२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सहरमा कुन्छाल गाउँ

ललितपुर — मकवानपुरको कुन्छाल गाउँ गोपालीहरूका कारण चर्चित छ । त्यहाँ ग्वाली अर्थात् नेपालको पहिलो वंश गोपाल (जो आफूलाई अहिले गोपाली भन्छन्) को बसोबास छ ।

सहरमा कुन्छाल गाउँ

पुर्ख्याैली पेसा गाईपालन भए पनि अचेल पूरै गाउँ खेतीकिसानीमा निर्भर छ । तर, प्रमोद गोपालीलाई किसान मात्र भनेर चिनाउन मिल्दैन । उनी चित्रकलामा पनि संलग्न छन् । गाउँलेहरू उनलाई ‘किसान चित्रकार’ भन्छन् ।

उनले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । भैंसी पालेका छन् । त्यसको चाकरी गर्नैपर्‍यो । यसमै समय बित्छ । तर, कसैले साइनबोर्ड, ब्यानर वा नम्बर प्लेट बनाइदिन भन्यो भने उनी नजिकैको बज्रबाराही बजारमा रहेको ‘थाहा आर्ट’ पुग्छन् । यो उनको पसल हो जहाँ बोर्ड लेख्ने, नम्बर प्लेट बनाउनेजस्ता काम गरिन्छ । ‘चित्रकलाबाट गुजारा चल्दैन जस्तो लागेर पढाइ छोडें,’ हालको दिन काठमाडौंमा भेटिएका उनले भने, ‘तर, रङहरू छोड्न सकिनँ ।’

प्रमोदले आफ्नो निवासमा माछापुच्छ्रे र अमादब्लम हिमालका चित्र सजाएका छन् । ती उनैले कोरेका हुन् । शुक्लाफाँटा वन्यजन्तु आरक्षण घुम्न गएका बेला त्यहाँका जीवजन्तु नियालेछन् । तिनलाई पनि क्यानभासमा उतारेर घरमै टाँगेको बताए । ‘मेरा तिनै चित्रहरू देखेर लभ ग्रिन नेपाल–जापानका सर–मिसले कुन्छाल गाउँको चित्र बनाऊ भन्नुभयो,’ उनी सुनाउँछन्, ‘सधैं अरू ठाउँको चित्र बनाएर आफ्नै गाउँ बिर्सेको रहेछु । उहाँहरूले सम्झाइदिनुभयो ।’

पाटनको नेवा छेँ ग्यालरीमा हाल उनका चित्र प्रदर्शनीमा राखिएका छन् । ‘कुन्छाल’ शीर्षक १० चित्रमा उनले ल्यान्डस्केप उतारेका छन् । इँटा–माटोका झुरुप्प घरहरू, हँसिला केटाकेटी, हलो जोत्दै गरेका किसान, हाकु–पटासीमा सजिएर भारी बोकिरहेका महिला, उकाली–ओराली बाटोलाई प्रमोदले चित्रको विषय बनाएका छन् । ‘हाम्रो गाउँ भर्खरै पर्यटकीय गन्तव्य घोषित भएको छ,’ उनले भने, ‘होमस्टे पनि सुरु गरेका छौं । यसका लागि मेरो चित्रले केही सहयोग गरून् भन्ने चाहन्छु ।’

गाउँमै एउटा आर्ट ग्यालरी खोल्ने सपना देखेका उनी कुनै बेला ललितकला क्याम्पसमा चित्रकला पढ्थे । वि.सं. २०६२ मा इन्टर (कक्षा १२) सकेर उनी गाउँ फर्किए । साइन बोर्डहरू लेख्न थालेँ ।’ अहिले चित्रकलाको बजार बढेको देख्दा उनी आफ्नो कौशल निखार्ने सोच्दैछन् ।

प्रमोदकै गाउँका निरन गोपालीजस्ता युवा पनि चित्रकलामा रुचि देखाइरहेका छन् । निरनको पेन्टिङ नेवा छेँमा राखिएको पनि छ । लभ ग्रिन नेपाल–जापानका मासाओ आइकावाले ऐतिहासिक गाउँ र जातिलाई क्यामरामा कैद गरेको बताए । कुन्छालको होमस्टेमा सहयोग पुगोस् भनेर चित्रकला प्रदर्शनी आयोजना गरेको यसका संयोजक विमल दुलालको भनाइ छ ।

प्रकाशित : वैशाख ३१, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?