कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सारंगी जोगाउन गाह्रो !

सारंगीलाई भन्ने बेलामा राष्ट्रकै बाजा भन्छौं, संस्कृति भने गन्धर्व जातिले मात्रै जोगाउनुपर्ने जस्तो देखिन्छ ।
दीपक परियार

लेखनाथ — धर्मसिंह गन्धर्व ७९ वर्षका भए । उनी अझै सारंगी बजाएर मालश्री र कर्खा गाउँछन् । कद, गाँठी र ज्यान हेर्दा बुढा देखिन्छन् तर गला तन्नेरीको भन्दा कम छैन । उनका ५४ वर्षीय छोरा रामजी गन्धर्वको मुख्य पेसा सारंगी बजाउने नै हो ।

सारंगी जोगाउन गाह्रो !

सारंगी बनाएरै उनको घर धानिएको छ । नाति पुस्ताले सारंगी नबजाउने हो कि भनेर धर्मसिंहलाई ठूलो चिन्ता छ ।

पोखरा थिएटरमा हालै भएको गन्धर्व सांगीतिक मेलामा धर्मसिंहले गीतसँगै गुनासो पनि सुनाए । ‘हाम्रो पालामा सारंगी बजाउन नजाने बिहे नै हुन्थेन,’ उनले भने, ‘अहिलेकाले लाज मान्छन् । लाज माने आफ्नै पेट भोको हुन्छ ।’ उनले सारंगी सिक्ने र सिकाउने दुवैले चासो नलिँदा सारंगी नै लोप हुने चिन्ता व्यक्त गरे ।

पोखरा–३२, तल्लो गगनगौंडाका धर्मसिंहले गाउँमा सारंगी पाठशाला खुले पनि सिक्न कसैले चासो नदिएको उल्लेख गरे । गन्धर्व संस्कृतिको अध्ययन गर्नेहरूप्रति पनि उनको गुनासो छ, ‘हाम्रो सबै इतिहास खोतलेर लैजाने काम भयो तर फर्केर केही गरेनन् ।’ आफू मरे पनि आफ्नो सारंगी घरको धुरीखाँबोमा झुन्डयाएर राख्दिन उनको आग्रह थियो । ‘श्रीमती बितेको ४७ वर्ष भयो,’ काखमा रहेको सारंगीलाई दुई पाखुराले च्याप्दै उनले भने, ‘त्यतिखेरबाट मेरो श्रीमती भनेकै यही सारंगी हो । बाबुआमाले जन्म दिए, कर्म यसैले दियो ।’

पोखरेली युवा सांस्कृतिक परिवारले संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानको सहयोगमा गरेको मेलामा ‘गन्धर्वको विगत र वर्तमान’ सम्बन्धी अन्तरक्रियाको सहजीकरण डा. तुलसी प्रभासले गरेका थिए । उनले अघिल्लो पुस्ताबाट धर्मसिंह, बीचको पुस्ताबाट हेम्जाका ५० वर्षीय शम्मरबहादुर गायक र कोलम्बियाली सारंगीवादक एरिक बोङकामसँग छलफल चलाएका थिए ।

शम्मरबहादुरले आफूले बुबाबाट सारंगी सिके पनि छोराछोरीलाई सिकाउन नसकेको स्विकारे । उनका दुई छोरा छन् । उनीहरू संगीत एरेन्जरको काम गर्छन् । उनी आफैं भने लेकसाइडमा नेपाली र विदेशीलाई सारंगी सिकाउँछन् । गन्धर्वकै सन्तानले सारंगी सिक्दा र अन्यले सिक्दा धेरै फरक हुने उनको अनुभव छ । भने, ‘गन्धर्वले बजाउँदा जुन रस हुन्छ, अन्य जातिले बजाउँदा त्यस्तै हुँदैन ।’ आफैंले मालश्री, कर्खा गाउन नसिकेकोमा उनी पछुताए । कुनै घटनालाई गीतमा बुनेर गाइने घटना गीत उनले गाए । २०३० असार २५ मा सिंहदरबार जलेको घटना उनले दुरुस्तै सुनाए । ‘त्यतिखेर म ७ वर्षको थिएँ । बुबाले गाउनुभएको सुनेर सिकें,’ उनले भने, ‘अहिलेको पुस्ताले यो पनि सिकेको छैन ।’

पोखराको बाटुलेचौरमा बालबालिकालाई सारंगी सिकाइरहेका धनबहादुर गायकले सारंगी जोगाउन गन्धर्व जातिले मात्र नभई अरूले पनि चिन्ता लिनुपर्ने औँल्याए । ‘सारंगीलाई भन्ने बेलामा राष्ट्रकै बाजा भन्छौं,’ उनले भने, ‘संस्कृति भने गन्धर्व जातिले मात्रै जोगाउनुपर्ने जस्तो देखिन्छ ।’

उनै धनबहादुरले कोलम्बियाका एरिकलाई तीन वर्षदेखि सारंगी सिकाइरहेका छन् । आफ्नो एक साथीकी आमाले कोलम्बिया पुर्‍याएको सारंगी देखेपछि सिक्ने उत्साहले नेपालसम्म आइपुगेको एरिकले बताए । ‘पोखरा आएपछि प्याराग्लाइडिङ, जिप फ्लायर, क्यानोनिङ के गर्ने भनेर मलाई होटलवालाले सोधे,’ उनले सम्झिए, ‘मैले सारंगी सिक्छु भन्दा सबै दंग परे ।’ उनले तीन वर्षदेखि सिकिरहेका छन् । नेपाली भाषा जानिसकेका उनले कार्यक्रममा कालजयी गीत ‘रेशम फिरिरी’ बजाए । हाल उनी गुरुङसेनी विवाह गरेर नेपालमै बसिरहेका छन् ।

सीमान्तीकृत गन्धर्व जातिको जनसंख्या २०६८ को जनगणनाअनुसार ६ हजार ७ सय ९१ छ । कास्कीमा १ सय २४ घरधुरी छन् । तीमध्ये ६५ घरधुरी झलकमान गन्धर्वको जन्मथलो बाटुलेचौरमा मात्र छन् । बाँकी गगनगौंडा, अर्घौ, रिट्ठेपानी, हेम्जा, बेगनासमा छन् ।

तनहुँ, लमजुङ, गोरखा, बागलुङ, चितवन, गुल्मी, अर्घाखाँची, पाल्पा, भोजपुर, झापा, इलामलगायतमा गन्धर्व जातिको बसोबास छ । लोकसंस्कृतिका अन्वेषक तुलसी प्रभासका अनुसार, ४१ प्रतिशत गन्धर्व अझै भूमिहीन छन् । उनी भन्छन्, ‘समुदायसँगै गन्धर्व संस्कृतिलाई जोगाउन राज्यले भूमिका खेल्नुपर्छ ।’

संगीत तथा नाटयका कुलपति सरुभक्त नयाँ पुस्ताले गन्धर्व संगीतलाई छोडे सारंगी नै लोप हुने खतरा देख्छन् । ‘गैरगन्धर्वले सारंगी बजाउन त सिक्छन् तर गन्धर्व संस्कृति अपनाउँदैनन्,’ उनले भने, ‘यसले भविष्यमा कुनैबेला सारंगी गन्धर्व जातिको बाजा थियो रे भनेर पढ्नुपर्ने हुन सक्छ ।’ प्राज्ञ तीर्थ श्रेष्ठले गन्धर्व एउटा जाति मात्र नभई संस्कृति भएको बताए ।

प्रकाशित : असार १९, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?