चेखबका तीन नेपाली बहिनी

मधु शाही

काठमाडौँ — अनुहार सिंगार्दै थिइन्, रिना । गाँजलु आँखा । ओठमा हल्का लाली र गुलाबी गाला । हातको ऐनाभित्रबाट उनकै प्रतिछाया चिहाउँदै थियो । एकैछिनपछि आफुलाई हेरिरहेका दिदीहरू माया र आभालाई सोध्दै रिनाले भनिन्, ‘कस्ती देखिएकी छु ?’

चेखबका तीन नेपाली बहिनी

‘बरु ऐनाले धोका दिन सक्छ । तर, दिदीबहिनीको सम्बन्ध साँच्चै विश्वासिलो हुँदो रहेछ,’ रंगकर्मी शान्ति गिरी, सुनिसा बजगार्इं र सुषमा कोइरालाको अनुभव यस्तो छ । सक्कली जीवनमा यिनीहरू दिदीबहिनी हैनन् तर आन्तोन चेखबको चर्चित नाटक ‘तीन बहिनी’ मा यिनीहरू दिदी बहिनी चरित्रमा मात्रै छैनन्, यही चरित्रकै कारण यी तीनबीचको सम्बन्ध साँच्चिकै दिदीबहिनीको जस्तै प्रगाढ बनेको छ ।

कान्छी बहिनी रिनाको रूपमा सुनिसा, माइली बहिनी मायाका रूपा सुषमा र जेठी दिदीका रूपमा शान्तिले अभिनय गरेका छन् । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन जारी रहेको यो नाटकको केन्द्रबिन्दुमा यी तीन बहिनी नै छन् । नाटक खेलेर थिएटरबाट बाहिर निस्किएपछि सुनिसा, सुषमा र शान्तिलाई दर्शकले रमाइलो गर्दै सोध्ने गर्छन्, ‘तपार्इंहरू साँच्चैकै दिदीबहिनी हो ?’ यी तीनले भने ‘औपचारिक अर्थमा एउटै आमा बुबाका सन्तान नभए पनि भावनात्मक रूपमा एकअर्कासँग जोडिएको’ बताइरहेका हुन्छन् । कहिलेकाहीँ जिस्किँदै दर्शकलाई नै कन्फयुज बनाउने गर्छन्, ‘गेस गर्नुहोस् न ।’

शान्ति, सुनिसा र सुषमाले यो नाटकभन्दा पहिले खासै नजिक थिएनन् । आ–आफ्नै तरिकाले रंगमञ्चमा सक्रिय हुँदै आएका उनीहरूलाई चेखबको यही नाटकले सम्बन्धमा जोडिदिएको हो । करिअरको हिसाबले शान्ति, सुनिसा र सुषमाभन्दा जेठी हुन् । झन्डै ९ वर्षदेखि उनी रंगमञ्चमा छिन् । त्यसैले सुषमा र सुनिसा नाटकका पात्रमा मात्रै नभई बाहिर पनि शान्तिलाई दिदीकै साइनोमा सम्बोधन गर्छन् । २१ वर्षीया सुनिसा सबैभन्दा कान्छी । चारवर्षे रंगमञ्च यात्रामा बामे सर्दै गरेकी उनले छोटो समयमै राम्रो सफलता हात पार्दै आएकी छन् । उनले चार वर्षमा चारैवटा नाटक खेलिन् । धेरैजसोमा उनै केन्द्रीय पात्र थिइन् । सुनील पोखरेलको निर्देशन रहेको ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’ र ‘हरियो ढुंगा’ बाट सुनिसाको अभिनय स्थापित भएको थियो ।

नाटक खेल्नु सुनिसाका लागि रमाइलो खेलजस्तै हो । भविष्यमा के होला भन्नेमा उनी धेरै चिन्तित हुँदिनन् । ‘सबै छोड्न सक्छु,’ उनी भन्छिन्, ‘तर, अब रंगमञ्च छोड्न सक्दिनँ ।’ सुनिसाको उमेरमा सुषमा पनि यस्तै सोच्थिन् । उनका अनुसार रंगमञ्चमा लाग्नुभन्दा टिकिरहनु चाहिँ चुनौतीपूर्ण छ । सुषमाले कहिल्यै नाटकबाट पैसा कमाउला भनेर लागेकी थिइनन् । अचेल भने उनको धारणा फेरिँदै छ । आफ्नो सोख पूरा गर्न उनी साइड जब पनि रोज्दै छिन् । बिहानको समय डान्स पढाउने उनी दिउँसोको समय थिएटरमा लगानी गर्छिन् । ‘अब भने प्रोफेस्नल आर्टिस्ट हुनुपर्ने सोचेकी छु,’ उनी भन्छिन्, ‘दोहोरो काम गर्दा थकाइ लाग्दो रहेछ ।’

उनीहरूभन्दा पाकी शान्तिलाई यी सबै कुरा नौला लागेनन् । उनले दुवै जनालाई सम्झाउँदै भनिन्, ‘प्यासन हुनुपर्छ करिअर रोकिँदैन ।’ शान्तिले थिएटरमा काम गर्दा परिवार र आफन्तलाई विश्वास दिलाउनुपर्ने चुनौती हुने बताइन् । खास गरी महिला रंगकर्मीले करिअर र परिवार दुवैमा ब्यालेन्स मिलाउनुपर्ने बाध्यता रहेको उनको अनुभव छ । आमाको अनुभवसमेत बटुलि सकेकी शान्तिले अविवाहित बहिनीहरू सुषमा र सुनिसालाई सम्झाउँदै भनिन्, ‘बिहे गर्नुभन्दा पहिला केटालाई थिएटर बुझाउनू ।’ रमाइलो मान्दै सुनिसाले ठटयौउली पारामा थपिन्, ‘हवस्, मलाई बिहे गर्ने केटालाई पहिले थिएटरको लत लगाउँछु ।’ चुल्बुले कान्छी सुनिसाको कुरा सुनेर शान्ति (आभा) र सुषमा (माया) उनको मुखमा हेर्दै खित्का छाडेर हाँसिरहे ।

घनश्याम श्रेष्ठको परिकल्पना र निर्देशन रहेको नाटकमा घिमिरे युवराज, श्रीओम श्रेष्ठ रोदन, श्याम खडका, विकाश जोशी, अर्जुन न्यौपाने, अन्ना देउजा, जीवन बराल, अस्मिता खनाल, अमुल श्रेष्ठ, सुरेश जीसीलगायतको पनि अभिनय छ । चेखबको चर्चित नाटकमध्ये पर्ने ‘तीन बहिनी’ मा भर्खरै बाबुआमा गुमाएका र राजधानीमा सेटल हुन खोजिरहेका तीन बहिनीको मनोदशा समेटिएको छ । संक्रमणकालीन रूसी समाजको यो कथालाई मेघराज अधिकारीले नेपाली रूपान्तरण गरेको हो ।
नाटक जेठ १२ सम्म मञ्चन हुनेछ ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?