जटिल, अमानवीय र दु:खदायी अनुभवहरूलाई जीवनमा पाइने नि:स्वार्थ र नि:सर्त कार्यले प्रतिरोध गर्छ भन्ने कुरामा उहाँलाई विश्वास थियो । जहाँ हिंसा, घृणा र कठोरता हुन्छ, त्यसलाई करुणा र प्रेम, शान्ति र सुन्दरताले प्रतिकार गरेको हुन्छ ।

बाबाले जीवनलाई यसरी अवलोकन गर्दै भन्नुहुन्थ्यो— जीवन संघर्ष भए तापनि यदि हामीले विपत्तिको सामु हिम्मत नहारी र विचलित नभई जीवनलाई सामना गर्ने हो भने हामीलाई विजय मिल्छ । जीवनका यी चुनौतीहरूलाई पराजित गर्दै जाँदा हामीभित्र निहित साहस र आन्तरिक बलको उजागर हुन्छ । त्यसैले उहाँले लेख्नुभएको छ आँसु र हाँसोको यो गीत :
आँसु र हाँसोको यो संघर्ष जीवनमा
हिम्मत नहार बिन्ती यो प्यारको सफरमा
जीवनत हाम्रो दिनरात बर्बाद नै छँदै छ
आशा छँदै छ अब किन आँसु जिन्दगीमा
हिम्मत नहार बिन्ती यो प्यारको सफरमा

ती साथी बुँद आँसु साथी नै छँदै छ
दरकार परे तयार छ तातो रगत दिनमा
हिम्मत नहार बिन्ती यो प्यारको सफरमा

बाबा प्रकृतिको नजिक भएको बेला अत्यन्तै प्रफुल्लित हुनुहुन्थ्यो । उहाँलाई नीलो आकाश, उच्च हिमाल, हरिया फाँटहरू, खोलानालाको कलकल आवाज र बिहानी उषामा सुनिने चराचुरुंगीको सामूहिक गानको अनुभूति सुन्दर र दिव्य लाग्थ्यो । यस बेला उहाँले आफू जीवनसँग सम्बद्ध भएको महसुस गर्नुहुन्थ्यो । यस्ता क्षणहरूमा उहाँ आफूलाई सजीव भएको बोध गर्नुहुन्थ्यो र उहाँलाई गीतसंगीत सिर्जना गर्ने प्रेरणा र हौसला मिल्थ्यो । अत्यन्त आध्यात्मिक स्वभाव र विचारसहितको व्यक्तित्व भएकाले गर्दा उहाँ हामी मानवभन्दा एउटा कुनै ठूलो अस्तित्व छ भन्ने कुरामा विश्वास गर्नुहुन्थ्यो । उहाँको सोचाइ वा भनाइअनुसार जब हामीले कुनै मानिसको नि:सर्त दयाभाव अनुभव गर्छौँ वा असीम प्राकृतिक सौन्दर्यले घेरिएका हुन्छौँ वा जीवनको अपराजय चुनौतीलाई परास्त गर्छौँ, त्यस बेला जीवनले आफैंलाई प्रस्टयाउँछ र जीवित हुनुको अर्थ वा रहस्य व्यक्त गर्छ । साहित्य, संगीत र गायन तीनवटै क्षेत्रमा त्यत्तिकै पोख्त हुनुभए तापनि बाबा आफूलाई सबैभन्दा पहिले एक गायक र संगीतकार सम्झनुहुन्थ्यो । उहाँलाई के लाग्थ्यो भने सच्चा कलाकारले गुणस्तरीय कलाको सिर्जना गर्नका लागि आफूभित्र निहित रहेको करुणा, समानुभूति, प्रेम, पवित्रता र सत्यतामा केन्द्रित हुनुपर्छ । नत्र कलाको कुनै पनि विधाको श्रेष्ठतर सिर्जना हुन सक्दैन भन्ने उहाँको मान्यता थियो । त्यसमा पनि खासगरी संगीतलाई त उहाँ कलाको सर्वोत्कृष्ट विधा ठान्नुहुन्थ्यो, जुन उहाँको विचारमा देवत्वसँग सबैभन्दा नजिकबाट गाँसिएको हुन्छ ।
यस सत्यमा केन्द्रित हुँदै आफ्नो जीवनका अनुभवहरूलाई आधार बनाई उहाँ कलाको माध्यमबाट रुनुभयो, प्रेम र प्रार्थना गर्नुभयो, रमाउनुभयो, प्रफुल्लित हुनुभयो, जिन्दगीको बारेमा चिन्तन गर्नुभयो र जिन्दगी र जीवनयात्राको अर्थ प्रस्ट्याउने चेष्टा गर्नुभयो । त्यस कारण उहाँले लेख्नुरभएको छ :
मन सुन्दर त सुन्दर हुन्छ धरती गगन सारा
मनभित्रै छ कलकल छलछल शीतल गंगाधारा

घामपानी त्यस्तै न हो ऋतु हेरीहेरी
दिनरात चल्नैपर्छ मौसम फेरीफेरी
मन सुन्दर त संगीत हुन्छ सुन्ने कुरा सारा
बित्छ रात झुल्किन्छ है बिहानीको तारा

जीवनलाई गहिरो प्रेम र स्वीकार गर्ने व्यक्तिका रूपमा बाबा हाम्रो अस्तित्वको अस्थायी प्रकृतिको बारेमा पनि अत्यन्त सचेत हुनुहुन्थ्यो । अरूको सेवामा समर्पित जीवन वा कुनै पनि क्षेत्रमा नि:स्वार्थ योगदान पुर्‍याउन प्रयोग भएको जीवन नै सार्थक हुन्छ भन्ने उहाँको विश्वास थियो । उहाँ आफूले भने नेपाली संगीतमा योगदान गर्न रुचाउनुभयो । उहाँलाई जीवनभर आर्जन गरेका सांगीतिक र जीवनपाठहरूको विरासत छोडेर जाने इच्छा थियो, जसले भावी पुस्ताका लागि उच्चस्तरीय जग प्रदान गर्ला भन्ने उहाँको आशा थियो ।

बाबाको निधनपछि म आफ्नो जीवनलाई अनुभव गर्दै छु— जिउँदै छु । जीवनयात्रामा अघि बढ्दै जाँदा मैले बारम्बार बाबाको जिन्दगीप्रतिको दृष्टिकोण, उहाँको जीवन र मृत्युप्रतिको धारणा, उहाँको कलामा निहित भावना र संवेदनशीलतालाई नियालेर पुन: बुझ्दै छु । मभित्र अझ धेरै प्रश्न बाँकी नै छन् । म अझै धेरै आश्वासनहरूको खोजीमा छु । मलाई उहाँको अझै धेरै दृढ वचनको खाँचो छ, मार्गदर्शनको जरुरत छ । बाबाको अनुपस्थितिमा मभित्र प्रश्न आउँछ— के मैले जिज्ञासाहरू ठूलो स्वरमा सुनाएँ भने उहाँ आफैं प्रकट पो हुनुहुन्थ्यो कि ? कहिले मलाई यस्तो पनि लाग्छ, उहाँ हामीहरूकै माझमा पो हुनुहुन्छ कि र मसँग बोलिरहनुभएको छ कि ? तर मेरा आँखा र इन्द्रियहरूमा पर्दा लागेको भएर मैले उहाँलाई देख्न, आभास गर्न नपाएको पो हो कि ? बाबासँग सम्बद्ध हुने प्रयासमा म ‘पर्फेक्ट’ जवाफ वा निष्कर्षमा पुग्न सकेकी छैनँ । उहाँले जीवनको रहस्यसँग मलाई परिचित गराउनुभयो र जीवन कसरी आध्यात्मिक, अर्थपूर्ण, सत्य र दिव्य रूपमा जिउनुपर्छ भन्ने सिकाउनुभयो ।
जब म हुँदिनँ मलाई खोज्छौ होला
उराठिलो मनले तिमी सोध्छौ होला
यो मान्छे यहीँ थ्यो कहाँ गयो होला ।

प्रकाशित : जेष्ठ २०, २०७४ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?