चित्र छन्, ग्यालरी छैन

‘ग्यालरीले कला मात्रै चिनाउँदैन कलाकारको पहिचानसमेत स्थापित गर्न मद्दत गर्छ । ससाना कमर्सियल ग्यालरीले कलाको ठूलो बजार समेट्न सक्दैनन् ।’
मधु शाही

काठमाडौँ — चित्रकलाको सौन्दर्य ग्यालरीमै झल्किन्छ । सहरमा प्रशस्त ग्यालरी नहुँदा भने कलाकारले समयमै कला प्रदर्शन गर्न सास्ती खेप्नुपरेको छ । खासगरी भूकम्पपछि ग्यालरीको अभाव अझै बढेको हो । यसले गर्दा बबरमहलस्थित आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनी गर्ने कलाकारको चाप बढ्दो छ ।

चित्र छन्, ग्यालरी छैन

काउन्सिलका बोर्ड सदस्य हरि खड्काका अनुसार भूकम्प गएयता वर्षमा ६० भन्दा बढी कला प्रदर्शनी काउन्सिलमै हुन थालेको छ । भूकम्पभन्दा अघिल्ला वर्षहरूमा मुस्किलले वार्षिक ४० वटा प्रदर्शनी हुन्थ्यो । अहिले काउन्सिल लगभग प्याक छ । मंसिर महिनासम्मका लागि कला प्रदर्शनीको बुकिङ भइसकेको छ । ‘अग्रिम बुकिङ गर्नेहरू थुप्रै छन्,’ उनले भने, ‘अझै ठाउँ नपाएर कलाकारले चित्त दुखाउँछन् ।’ काउन्सिलमा भुइँतला र पहिलो तलामा प्रदर्शनी गरिँदै आएको छ । दिनको पाँच हजार रुपैयाँ भाडा लिएर ग्यालरी दिने गरेको खडकाले बताए । भूकम्पपछि ललितकला प्रज्ञा प्रतिष्ठानको भवन जीर्ण हुनु, भएका केही व्यक्तिगत ग्यालरी पनि सुचारु नहुनु, व्यक्तिगत ग्यालरीले महँगो शुल्क लिनु, साँघुरो ठाउँ हुँदा मूर्तिकला र प्रतिस्थापन कला अटाउन गाह्रो पर्नुजस्ता समस्याले गर्दा आर्ट काउन्सिलमा कला प्रदर्शनी गर्ने चाप बढेको हो ।

यति बेला काउन्सिलमा राष्ट्रिय ललित कला प्रदर्शनी जारी छ । यसलगत्तै वैशाख २२ गते ज्वाला ढकालले एकल चित्रकला प्रदर्शन गर्दै छिन् । उनले चित्र बनाएपछि प्रदर्शनी कहाँ गर्ने भन्नेबारे निकै चिन्तित हुनुपरेको बताइन् । केही निजी ग्यालरी हेरे पनि साँघुरो अवस्थाले गर्दा उनले आर्ट काउन्सिल नै कुर्नुपरेको सुनाइन् । उपयुक्त ग्यालरी नै नभेटेपछि उनी आर्ट काउन्सिल आइन् । त्यो पनि दुई महिनाअघिदेखि नै ग्यालरी बुकिङ गर्नुपरेको छ ।

‘हामीकहाँ ग्यालरीका अरू विकल्प छैनन्,’ उनले भनिन्, ‘प्रदर्शनीका लागि महिनाैं कुर्नुपर्ने बाध्यता छ ।’

प्राज्ञ धनु याख्खाले जेठमा प्रदर्शनी गर्न ग्यालरी चार महिनादेखि बुकिङ गर्नुपरेको बताए । अझ फागुनमै गर्नुपर्ने कला प्रदर्शनी ग्यालरी नपाएकै कारण तीन महिना कुर्नुपरेको उनले सुनाए ।

कलाकार चन्दा श्रेष्ठले तीन महिनाअघि एकल चित्रकला प्रदर्शन गरिन । तर, त्यस बेला उनले चार महिना अघिदेखि ग्यालरी खोज्नुपर्दाको दु:ख अझै भुलेकी छैनन् । ‘दिनभरि कुरेर ग्यालरी बुकिङ गरेकी थिएँ,’ उनी सम्झिन्छिन्, ‘आर्ट काउन्सिलबाहेक अरू कतै उपयुक्त ग्यालरी भेटिनँ ।’

चित्रकार एरिना ताम्राकारले दुई सातापछि एकल चित्रकला प्रदर्शनी गर्दै छिन् । तर, यसपालि उनको कला प्रदर्शनी ग्यालरीमा नभई रेस्टुरेन्टमा हुँदै छ । रेस्टुरेन्टमा कला प्रदर्शनी गर्ने अवसर पाए पनि एरिनालाई ग्यालरीको सौन्दर्य मन पर्छ । ‘चित्र प्रदर्शनी ग्यालरीमा राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘रेस्टुरेन्टमा व्यापारी आउँछन्, ग्यालरीमा कला पारखी ।’

समीक्षक एवं कलाकार रमेश खनालले विश्व कला बजार फस्टाउनुमा ग्यालरीको रोचक इतिहास रहेको बताए । उनका अनुसार सन् १९४० मा जर्मनीबाट हिटलरले कलाकार खेदेपछि अधिकांश अमेरिका पसे । बनाएका चित्र उनीहरूले घरमै थन्काएर राख्न थाले । उनीहरूले कला गुम्सिएको महसुस गरेका थिए । यसको विकल्पका रूपमा कलाकारले उद्योगपतिहरूसँग आग्रह गरेर ग्यालरी खोले । त्यसपछि चित्रकला प्रदर्शनी सुरु भयो । जसले गर्दा कलाको बजार विस्तार र कलाकारको पहिचान स्थापित हुन थाल्यो ।

‘ग्यालरीले कला मात्रै चिनाउँदैन कलाकारको पहिचानसमेत स्थापित गर्न मद्दत गर्छ,’ रमेशले भने, ‘ससाना कमर्सियल ग्यालरीले कलाको ठूलो बजार समेट्न सक्दैनन् ।’ चित्रकला हेर्ने र बुझाउने संस्कृतिको विकास गराउन ग्यालरी प्रमुख माध्यम रहेको रमेशले बताए ।

प्रकाशित : वैशाख १३, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?