१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जन्म दिनमा सम्मान र “दालभात तरकारी”

सुनीता साखकर्मी

काठमाडौँ — असार १५ । हास्य कलाकार किरण केसीको जीवनमा यो १५ गतेले ठूलो महत्त्व राख्छ । यसै दिन जन्मेका उनलाई ‘१५ गते’ टेलिफिल्मले चर्चाको शिखरमा पुर्‍याएको थियो ।

जन्म दिनमा सम्मान र “दालभात तरकारी”

केसीले शुक्रबार इमाडोलमा आफ्नो ६१ औं जन्म दिन मनाइरहँदा हास्य क्षेत्रमा योगदान दिएका सन्तोष पन्त र फिल्म पत्रकार विदुर गिरीलाई सम्मान पनि गरे ।

किरणलाई जन्म दिनको शुभकामना दिन थुप्रै सेलेब्रिटी इमाडोल पुगेका थिए । बसुन्धरा भुसाल, राजाराम पौडेल, सुरवीर पण्डित, दीपकराज गिरी, दीपाश्री निरौला, रमेश खनाल, आँचल शर्मालगायत कलाकार आएका थिए । कलाकार कमल गाउँलेले उनलाई एउटा ‘ललिपप’ गिफ्टका रूपमा दिए । किरणले खुसी हुँदै आफ्नो खल्तीमा राखे । कमलले ललिपप दिनुको रहस्य खोले, ‘किरण दाइ ६० नाघिसक्दा पनि उत्तिकै फूर्तिलो हुनुहुन्छ । र, उहाँको स्वभाव बच्चाको जस्तै इनोसेन्ट छ,’ उनले भने, ‘यसकै कारण उहाँलाई सबैले मन पराउँछन् । त्यसैले जति उमेर बढ्दै गए पनि बानी परिवर्तन नहोस् भन्ने कामनासहित ललिपप दिएको हुँ ।’

त्यसो त किरणले अहिलेसम्म थुप्रै गिफ्ट पाइसके । अहिलेसम्म पाएका गिफ्टमध्ये पत्नी सीताले दिएको ‘डाइमण्डको रिङ’ खास लाग्छ । झन्डै १० वर्ष पहिले पत्नीले थाहै नदिई डाइमण्ड रिङ दिँदा अचम्मित हुनुका साथै खुसी पनि लागेको उनले बताए । अर्काेचाहिँ लेखिका टीका ढकालले किरणका बारेमा ‘शब्दचित्रमा किरण’ भन्ने पुस्तक दिएको सम्झना आइरहन्छ ।

पत्नीकै सल्लाहमा जन्म दिनलाई सामाजिक काम गरेर मनाउन थालेको किरण बताउँछन् । समारोहमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठले अभिनेता पन्त र पत्रकार गिरीलाई १० हजार रुपैयाँसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए । मदनकृष्णले ‘१५ गते’ मा काम गर्दा किरणसितको संझना सुनाए । ‘उनलाई कलाकार भनेर चिनेको थिइनँ । खासमा हामीलाई गाडी भएको कलाकार चाहिरहेको थियो । त्यतिखेर गाडी भएको किरण नै थियो । गाडी भाडा बचाउन किरणलाई लियौं । तर उसले त तहल्कै मचायो ।’ सुपरहिट भएपछि मानिसको स्वभाव र व्यवहार बदलिने गरेको तर किरणको व्यवहार भने सधैं सरल र गुनिलो रहेको मदनले टिप्पणी गरे ।

सम्मानित पन्तबारे बोल्दै उनले भने, ‘गाईजात्रामा सन्तोष पन्तको कार्यक्रम कहिल्यै छोडदिनथें । उहाँ स्वाभाविक अभिनय गर्ने कलाकार हो ।’ सम्मान पाउँदा हौसला मिलेको सन्तोषले बताए । उनका अनुसार यस्तो संस्कारले कलाकारबीच मेलमिलाप, भावना, विचार आदानप्रदान गर्ने र सम्बन्ध बलियो बनाउँछ । किरणले सोही कार्यक्रममा फिल्म ‘दालभात तरकारी’ को निर्माण घोषणा पनि गरे । ‘यो परिवारसँग बसेर हेर्ने खालको फिल्म हुनेछ,’ उनले भने, ‘एकदमै अर्गानिक र नेपाली स्वादको दालभात हुनेछ ।’ फिल्मको निर्देशन किरणकै छोरा सुदनले नै गर्नेछन् ।

प्रकाशित : असार १७, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?