मोफसलमै रमाएका “स्टार”

‘मैले आफ्ना कला र सिर्जना मोफसलबाटै भए पनि दर्शकश्रोतासामु पुर्‍याउनमा कुनै कमी गरिनँ । त्यसैले होला, उहाँहरूको माया निरन्तर छ ।’
अर्जुन राजवंशी

झापा — पूर्वका सांस्कृतिक कार्यक्रममा एलपी जोशी प्राय: छुट्दैनन् । दमक आसपासका कार्यक्रमहरू त, उनको आगमनबिना सुरु नै हुँदैनन् । उमेरले ८३ औं वसन्तमा छन्– जोशी ।

मोफसलमै रमाएका “स्टार”

तर, उनको सक्रियता, लोकप्रियता, जोस, जाँगर, जीउडाल, बोलीचालीले यति वयोवृद्ध भनी विश्वास लाग्दैन । ५० वर्ष अघिजस्तै उनका प्रस्तुतिले जोकोहीलाई मोहित तुल्याउँछ । कुनै चल्तीको सेलिब्रिटीभन्दा कम डिमान्ड छैन उनको । जीवनको उत्तराद्र्धसम्म पाइरहेको माया र सम्मानले जिउने शक्ति प्राप्त भइरहेको उनको कथन छ । उनको प्रस्तुतिको पर्खाइमा अझै कुनै कमी देखिँदैन । ‘ओल्लो खोलो पल्लो खोलो...’ भन्दै जोशी स्टेजमा उक्लिँदा कम्मर मर्काईमर्काई नाच्ने नातिपुस्ताको भीड लोभ लाग्दो छ ।

२० को दशकका चर्चित लोकगायक तथा संकलक हुन्, लक्ष्मीप्रसाद (एलपी) जोशी । रेडियो नेपालमा २०१३ सालमै प्रवेश पाए पनि जोशी २० देखि ३० को दशकमा जनमनमा बस्न सफल भए । त्यही समयमा उनी गायन विधाबाट स्वर्ण पदक जित्न सफल भए । त्यही बेला हो, उनले नेपाली सांगीतिक क्षेत्रमा आफूलाई चिनाएको । जस कारण एलपी जोशीको खोजी आज गाउँदेखि बजारसम्म, झापादेखि पुरानो राजधानीसम्म हुने गरेको छ ।

२० को दशकमा रेडियो नेपालमा बच्ने ‘रिटिङ रिटिङ नबजाऊ विनायो’..., ‘ओल्लो खोलो पल्लो खोलो...’, ‘जति खायो उति मीठो गैरीगाउँको आलु हो– साइँली उठेउरी...’, ‘जोवन गयो बैंस त गएन लैलै..’, ‘खिपीमा खिपी विनायो बाजा...’, ‘ओल्लो थुम्को पल्लोपट्टि छङछङ गर्ने खोला– मायालु...’, ‘बाँसैको झयाङमा चरी लैलै...’, ‘निगालो घारीमा च्याँखुरी नाच्यो...’, ‘रानी र वनको झिँजरी दाउरा कठैवरी दिदी हौ...’ जस्ता चर्चित लोकगीत आजका पुस्ताले पनि उत्तिकै रुचाएकोमा उनी दंग छन् । तारादेवी र फत्तेमानद्वारा गाइएको ‘मादलै बज्यो घिन्ताङमा घिन्ताङ...’ गीत र पुष्प नेपाली र रुबी जोशीको स्वरको ‘उकाली ज्यानको चप्लेटी ढुंगा कान्छी मटयाङ टयाङ...’ गीतले त्यो बेलाको सांगीतिक क्षेत्रमा एउटा आयाम थपेको थियो ।

जोशी गायन विधामा मात्र सीमित रहेनन् । कला क्षेत्रमा उनको प्रवेश नृत्य र नाटय विधाबाट भयो, २००८ सालमा । उनी चित्रकार पनि हुन् । २०१० सालदेखि आफूलाई चित्रकारको रूपमा प्रस्तुत गरेका जोशी गायन विधामा भने २०१३ मा प्रवेश गरे ।

चलचित्र ‘हिजो, आज र भोलि’ मा उनले नृत्य निर्देशक तथा स्वयं नृत्य कलाकार भएर अभिनय गरे । त्यस्तै चलचित्रहरू ‘आफ्नो विरानो’, ‘माझीदाइ’ र ‘देश खोज्दै जाँदा’ मा पनि उनले अभिनय गरेका छन् । टेलिफिल्म ‘स्मृति’ र टेलिसिरियल ‘बाबुको बिहे’ मा पनि उनले आफ्नो कलाकारिता प्रस्तुत गरेका थिए । तर, यी सबै विधाभन्दा जोशीलाई चिनाउने र दीर्घकालीन बनाउने विधा भने गायन र संकलक नै बन्यो ।
उनी नेपाल टेलिभिजनद्वारा सञ्चालित ‘आँगन’ र ‘ब्राइटर तिम्रो सुर मेरो गीत’ कार्यक्रमको निर्णायकसमेत भइसकेका छन् । उनको ‘अनावृत्त’ नामक कृति पनि बजारमा छ । गीततर्फ उनका ७ वटा गीत रहेको ‘रिटिङ रिटिङ’ एल्बम म्युजिक नेपालले निकालेको छ ।

जोशीले २०१९ सालको रेडियो नेपालबाट आयोजित राष्ट्रव्यापी लोकगीत सम्मेलनमा राजा महेन्द्रबाट स्वर्ण पदक प्राप्त गरे । उनी यही प्रतियोगितामा २०२२ मा दोस्रो तथा २०२९ सालमा तृतीय भए । जोशीले कलाकारको हिसाबमा २०३१ मा शुभराज्याभिषेक पदक पनि प्राप्त गरे ।

उनी २०५९ मा रेडियो नेपालबाट सुप्रसिद्ध लोकगायकका रूपमा सम्मानितसमेत भए । भर्खरै मात्रै जोशीलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७४’ प्रदान गर्ने घोषणा गरिएको छ । संगीतकार नातिकाजी श्रेष्ठको सम्झनामा स्थापित संस्था नातिकाजी स्मृति समाजले नातिकाजीकै निवासमा आयोजित उनको ९३ औं जन्मजयन्तीमा उनलाई उक्त सम्मान प्रदान गर्ने घोषणा गरेको छ ।

आफ्नो जमानाका चर्चित गायक/कलाकार भए पनि उनी २०३९ मा दमकमा घर बनाएर बस्दै आएका छन् । नाम, दाम र काम काठमाडौंमा भए पनि उनले काठमाडौंलाई घर बनाएनन् । मोफसलमै बसेर आफ्ना सिर्जना र कला सुनाइरहे । ‘मैले मेरो कला र सिर्जना मोफसलबाटै भए पनि श्रोता, दर्शकसामु पुर्‍याउन कुनै कमी गरिनँ,’ जोशीले भने, ‘सायद त्यसैले होला, उहाँहरूको माया निरन्तर छ ।’

आफ्नो सांगीतिक यात्रासँगै समग्र जीवनदेखि सन्तुष्ट पोख्ने जोशीले एउटा कुरामा गुनासिए । यति बेलाका चर्चित लोक रक ब्यान्ड नेपथ्यप्रति उनको दु:खेसो छ । उनका अनुसार नेपथ्यले उनको संकलन रहेको ‘खिपीमा खिपी विनायो बाजा’ बोलको गीतलाई तोडमोड गरेर आफ्नो बनाएको छ । जोशीले भने, ‘खिपीमा खिपी विनायो बाजा’ भन्नुपर्ने ठाउँमा ‘सानुमा सानु कमलको हाँगा’ शब्द राखिएको छ । त्यसपछि मेरो गीतमा ‘चट्टै चट्टै’ शब्द थियो । उनीहरूले ‘रेशम रेशम’ भन्ने शब्द राखेका छन् । आफ्नो सिर्जनालाई प्रत्यक्ष असर पर्ने गरी गीत बनाए पनि त्यसमा आफ्नोबारे कुनै कुरा उल्लेख नगर्नु बेइमानी भएको उनको ठहर छ ।

जोशी साहित्यकार पनि हुन् । अचेल वरिष्ठ लोकगायक भनेर उनको खोजी हुन्छ । जोशीले २०२४ मा नेपालमै पहिलो पटक ‘मुनामदन’ गीति नाटक दमकमा मञ्चन गराएका थिए । त्यही नाटक पछि २०२८ मा राष्ट्रिय नाचघरमा र २०३२ सालमा प्रज्ञा भवन, कमलादीमा देखाइएको थियो ।

उनी अहिलेसम्म स्वास्थ्य छन् । कुनै रोगले दु:ख दिएको छैन । पूर्वका विभिन्न जिल्लामा हप्तैपिच्छे भइरहने सांगीतिक कार्यक्रमहरूमा उनको उपस्थितिमा कुनै कमी छैन । ‘माया गरेर बोलाउँछन् । कसकोमा जानु, कसकोमा नजानु,’ जोशीले भने, ‘स्वास्थ्यले दु:ख नदिएकोले भरसक सबैको मन राख्न भए पनि कार्यक्रमहरूमा पुग्ने गरेको छु ।’

प्रकाशित : चैत्र ६, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?