नगरकोट दोहोरी अब्बल

काठमाडौँ — तीन दिनसम्म चलेको दोस्रो राष्ट्रिय खुला दोहोरी प्रतियोगितामा नगरकोट दोहोरी साँझ सर्वोत्कृष्ट भएको छ । समूहले १ लाख रुपैयाँसहित अन्य पुरस्कार जित्यो । राजु केसी र डिला विकले नेतृत्व गरेको समूहले कुल सत्र समूहलाई हराउँदै प्रथम स्थान हासिल गरेको थियो । बिहीबारको अन्तिम स्पर्धामा नगरकोटले गामबेंसी दोहोरी साँझलाई छायामा पार्दै अग्रस्थान कब्जा गर्‍यो ।

नगरकोट दोहोरी अब्बल

दोस्रो भएको गामबेंसीले ५० हजार रुपैयाँ जित्यो भने राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान, रोल्पाले तेस्रो भएर २५ हजार रुपैयाँ हात पार्‍यो । बोडीगार्ड कला केन्द्रलाई सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्रदान गरियो । सांस्कृतिक संस्थान र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने पाँच गायकगायिकालाई पनि पुरस्कृत गरिएको थियो ।

प्रतिष्ठानका वरिष्ठ उपाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक रमेश बीजीसँगै अम्बरबहादुर गुरुङ, कृष्ण गुरुङ, चन्द्र शर्मा, पशुपति शर्मा, जीवन दाहाल, प्रचण्ड बीसी र बद्री पराजुलीको निर्णायक टोलीले उत्कृष्ट समूह र गायकगायिका छनोट गरेका थिए । ‘हामीले सुर, ताल, लय, शब्द संयोजन, मौलिकता, हाउभाव सबैलाई आधार मानेर अंक गणना गर्‍यौं,’ बीजीले भने, ‘यसपालि विषय दिएर त्यसमै गाउनुपर्ने थियो । यसले गर्दा प्रतियोगिता रोचक बन्यो ।’

यसमा न्यु लाइफ दोहोरी साँझ, शान्ति दोहोरी साँझ, गण्डकी दोहोरी साँझ, पानको पात दोहोरी साँझलगायत समूहले भाग लिएका थिए । यिनैबाट गायिका संगीना थापा, बबिता माझी, गायक प्रकाश पराजुली, टेकराज अधिकारी र श्याम रानालाई उत्कृष्ट प्रस्तुतिका लागि जनही पाँच हजार रुपैयाँ दिइएको थियो । ‘थिममा बसेर गाउँदा यसपालिको प्रतियोगिता स्तरीय र फरक सुनियो,’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, प्रदेश ७ का संयोजक सुरात रावत भन्छन्, ‘यस्ता कार्यक्रम काठमाडौं केन्द्रित हुनु भएन ।’

लोक दोहारी विधाको प्रवद्र्धन र यसमा विद्यमान समस्याको अन्त्य गर्न दोहोरी प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका बीजीले बताए । ‘यो मात्रै संगीतको यस्तो विधामा जहाँ हारजित हुन्छ,’ उनले भने, ‘गीतमा खेल हुने यस्तो रोचक विधा ओझेल पर्नु हुँदैन ।’ उनले आगामी साल पनि राष्ट्रव्यापी खुला दोहोरी गीत प्रतियोगिता आयोजना गर्दै जाने बताए ।

प्रकाशित : असार ३०, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?