“न ट्रम्प न ओबामा”

ह्यारीको विवाह प्रसंग
विभिन्न अडकलबाजीहरूलाई चिर्दै बेलायती राजकुमार ह्यारीको विवाहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुर्व राष्ट्रपति बाराक ओबामा दुबैलाई निम्तो नपठाउने केन्सिङटन प्यालेसले वक्तव्यमा स्पष्ट पारेको छ ।

काठमाडौँ — वेल्स (बेलायत) का राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेघान मार्कलको विवाह आगामी महिना हुँदै छ । मे १९ मा इंग्ल्यान्डको विन्डसर क्यासलमा हुने विवाह समारोहलाई लिएर अनेक कोणबाट समाचार बनाइएका छन् ।

“न ट्रम्प न ओबामा”

यिनको सम्बन्ध बाहिर आएदेखि नै होहल्ला हुन थालेको थियो । उनीहरूको विवाहमा कसलाई बोलाउने, कसलाई नबोलाउने भन्ने विषयमा केही समययता सबैभन्दा बढी चर्चा भइरहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वा पूर्वराष्ट्रपति बाराक ओबामामध्ये कसलाई बोलाउलान् भन्नेबारे मिडियाले प्रशस्तै अडकलबाजी गरेका थिए । तर, मंगलबार केन्सिङ्टन प्यालेसले जारी गरेको वक्तव्यमा ट्रम्प र ओबामा दुवैलाई निम्तो नपठाउने स्पष्ट पारिएको छ ।

‘प्रिन्स ह्यारी र मिस मार्कलको वेडिङका लागि बेलायत र अमेरिका दुवैतिरका राजनीतिक नेताहरूको औपचारिक सूची निर्माण गर्नु आवश्यक नरहेको निर्णय गरिएको छ,’ वक्तव्यमा भनिएको छ, ‘यस विषयमा महारानी सरकारसँग छलफल भएको थियो ।’ बेलायतकै प्रधानमन्त्री थेरेसा मेलाई पनि नबोलाउने वक्तव्यमा छ । बेहुला–बेहुलीका नजिकका साथी र आफन्तलाई मात्र निम्तो गरिने बताइएको छ ।

ह्यारी र ओबामा राम्रा साथी भएकाले ट्रम्पको सट्टा उनी नै प्राथमिकतामा पर्ने देखिन्थ्यो । अभिनेत्री मेघान पनि ट्रम्पको आलोचना गरिरहेकी हुन्छिन् । यस्तोमा राजपरिवारलाई कूटनीतिज्ञहरूबाट ट्रम्पका पक्षमा ठूलो दबाब आएको बताइन्छ । यही कारण दरबारले कुनै पनि राजनीतिकर्मीलाई निम्तो नगर्नु मुुनासिब ठानेको हुन सक्ने अनुमान गरिएको छ । त्यसमाथि ह्यारी राजगद्दीको रोलक्रममा पाँचौं नम्बरमा मात्र पर्ने भएकाले पनि नेतागण ननिम्त्याउँदा खासै फरक नपर्ने ठानिएको हुन सक्छ ।

‘हवाइट हाउससँगको सम्बन्ध सुमधुर राख्न बेलायतले यस्तो निर्णय गरेको हो,’ द न्युयोर्क टाइम्स भन्छ, ‘युरोपियन युनियनबाट अलग्गिएको बेलायतले अमेरिकासँगको दुईपक्षीय व्यापार सम्झौतामा मोल–मोलाइ गर्न चाहेको छ । यस्तोमा ट्रम्प वा ओबामालाई बोलाउँदा सम्बन्ध बिग्रिन सक्थ्यो ।’ यसअघि बेलायती राजपरिवारको बिहेमा विश्वका थुप्रै प्रभावशाली राजनीतिकर्मीलाई आन्मत्रण गर्ने गरिएको थियो । बिहे पनि भव्य तरिकाले गर्ने चलन थियो । यो सबै परम्परालाई छोडेर ह्यारी र मेघानले सामान्य तरिकाले बिहे गर्ने तयारी गरेको द न्युयोर्क टाइम्सको वेबसाइटमा उल्लेख छ ।

विवाह समारोहमा ६ सय पाहुना र १२ सय सर्वसाधारणलाई निम्तो गरिने वक्तव्यमा छ । निम्तालुलाई र अन्यलाई उपहार ल्याउनुको सट्टा दानस्वरूप कुनै परोपकारीलाई दिन आग्रह गरिएको छ । सन् २०१६ मा नेपाल आएका ह्यारीले भूकम्पपीडितको बस्ती नियालेका थिए । त्यो बेला उनलाई निकै सत्कार गरियो भने उनले पनि नेपालको तारिफ गरेका थिए ।

प्रकाशित : चैत्र ३०, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?