कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

जयकृष्णले देखेको काठमाडौं

मधु शाही

काठमाडौँ — भर्‍याङ, खुड्किला अनि झ्याल । यी शब्द भौतिक हुन् । तर, एउटा कलाकारले त्यही वस्तुमा जीवन देख्छ । संघर्ष र मानव सभ्यताका अनेक पक्ष देख्छ । भारतका वरिष्ठ कलाकार एवं प्राध्यापक जयकृष्ण अग्रवालले यिनै विम्बमा आफ्नो अनुभूति समेटेका छन् ।

जयकृष्णले देखेको काठमाडौं

बितेका समय, वर्तमान र आउँदै गरेको क्षण । उनको कलाले जीवनका अनेक परिभाषालाई समयसँग जोडेर व्याख्या गर्न खोजेको छ । पाँच वर्षअघि उनी नेपालमा पहिलोपटक कला प्रदर्शनी गर्न आएका थिए । भारत फर्किएपछि पनि जयकृष्णलाई नेपाल सम्झिरहे । नेपालमै बसेर केही समय कलाकर्म गर्ने सोच बनाएका उनी यति बेला दोस्रो पटक कलाकृतिहरू लिएर आएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको निम्तोमा आएका जयकृष्णले बुधबारदेखि बबरमहलस्थित आर्ट काउन्सिल ग्यालरीमा ‘टाइम एन्ड स्पेस’ थिमअन्तर्गत प्रिन्टमेकिङ कला प्रदर्शनी थालेका छन् । यसपटक उनले कलाकृतिलाई बिक्री र पैसासँग नभई समाज सेवासँग जोडेका छन् । प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायकी दिवंगत छोरी शिवाताको सम्झनामा उनले कला प्रदर्शनी थालेका हुन् । ‘शिवाता लभ फाउन्डेसन’ को सहयोगार्थ राखिएका जयकृष्णका सिर्जना झट्ट हेर्नेले फोटो कि प्रिन्ट कला ?

छुट्याउन मुस्किल पर्छ । उनको कलाकारिताको विशेषता पनि यसैमा झल्किन्छ । सफा, वास्तविकता र पारदर्शिताका कारण उनका आकृतिहरू यथार्थपरक लाग्छन् । भर्‍याङको विम्बलाई उनले कला बुझाउने सूत्रधारको रूपमा प्रयोग गरेका छन् । हरेक कलाकृतिमा माध्यम भर्‍याङ नै बनाएका छन् । त्यसपछि केन्द्रबिन्दुमा चाहिँ झ्याल पारेका छन् ।

दायाँ–बायाँको परिवेश कतै रित्तो देखिँदैन । त्यहाँ सूर्य प्रकाशको छायासमेत प्रतिविम्बित हुन्छ । त्यही छायामा जयकृष्णले समयको संकेत दिएको महसुस हुन्छ, कतै उज्यालो त कतै अँध्यारो छायाको प्रयोगमार्फत । यसले जीवनको सुख र दु:ख दुवै पक्ष समेटेको आभास दिन्छ । पाँच वर्ष पहिले नेपाल आउँदा नै जयकृष्णले यहाँको मौलिक सम्पदा झल्कने पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको फोटो खिचेका थिए ।

‘त्यही आकृति विस्तारै क्यामेराबाट मस्तिष्कमा यसरी छापिएछ कि यसैलाई प्रिन्टमेकिङ आर्टमा उतार्न मन लाग्यो,’ उनले भने ।

जयकृष्णले प्रिन्टमेकिङको ‘जी क्ले’ माध्यम अपनाएर नेपाली सांस्कृतिक सम्पदालाई उतारेका हुन् । प्रविधिको साहारा लिएको भए पनि उनको कलामा कल्पनाशीलता झल्किन्छ । जयकृष्णको कलाको अर्को मौलिकता भनेको ज्यामितीय आकृति हो । यसबाहेक उनका चित्रहरू आशावादी छन्, अँध्यारोबाट उज्यालोतिर लम्किएका छन् । सकारात्मक भावना र आध्यात्मिक मनोविज्ञान चित्रहरूमा प्रतिविम्बित हुन्छ ।

प्रतिष्ठान र ललितकला पत्रकार समाजले बुधबार जयकृष्णसँगै भारतबाट आएका पाका कला समीक्षक डा. राजेशकुमार व्यासबीच अन्तरक्रिया पनि गरेको थियो । राजेशले ‘आर्ट क्रिटिसिजम’, र जयकृष्णले ‘आर्ट अफ द इस्ट’ विषयमाथि विचार राखे । झन्डै २५ वर्षदेखि पत्रकारिता गर्दै आएका राजेशले समालोचनामा कलालाई भित्री आँखाले हेर्नुपर्ने बताए । कुनै पनि सिर्जनालाई महसुस गरेर लेख्नु सजिलो नभएको भन्दै उनले आर्ट क्रिटिसिजम जति बढ्यो उति मुलुकको कला विकास सम्भव हुने दाबी गरे । ‘पत्रकारिता र कला समीक्षा फरक हुन्,’ उनले भने, ‘कसैले देख्न नसक्ने नजर कला समीक्षकमा हुन्छ र हुनुपर्छ ।’

चार दिन जारी रहने प्रदर्शनीमा जयकृष्णका १ लाख रुपैयाँ मूल्य पर्ने चित्रहरू राखिएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?