सम्झनामा लोकगीतकी रानी

कमला श्रेष्ठको जस्तो स्वर भएको साथी अब भेटदिनँ होला । उसले गाउँदा नाच्न फुर्ती आउँथ्यो । हामी आमाको पिटाइ खाँदै नाच्न/गाउन हिँड्थ्यौं । - वसुन्धरा भुसाल

काठमाडौँ — सँगै हुर्केर एकसाथ करिअर अघि बढाए पनि आफूभन्दा पहिले धर्ती छोडेकी साथीको सम्झनामा कलाकार वसुन्धरा भुसाल भावकु बनिन् । विसं. २०१५ देखि कमला श्रेष्ठसँग उनको मित्रता थियो । गएको चैतमा गायिका श्रेष्ठको निधन भएको थियो ।

सम्झनामा लोकगीतकी रानी

यही खबर सुनाउन फोन गरेकी नृत्य कलाकार विमला श्रेष्ठको कुरै नसुनी वसुन्धराले भनिछन्, ‘हामी सबैजना घुम्न जानुपर्छ यसपालि । रमाइलो गर्नुपर्छ ।’

विमला बोल्न सकिनछिन् । अहिले वसुन्धरालाई थकथकी लाग्छ, कस्तो बेला, के कुरा गरिएछ भनेर । ‘कमलाबारे के भनूँ म,’ उनी आँसु पुछदै बोलिन्, ‘उसको जस्तो स्वर भएको साथी अब भेटदिनँ होला । उसले गाउँदा नाच्न फुर्ती आउँथ्यो । हामी आमाको पिटाइ खाँदै नाच्न/गाउन हिँड्थ्यौं ।’

कमलासँग निकै सहकार्य गरेका गायक गणेश रसिक पनि उनीबारे बोल्दा भावुक बने । जीवनको पछिल्लो चरणमा गुमनाम भएर बसेकी उनीसँग स्टेज सेयर गर्दाको क्षण स्मरण गरे ।

वसुन्धराका अनुसार कमला हँसमुख थिइन् । आफ्नो स्वास्थ्यलाई लिएर हेलचेक्रयाइँ गर्ने बानीले उनलाई चाँडै घायल बनाएको वसुन्धराको बुझाइ छ । ‘उसले लाइफलाई सिरियस्ली लिइन,’ उनले भनिन्, ‘सांस्कृतिक संस्थानजस्ता निकायमा कार्यरत कलाकारलाई अब अनिवार्य हेल्थ चेकअप गराउन लगाउनुपर्छ ।’ खसीको हयाकुलामा फर्सी मिसाएर बनाइएको परिकारबारे कमलाले मुखै रसाउने गरी बयान गर्ने गरेको रसिकले सम्झिए । ‘आहारविहारले स्वास्थ्यमा प्रभाव पार्छ,’ उनले भने, ‘खानमा सोखिन थिइन् उनी ।’

सांस्कृतिक संस्थान (नाचघर) ले कमला श्रेष्ठको ४५ औं दिनको पुण्यतिथिका सन्दर्भमा आइतबार श्रद्धाञ्जली कार्यक्रम गरेको थियो । अभिनेत्री भुसाल, संगीतकर्मी रसिक लगायतले त्यही कार्यक्रममा गायिका श्रेष्ठसँगको सम्झना साझा गरेका थिए । कार्यक्रममा गायिका श्रेष्ठका गीत नाचघरका कलाकारले प्रस्तुत पनि गरे । ‘घरबेटी नानी...’, ‘सरर मलेवा...’, ‘तारे भीरमा...’ र ‘ईश्वर तैंले...’ गीतमा शिला विष्ट, दीपेन्द्र बज्राचार्य, टीका गुरुङ, भीमकला गुरुङ र आकाश थापाले स्वर दिए ।

कमलालाई विसं. २०३० को दशकमा ‘लोकगीतकी रानी’ भनेर चिनिने गरेको कार्यक्रममा बताइयो । नाचघरका महाप्रबन्धक राजेश थापाले अग्रज स्रष्टाकै कारण नाचघरको विरासत थामिएको बताए । ‘उहाँहरूलाई नसम्झिँदा हामी दोषको भागिदार हुन्छौं,’ उनले भने, ‘कमला दिदी त झन् यहीँ काम गर्नुभएको स्रष्टा ।’ श्रद्धाञ्जलीपछिको दोस्रो चरणमा ‘विशेष सांस्कृतिक कार्यक्रम’ गरिएको थियो । त्यसमा संस्थानका कलाकारले धिमे, सामा चखेवा, साकेला, हुडेली र चुटका कौरा नृत्य प्रस्तुत गरेका थिए । शास्त्रीय र आधुनिक धुनको फयुजनलाई दर्शकले मन पराएका थिए ।

प्रकाशित : वैशाख २५, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?