कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

साउतीसँग सिस्नुपानी

सिक्किममा द्विदेशीय हास्यव्यंग्य साहित्य गोष्ठी

गान्तोक — गतवर्ष भारतीय राज्य सिक्किमबाट ‘साउती’ अभियान लिएर एक हुल स्रष्टाहरू काठमाडौं पुगेका थिए, हास्यव्यंग्य कविता सुनाउन । काठमाडौंमा साथ मिलेको थियो सिस्नुपानी नेपालको ।

साउतीसँग सिस्नुपानी

व्यंग्य साहित्य र प्रस्तुतिमार्फत आआफ्ना मुलुकमा क्रियाशील यी दुई संस्थाले फेरि सहकार्य गरेका छन् । साउतीको निम्तोमा नेपालबाट आएका एक दर्जन स्रष्टाहरूले भारतीय नेपाली साहित्यकारसित गान्तोकमा संयुक्त हास्यव्यंग्य काव्य गोष्ठी गरे । दुई देशका सामाजिक, राजनीतिक र सांस्कृतिक विसंगतिहरूमाथि स्रष्टाहरूले व्यंग्य कस्दै गर्दा सिक्किम साहित्य परिषदको हल भिन्न माहोलले तात्दै थियो ।

भित्तामा लस्करै सजिएका थिए, आदिकवि भानुभक्त आचार्यदेखि, मोतीराम भट्ट, लेखनाथ पौडयाल, पारिजात, इन्द्रबहादुर राई लगायत थुपै्र नेपाली साहित्यकारका तस्बिरहरू । तिनै तस्बिर साक्षी राख्दै व्यंग्यवाण हान्न असम, सिलिगुडी, कालिम्पोङ, दार्जिलिङबाट समेत नेपाली स्रष्टाहरू आएका थिए । केहीअघि मात्रै दिवंगत वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु गरिएको कार्यक्रममा अर्जुन पराजुलीले नेपालको खबर सुनाए, ‘देशमा नभएको देश’ शीर्षकको कवितामार्फत । मुलुकमा व्याप्त भ्रष्टाचारप्रति चोटिलो व्यंग्य थियो कवितामा । नेपाल र भारतीय स्रष्टाले पालैपालो जुहारी खेलेझैं कविता सुनाउने क्रममा जब नेताको सन्दर्भ आउँथे, सिक्किमका स्रष्टाहरू भन्थे– ‘नेताचाहिँ कुन देशका परेछन् ?’ दर्शकदीर्घाबाट जवाफ आउँथ्यो, ‘दुवै देशका नेता उस्तै हुन् ।’

लक्ष्मण गाम्नागेको ‘मुला कविता’ ले पनि उत्तिकै ताली पायो । उनले श्रीमतीलाई सम्बोधन गरेर प्रस्तुत गरेको कवितामा प्रेमसम्बन्धदेखि व्यक्तिको इमानदारिता र विस्तारै सोचाइमा आउने परिवर्तनप्रति मात्र व्यंग्य थिएन, राजनीति र नेताहरूको व्यवहारप्रति पनि उत्तिकै कटाक्ष गरिएको थियो । यसपछि भारतीय नेपाली स्रष्टाहरू थिरुप्रसाद नेपाल, दीपक बुढाथोकी, होमनाथ दाहाल, एकदेव अधिकारी, पूर्णकुमार शर्मालगायतले आआफ्ना रचना सुनाए । नेपालको पालो पछयाउँदै टंक आचार्य मुक्तक लिएर प्रस्तुत भए–

आजकालका छोराछोरीहरू
कमाइ बाउको खान्छन्
माया आमाको खान्छन्
र, म्वाइँ अर्कैको खान्छन्

नयाँ पुस्ताको सोच्ने तरिका र जीवनशैलीमा आएको परिवर्तनप्रति यसरी व्यंग्य गर्दै उनले पनि भ्रष्टाचार र राजनीतिलाई अन्य मुक्तकहरूमा जोडे । यसपछि नेपालबाटै राधिका गुरागाईं, शुभद्रा भट्टराई, सरोज घिमिरे, माणिकरत्न शाक्य, गंगा सुवेदीलगायतले सिर्जना सुनाए । कार्यक्रममा विशेष अतिथि रहेका डा. गोविन्दराज भट्टराईले समग्र सिर्जनामाथि समालोचना गरे । उनले पछिल्लो समय व्यंग्य लेखन केही हल्काफुल्का बन्दै गइरहेकोप्रति गुनासो गरे । कतिपय स्रष्टाले त व्यंग्य साहित्यको नाममा ‘नारीहरूप्रति घोचपेच गर्ने, उनीहरूलाई अपाच्य विम्ब र प्रतीकमा उभ्याउनेजस्ता’ कार्य गरिरहेको दाबी गरे । ‘व्यंग्य साहित्य नारीलाई उच्याउने स्तरबाट माथि उठ्नुपर्छ,’ उनले भने ।

सिक्किमकै कवि बीरु वाङदेलले पनि साहित्यमा हास्य र व्यंग्यको स्तर हराउँदै गएको गुनासो गरे । ‘नेपाली जाति आफैंमा विनोदी मानिन्छ,’ उनले भने, ‘तर, अहिले हाम्रो हास्यव्यंग्य साहित्य सिर्जनशील हुन सकिरहेको छैन । लोकजीवनको विनोदी स्वभावलाई खै हामीले उतार्न सकेको ?’ दिवंगत स्रष्टा भैरव अर्यालले नेपाली साहित्यमा अन्तर्राष्ट्रियजगत्मै उभ्याउने मिल्ने कृतिहरू दिएको गएको दाबी गर्दै उनले हास्यव्यंग्य स्रष्टाहरू थप गम्भीर भएर लाग्नुपर्ने सुझाए । सिक्किम साहित्य परिषदका अध्यक्ष डा. रुद्र पौडेल, साउतीका संयोजक मुक्तिप्रसाद बराल, तुलसी भट्टराईलगायतले भारतीय हास्यव्यंग्य साहित्यमाथि प्रकाश पारे ।

भारतीय नेपाली स्रष्टाहरूले हास्यव्यंग्य साहित्यमा कमै कलम चलाइरहेको अवस्थामा आफूहरूले ‘साउती अभियान’ सुरु गरेको बरालले बताए । हास्यव्यंग्य कविताहरू संकलन गर्दै १३ वर्षदेखि बर्सेनि ‘साउती’ नामक पत्रिकासमेत प्रकाशित गर्दै आएको उनले जनाए । ‘साउती’ को १३ अंकसमेत लोकार्पण गरिएको कार्यक्रमको प्रकृति रोचक र मौलिक थियो । स्रष्टाहरूले पत्रिकामा प्रकाशित कविता मात्रै वाचन गर्न पाउने र श्रोताहरूले मूल्यांकन गरेर त्यहीँ पुरस्कृत गर्ने व्यवस्था गरिएको थियो । भारतका विभिन्न थलोमा पुग्दै हरेक वर्ष यस्तै मौलिक प्रकृतिको कार्यक्रम गर्दै आएको बरालले जनाए । कार्यक्रमको यो १३ औं शृंखलामा भने सिक्किमे श्रोताहरूले नेपाली स्रष्टाहरूको रचना बढी रुचाए । भोटिङका आधारमा नेपालबाट लक्ष्मण गाम्नागे, टंक आचार्य र अर्जुन पराजुली पुरस्कृत भए । सिक्किमबाट भने उषा शर्मा पुरस्कृत भइन् । सिस्नुपानी नेपालका अध्यक्षसमेत रहेका गाम्नागेले ‘यस्ता कार्यक्रमले दुई देशमा रहेका नेपाली समाजलाई जोड्ने’ दाबी गरे ।

प्रकाशित : चैत्र ७, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?