कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यानभासमा पिंक वल्र्ड

ललितपुर — फूलैफूलबीच छिन् नारी, तर गुमसुम छिन् । रंगीन फूलले उनको पूरै अंग छोपिएको छ, तर अनुहार अँध्यारो देखिन्छ ।

क्यानभासमा पिंक वल्र्ड

चित्रकार अनिसा महर्जनको यो सिर्जनामा पहिलो झलकमा महिलाको सुन्दर पक्ष मात्रै देख्न सकिन्छ । रंग र आकृतिको गहिराइमा घोत्लिनेहरूले त्यहाँ नारी स्वतन्त्रताको चाह अनुभव गर्छन् । त्यस चित्रमा बाह्य र भित्री सौन्दर्यचेत छ । अनिसाले बनाएको त्यो ‘पिंक वल्र्ड’ मा दुवै सौन्दर्यको मिश्रण पाइन्छ ।

पाटनस्थित नेवा छेँ: आर्ट ग्यालरीमा १४ चित्रकारका कला प्रदर्शित छन् ।

अनिसाले चित्रमा विश्वभरिका महिलाको समस्या उस्तै हुने संकेत गरेकी छन् । महिला जतिसुकै स्वतन्त्रता दिएको भए पनि वास्तविक स्वतन्त्रता महसुस गर्न नसकेको उनले चित्रमा खुलाएकी छन् ।

‘फूलैफूलको बगैँचा भएर के गर्नु, जब फूलै विषादी भएपछि,’ अनिसाले आफ्नो क्यानभास नियाल्दै भनिन्, ‘नारी स्वतन्त्रता जहाँसुकै भनाइमा मात्रै छ ।’

प्रदर्शनीमा जस्मिन राजभण्डारी, सुनीता राणा, प्रमिला बज्राचार्य, सौरगंगा दर्शनधारी, सत्याशीला कसजू, सन्ध्या सिलवाल, पूजा महर्जन, सविता डंगोल, कान्ति थापा मगर, दीपमाला महर्जन, अनामिका गौतम, नम्रता सिंह लगायतका सिर्जना छन् ।

जस्मिनले आफ्नै भोगाइलाई क्यानभासमा उतारेकी छन् । नेवार समुदायकी उनले अन्तरजातीय विवाह गरेपछि अनुभव गरेका फरक संस्कृतिलाई रंगमा उतारेकी हुन् । खास गरी नेवार समुदायमा तीज र ऋषि पञ्चमी मनाउने चलन छैन । उनले बिहे गरेर अर्कै संस्कृतिमा ऋषिपञ्चमी पूजा गर्दा बेग्लै अनुभव बटुलेको बताइन् । ‘शुद्धता’ शीर्षक दिएर उनले पञ्चमीमा नुहाउँदा अपनाइने विधिलाई चित्रमा खुलाएकी छन् ।

‘मैले जे अनुभव गरेँ त्यसैलाई रंगमा उतारेँ,’ उनले भनिन्, ‘संस्कार र संस्कृति फरक हुँदा क्यानभासका विषयवस्तु पनि बदलिँदा रहेछन् ।’

सरिताले खुर्सानीको विशेषतासँग नारी अस्तित्व तुलना गरेकी छन् । सौरगंगाको चित्रमा प्रिन्ट मिडियाका माध्यमबाट महिलाको सौन्दर्यको शक्ति देखाउन खोजिएको छ । उनले पाल र काइँयो प्रतिविम्बित गर्दै नारीशक्ति असीमित हुने महसुस गराएकी छन् ।

सन्ध्याले परिबन्धमा परेका महिलाको भावना क्यानसभामा उतारेकी छन् । पखेटा हालेकी नारी उड्न खोलेकी छन्, तर उड्न सक्दिनन् । ‘पखेटा भएर पनि हामी समाजको बन्धनले गर्दा उड्न सकेका छैनौं,’ उनले भनिन् ।

प्रदर्शनीमा राखिएका अधिकांश चित्र नारी संवेदनासँग गाँसिएका छन् । प्रदर्शनी एक महिनासम्म चल्नेछ ।

प्रकाशित : चैत्र ६, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?