२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

छैटौं नेपाल फोटो प्रतियोगिता: नरेन्द्रको फोटो सर्वोत्कृष्ट

काठमाडौँ — गत वर्ष सप्तरीको कुलारी गाउँमा आएको बाढीका कारण उपचार नपाई दिवंगत भएका बालक कमल सदाको शव सप्तकोसीमा बगाइरहँदाको हृदयविदारक फोटो यस वर्षको ‘फोटो अफ दी इयर’ भएको छ ।

छैटौं नेपाल फोटो प्रतियोगिता: नरेन्द्रको फोटो सर्वोत्कृष्ट

फोटो पत्रकार (पीजे) क्लबद्वारा राजधानीमा आयोजित छैटौं नेपाल फोटो प्रतियोगितामा नरेन्द्र श्रेष्ठको उक्त फोटोले उत्कृष्ट हुँदै एक लाख रुपैयाँ जितेको हो । ‘मैले सदाको परिवारलाई केही सहयोग गर्न सकिरहेको थिइनँ,’ नरेन्द्रले पुरस्कार ग्रहणपछि भने, ‘अब जितेको रकम कमल सदा र पत्रकार यादव थपलियाको परिवारलाई दिनेछु ।’ उनले सदा परिवारलाई ७० हजार र साताअघि निधन भएका कान्तिपुरकर्मी थपलियाको परिवारलाई ३० हजार रुपैयाँ दिने भएका छन् ।

विधागत रूपमा पुरस्कृत कान्तिपुरकर्मीहरू (बायाँबाट) हेमन्त श्रेष्ठ, अंगद ढकाल, केशव थापा र सन्जोग मानन्धर ।

नरेन्द्र नेपाल स्माइल्स विधामा दोस्रो र फोटो स्टोरी विधामा तेस्रो पनि भए । यस विधाका १ हजार १० फोटामध्ये दीपेन्द्र रोक्काको फोटो नेपाल स्माइल्स विधामा अब्बल बन्यो भने सुरज श्रेष्ठ तेस्रो भए । डेली लाइफ विधामा सहभागी १ हजार १ सय ५३ फोटामध्ये सुनिता डंगोलले बाजी मारिन् ।

त्यसैगरी दुर्गा राना मगरको फोटो दोस्रो तथा कान्तिपुरकर्मी केशव थापाको फोटो तेस्रो बन्यो । त्यस्तै, कान्तिपुरकर्मी अंगद ढकालको फोटो न्युज फोटो विधातर्फ ४ सय १६ फोटालाई उछिन्दै उत्कृष्ट बन्यो । अर्का कान्तिपुरकर्मी सन्जोग मानन्धर यसै विधातर्फ दोस्रो तथा स्कन्द गौतम तेस्रो भए ।

नेचर एन्ड वाइल्ड लाइफ विधामा १ हजार १८ फोटामध्ये श्रीराम खत्रीको फोटो अब्बल ठहरियो । उम्मिद शाक्य दोस्रो र कान्तिपुरकर्मी हेमन्त श्रेष्ठ तेस्रो बने । एक्सपेरियन्स नेपाल कल्चर एन्ड टुरिजम विधातर्फ १ हजार ५७ फोटामध्ये किरण श्रेष्ठको फोटो अब्बल ठहरियो । सोही विधामा दिनेश श्रेष्ठ दोस्रो तथा अजय मानन्धर तेस्रो भए ।

त्यस्तै, एक्सन स्पोर्टमा प्रतीक रायमाझीको फोटो ३ सय ६२ फोटालाई उछिन्दै पुरस्कृत भयो भने रवि उपाध्याय दोस्रो र उज्ज्वलचन्द्र बुद्धाचार्य तेस्रो भए । फोटो स्टोरी विधामा मनीष पौडेल पहिलो र हेमन्त दोस्रो रहे ।

भारतका वरिष्ठ फोटो पत्रकार पाब्लो बारथोलोमिओ, वरिष्ठ पत्रकार प्रतीक प्रधान, वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की, वरिष्ठ फोटोग्राफर मणि लामा, काठमाडांै विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एएफपीका फोटो पत्रकार प्रकाश माथेमा निर्णायकमण्डलमा रहेका थिए ।

प्रत्येक विधाका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा छनोटमा परेका १ सय ४० फोटाहरू साउन १५ देखि २१ सम्म नेपाल आर्ट काउन्सिल, बबरमहलमा प्रदर्शनीमा राखिने पीजे क्लबका अध्यक्ष विकास कार्कीले जनाए ।

प्रकाशित : असार २२, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?