कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजाको नयाँ लुगा

काँकडभिट्टा — डेनिस लेखक हेन्स क्रिस्चन एन्डरसनको प्रसिद्ध कथा ‘इम्पेरियर्स न्यु क्लोथ’ लाई परिवर्तन थिएटर झापाले नाटकको रूपमा प्रदर्शन सुरु गरेको छ ।

राजाको नयाँ लुगा

परिवर्तन थिएटरले काँकडभिट्टाको मेची सामुदायिक भवनमा हालै सञ्चालन गरेको अस्थायी नाटक घरमा यो सिर्जनाको मञ्चन थालेको हो । यो कथालाई ‘राजाको नयाँ लुगा’ को रूपमा नाट्य रूपान्तरण गरिएको छ । रंगकर्मी सागर खातीले नाटकको परिकल्पना तथा निर्देशन गरेका हुन् । उनले कथामा नभनिएका कतिपय विषयलाई पनि रोचक ढंगबाट प्रस्तुत गर्ने प्रयत्न गरेका छन् ।

काठमाडौंको मण्डला थिएटरका उत्पादन खातीको यो पहिलो निर्देशन अनुभव हो । उनले मण्डलामा सिकेको सीपलाई आफ्नै क्षेत्रमा प्रयोग गर्ने प्रयत्न गरेको बताए । ‘राम्रो बनाउने प्रयत्न गरेको छु,’ खातीले भने । एक जना राजाको अनौठो सोख (स्वाभाव) को वरिपरि नाटकको कथा घुम्छ । नयाँ लुगाप्रति राजाको ज्यादै धेरै मोह हुन्छ । घण्टा–घण्टामा नयाँ लुगा फेर्ने उनको अनौठो स्वाभावले उनी आफू नांगिएको पनि पत्ता पाउँदैनन् । राजाको कमजोर आत्मबल, अहमता र हठी स्वाभावलाई नाटकले प्रस्ट र रमाइलो ढंगमा व्यक्त गर्न खोजेको छ ।

नाटकमा विभिन्न स्कुलका बाल कलाकारहरूको प्रस्तुति रहनेछ । स्कुलका नानीहरूलाई समेटेर हालै नाटकबारे तीन दिने वर्कसपसमेत चलाइएको थियो । वर्कसपमा उनीहरूले सिकेका कुरालाई नाटकमार्फत अभ्यास गर्ने प्रयत्न गरिएको खातीले बताए । परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपालले झापामै पहिलो पटक नाटक घर स्थापना गरेरै नियमित नाटक प्रदर्शन सुरु गरिएको बताइन् । यसअघि थिएटरले ‘सुनामी’ नामक एकल नाटक प्रदर्शन गरेको थियो । यसमा सुषमा पोख्रेलले अभिभनय गरेकी थिइन् । थिएटरकी उपाध्यक्ष लीला विष्टले नाटक हेर्ने बानीको विकास गर्न पनि थिएटरले नियमित नाटक प्रदर्शन गर्न थालेको बताइन् । उनले भनिन्, ‘समाजलाई नाटकबारे थाहा दिन र नाटक हेर्ने बानीको विकास गर्न नियमित मञ्चन सुरु गरेका हाँै ।’

आयुष खतिवडाले नाटकमा मुख्य भूमिका निर्वाह गर्ने छन् । उनीसँगै मनीषा गजमेर, सुषमा श्रेष्ठ, सजिता तामाङ, सोनिया कार्की, क्रिसला बस्नेत, कोपिला निरौला, निर्मल तामाङ, मृदुल दाहाल, आफ्रिन खातुन, सम्झना दास, कल्पना क्षत्री, विराज पौडेल, अभिषेक गड्तौला, पूजा आचार्य र गणेश बस्नेतको अभिनय हेर्न सकिनेछ । शनिबार अभिनेता एवं रंगकर्मी दयाहाङ राई र अरुणा कार्की कलाकारलाई हौस्याउन आइपुगेका थिए । उनीहरूले सँगै नाटक पनि हेरे ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?