१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

“सर्ट मुभी विश्वविद्यालय हो”

काठमाडौँ — सर्ट फिल्मलाई फिल्ममेकरहरू पाठशाला मान्छन् । भिजुअल माध्यमबाट कथा भन्न चाहनेले सुरुमा सर्ट फिल्म प्रयास गर्नु ठीक हुने उनीहरूको दाबी छ ।

“सर्ट मुभी विश्वविद्यालय हो”

‘पुन्टेको पाङ्ग्रो’, ‘वियोन्ड द व्हाइट केन’, ‘अगेन्स्ट अल अड्स’, ‘जेमिनाई’ र ‘नयाँ झुल’ फिल्मका निर्देशकले यो विधालाई खुड्किलो भन्न रुचाए । उनीहरूका सर्ट फिल्म बिहीबार मार्टिन चौतारीमा फिक्सन फिल्म सेरिजमा देखाइएको थियो ।

‘पहिलो फिल्म विश्वविद्यालय हो,’ ‘नयाँ झुल’ का निर्देशक महेश श्रेष्ठले भने, ‘कथा लेख्ने, सट डिभिजन गर्ने, खिच्ने सबैथोक आफैंले गर्नुपर्छ । मल्टी–टास्किङले धेरै कुरा सिकाउँछ ।’ ‘पुन्टेको पाङ्ग्रो’का सचिन घिमिरेलाई सर्ट फिल्म लम्बाइमा छोटो भए पनि निर्देशकको प्यासनलाई बाहिर ल्याउने उचित र सशक्त माध्यम हो भन्ने लाग्दो रहेछ । जिन्दगीमा एउटा सर्ट फिल्मसमेत नबनाएकाहरूले एकैचोटि फिचर लेन्थको फिल्म बनाएको देख्दा उनी आश्चर्य चकित हुने गरेका छन् ।

‘पहिले सानो फर्ममै आफूलाई परीक्षण गर्नुपर्छ,’ घिमिरेले भने, ‘सर्ट फिल्म बनाउनु भनेको परीक्षा दिनुजस्तै हो । यसमा धेरै प्रयोग गर्न सकिन्छ, फिल्मको गणित पहिल्याउन सिकिन्छ ।’

अचेल सहायक निर्देशकका रूपमा व्यस्त राजेन्द्र महर्जनले ‘अडिसन’ शीर्षक सर्ट मुभीबाट काम थालेका थिए । त्यो बेला खुब योजना गरेको भए पनि फ्लोरमा जाँदा धेरै सम्झौता गर्नुपरेको बताए । ‘चाहेजस्तो गर्न गाह्रो हुँदो रहेछ भन्ने बुझेँ,’ उनले भने, ‘फिचर फिल्ममा उक्लिने माध्यमचाहिँ बन्यो ।’

‘अगेन्स्ट अल अड्स’ बनाएकी ज्योत्स्ना सिंह ठकुरीलाई उनको फिल्मले नराकात्मक सन्देश दियो भन्ने आशयको प्रश्न राखिएको थियो । उनले यौन दुव्र्यवहारविरुद्ध तत्काल कदम चाल्यो भने समाधान मिल्न सक्छ भन्ने देखाउन खोजेको बताइन् । ‘छायाको कन्सेप्ट, साउन्ड र म्युजिकमा प्रयोग गरेकी छु,’ उनले भनिन्, ‘आत्मसन्तुष्टिका लागि सर्ट मुभी बनाएकी हुँ ।’

कास्की घचोकका दृष्टिविहीन राम भण्डारीको प्रेरणादायी जीवनकथा खिचेका उपेन्द्र पाण्डेले आफूहरू प्राविधिक र कलात्मक रूपमा चुकेको बताए । ‘कतिपय सट मोबाइलले लिएका थियौं,’ उनले भने, ‘हामी पत्रकार भएकाले भिडियो रिपोर्टजस्तो बन्न गएछ ।’

निर्देशकले आफ्ना फिल्मको कथावस्तु, ती भित्रका अंलकार र प्रतीक, शैली आदिबारे दर्शकको जिज्ञासा मेटाएका थिए । विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितेको ‘पुन्टेको पाङ्ग्रो’ लाई सैद्धान्तिक रूपमा सबल बनाउनतिर लागेर भावनात्मक पाटो बेवास्ता गर्नु आफ्नो भूल भएको सचिनले बताए । ‘यति छोटो फिल्म बनाउन ६ महिना लाग्यो,’ उनले भने, ‘तर, त्यहीअनुसार पहिचान मिल्यो ।’

तेस्रोलिंगी समुदायको इच्छालाई सामाजिक यथार्थले कसरी भत्काउँछ भन्नेबारे नवीन भट्ट र आभा नेपालले ‘जेमिनाई’ मार्फत् देखाउन चाहेका छन् । यसमा नृत्यलाई विम्बका रूपमा प्रयोग गरेको आभाले बताइन् । ‘हाम्रो फिल्ममा यर्थाथ झल्किन्छ,’ नवीनले भने, ‘समस्याको समाधान दिने वा कुनै सन्देशप्रधान फिल्म होइन ।’

फिक्सन सेरिजमा पछिल्लो पटक नेपाली फिल्महरू प्रदर्शन गरिएका छन् ।

प्रकाशित : वैशाख २८, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?