कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुरु भयो सेलो नाटक मेला

काठमाडौँ — जंगबहादुरलाई जारले काटेको मिथमा आधारित नाटक ‘सोनाम ग्याल्मो’ को मञ्चनसँगै राजधानीमा शनिबारदेखि तीनदिने ‘सेलो नाट्य महोत्सव– २०७५’ सुरु भएको छ ।

सुरु भयो सेलो नाटक मेला

महोत्सवको उद्घाटन गर्दै पूर्वसंस्कृति तथा पर्यटन मन्त्री आनन्द पोखरेलले काठमाडौं आसपास बस्ने तामाङ समुदायको जीवन र संस्कृतिका आयामलाई महोत्सवले फराकिलो बनाउने दाबी गरे ।

‘तामाङ समुदाय बौद्ध दर्शनसँग समेत जोडिएको’ भन्दै मन्त्री पोखरेलले आफू लामो समयदेखि बुद्ध नेपालमै जन्मेका हुन् भन्ने अभियानमा कटिबद्ध भएर लागिपरेको पनि बताए । उनले तामाङ समुदायको मौलिकता प्रबद्र्धनका लागि संग्रहालय बनाउनुपर्ने पनि सुझाए ।

उद्घाटन अघि महोत्सवमा अतिथिलाई डम्फुरे र ताम्बा (संस्कृतिविद्) ले गीत गाउँदै थिएटर भित्र्याएका थिए । आगन्तुकलाई ग्रामीण तामाङ परम्पराअनुसार टोटलाको फूलको टीका लगाएर स्वागत गरिएको थियो । शिल्पी थिएटर परिसर पूरै तामाङ मौलिकतामा सजाइएको थियो । कोही तामाङ खानेकुरा गेङ, आलुम, खाप्से, गन्डु थोङसे, आईराक (तीनपाने रक्सी) लगायत चाख्दै थिए, कोही पुस्तक र मौलिक भेषभूषाको स्टलमा रमाउँदै । धेरैले आइराक ताङ (परम्परागत रूपमा रक्सी पार्ने भाँडो) छेउ सेल्फी खिचे । नेपाली मौलिक रंगमञ्च प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउन्डेसनले गरेको महोत्सव अवधिभर पाँच नाटक र दुई कार्यपत्र प्रस्तुत गरिने बताइएको छ ।

पहिलो दिन मञ्चन गरिएको ‘सोनाम ग्याल्मो’ ले जंगबहादुरलाई जारले काटेको तामाङ मिथलाई अहिलेको जीवनसँग जोडेर प्रस्तुत गरेको थियो । फूलमान वलको लेखन र सोनाम लामा मोक्तानको निर्देशन रहेको नाटक विवाहमा बेहुला र बेहुली राखेर चारदाम (वैवाहिक जीवनको कसम खुवाउने विधि) गर्दै गर्दा फ्लासब्याकमा जान्छ । त्यसपछि सर्लाही पत्थरघट्टा आसपासको पुरानो तामाङ समाज र जीवनको उत्तराद्र्धमा त्यही ठाउँमा सिकार खेल्न गएका जंगबहादुरबीचको संघर्षले नाटकलाई गति प्रदान गर्छ । मुख्य पात्र छन्– भर्खरै विवाह भएको सोनाम र ग्याल्मो । ग्याल्मोलाई जंगबहादुरले मन पराएर हरण गरेपछिको पीडादायी सन्दर्भ र उनैले बनाएको ‘जार काट्ने कानुन’ टेकेर आइपुग्ने सोनामबीचको उतारचढाव नाटकमा लोभलाग्दो छ ।

नाटकमा सोनाम लामा, शान्ति वाइबा, फूलकुमार बम्जन, सुसन लामा, चाँदनी लामा, निकिता वाइबा, निशा पाख्रिन, मातृका घिमिरे, मनोज तामाङ, सन्तोष तामाङ (बोन्बो), सञ्जीव राई, देविन चौधरी, विजय टुबा, सुनील तामाङ, साजन लामालगायतले अभिनय गरेका छन् । आइतबार अमृत योञ्जनको कार्यपत्र प्रस्तुतिसँगै धादिङ जिल्लाको तामाङ समुदायमा प्रचलित ‘ताचेमा’ लोकनाटक र वसन्त चौधरीको कविता ‘ङाला फ्रेङबा धोङला टा’ को मञ्चन गरिने बताइएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले तामाङ समुदायको रंगमञ्च उत्थानका लागि महोत्सवले फलदायी हुने दाबी गरे । पूर्वमन्त्री सूर्यमान दोङ, पूर्वराजदूत डा. गणेश योञ्जन र प्रज्ञा प्रतिष्ठानका रंगमञ्च विभाग प्रमुख पुष्कर गुरुङले महोत्सवको प्रशंसा गरे ।

प्रकाशित : असार ३, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?