आईबीको सम्झना

दमक — नेपाली भाषासाहित्यका मूर्धन्य व्यक्तित्व इन्द्रबहादुर (आईबी) राईको तेह्रौं दिनको पुण्यतिथिमा यहाँ श्रद्धाञ्जली सभा तथा अनप्लग कार्यक्रम गरियो ।

आईबीको सम्झना

नेपाल र भारतका तीन दर्जनभन्दा बढी स्रष्टा/सर्जकले शनिबार वरिष्ठ साहित्यकारप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

अनप्लग नेपाल लिटरेरी ग्रुप, दमकद्वारा आयोजित कार्यक्रममा आख्यानकार राजन मुकारुङले राई नेपाली साहित्यलाई पुगीसरी सिर्जना दिएर बिदा भएको बताए । नरम स्वभाव भएर पनि माक्सवादलाई कडा रूपमा विरोध गर्न सक्ने हिम्मत राखेका राईका कृतिहरूले नेपाली भाषासाहित्यलाई वर्षौंसम्म डोर्‍याउन मद्दत पुग्ने बताए । साहित्यकार मुनाराज शेर्माले राई नेपाली साहित्यकारहरूका पनि साहित्यकार भएको टिप्पणी गरे । उनले राईले तेस्रो आयाम र लीलालेखनको सुरुआत गरेर नेपाली साहित्यको गोरेटो कोर्न सफल भएको बताए । लिटरेरी ग्रुपका अध्यक्ष प्रकाश बुढाथोकीले दमकमा राईको पूर्णकदको मूर्ति स्थापना गर्ने उद्घोष गरे ।

श्रद्धाञ्जली सभापछि नेपाल लिटरेरी ग्रुपको ‘अनप्लग कविता साँझ’ को १४ औं शृंखला सुरु भयो । कविता साँझमा दार्जिलिङका कवि महेन्द्र स्याङ्बो र मिरिकका कवि कमला तामाङ तथा दमकका कवि शिव रेग्मी ‘प्रणत’ मञ्चमा थिए । उनीहरूले डेढ दर्जनजति रचना सुनाए ।

महेन्द्रले ‘अचेल कथा, कविता, गजलजस्ता रचनालाई छोट्याएर चार लाइनमा सीमित गर्न थालिएको’ भन्दै दु:ख व्यक्त गरे । कमलाले मिरिकको चियाबगानका दु:ख समेटिएका तथा नारी अधिकारका कविता सुनाइन् । शिवले आमाबारे मर्मस्पर्शी कविता वाचन गरे । दार्जिलिङका अन्य, झापा, मोरङ र इलामका कविहरूले पनि आआफ्ना रचना वाचन गरेका थिए ।

प्रकाशित : चैत्र ५, २०७४ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?