१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘संगीत प्रदूषित भो’

हालखबर
सजना बराल

काठमाडौँ — शनिबारे बिहान । गायक आनन्द कार्की तीनकुनेस्थित एउटा रेस्टुरेन्टमा थिए । उनले मगाए, कालो कफी । तर, आइपुग्यो सेतो, अर्थात् दूध हालेको कफी । उनले फर्काउन चाहेनन् ।

‘संगीत प्रदूषित भो’

बरु चिनी नहाली पिए । अनि भने, ‘सुगर छोडिदिएँ । आफूले आफूलाई माया गर्नुपर्‍यो नि ! जसले आफूलाई माया गर्छ, उसले अरूलाई पनि माया गर्छ । स्वास्थ्य महत्त्वपूर्ण हो ।’

आनन्द फेसबुकतिर पनि स्वास्थसम्बन्धी अनेक भनाइ पोस्ट गरिरहेका हुन्छन् । पछिल्लो पटक उनले लेखे, ‘हेलो साथीहरू, पैसाले सबै थोक किन्न सक्छ तर स्वास्थ्य र सच्चा माया किन्न सक्दैन ।’ यो स्टाटस लेखेको केही दिनपछि नै उनी नयाँ दिल्लीस्थित फोर्टिस अस्पताल पुगे । हातपाउ सुन्निएपछि उनले श्रीमती ईश्वरी कार्कीलाई उपचारार्थ भारत लगेका थिए । त्यहीँ थाहा भयो– ईश्वरीका दुवै मृगौला खराब भएछन् । कार्की दम्पती स्तब्ध भयो ।

‘सुरुमा साह्रै डर लाग्यो, एकदम आत्तिएँ,’ आनन्दले कान्तिपुरसँग भने, ‘पछि बुझ्दै जाँदा मन अलि हलुंगो भयो । विज्ञान र प्रविधिको विकासले उपचार सहज भएको रहेछ । अहिले सुमेरु अस्पतालमा डाइलासिस गराउँदै छौं । उनको टेक केयरसँगै आफ्ना कार्यक्रम पनि गरिरहेको छु ।’आनन्द चाहन्छन्, सबैको प्रार्थनाले डाइलासिसबाटै चमत्कार होस्, प्रत्यारोपण नगरी आफ्नी संगिनीका मृगौला ठीक होऊन् । यसो भनिरहँदा उनले सम्पूर्ण नेपालीलाई नियमित स्वास्थ्य जाँच गर्न आग्रह पनि गरे ।

कार्की दम्पतीका एक छोरा छन्, अनुज । छोराले बाबुको व्यवस्थापन गर्न थालेको एक वर्ष भयो । अनुज आनन्द इन्टरटेन्मेन्ट कम्पनीका म्यानेजर हुन् । बाबुसँगै उनले एड्रियन प्रधान र फिरोज स्याङ्देनका कार्यक्रमहरू व्यवस्थापन गरिदिन्छन् । ‘उसले गर्दा मलाई सजिलो भएको छ,’ आनन्दले भने, ‘आफैं डिल गर्दा कलाकारको ओज घट्छ, म्यानेजर राख्नु राम्रो हो ।’ आनन्दका अनुसार अनुज गाउँछन् पनि । तर, एल्बम निकालेका छैनन् ।

छोराको पुस्ताले छाडेको कामलाई आनन्द भने निरन्तरता दिइरहेकै छन् । एक महिनाभित्र उनको एकल स्वर रहेको एल्बम ‘न बिर्सें’ बजारमा आउँदै छ । त्यसको केही समयपछि उनकै संगीत र गायनमा बाल गीति संग्रह पनि तयार हुनेछ । वर्षदिनअघि उनले आफ्नो पन्ध्रौं आधुनिक गजल एल्बम ‘लभ यु फरेभर’ सार्वजनिक गरेका थिए । पछिल्लो पटकचाहिँ ‘तिमीसम्म आउँदै छु...’ बोलको सिंगल ट्रयाक निकालेका रहेछन् ।


भने, ‘अहिलेको समयअनुसार पनि चल्नै पर्‍यो । युवा पुस्तालाई लक्ष्य गरेर गाएको छु, युटयुबमा आइसक्यो ।’उनलाई समयले ल्याएका परिवर्तन र सुविधाहरू राम्रा लाग्छन् । तर, प्रविधिको सहारामा कलाको अपमान गरेको मन पराउँदैनन् । कलामा साधना हुनैपर्छ भन्नेमा उनको जोड छ । हिजोआज संगीतमा कपी पेस्ट गर्ने चलन आएको भन्दै निधार खुम्च्याए उनले । ‘‘म त सबैभन्दा छिटो गीत रेकर्ड गरिसक्छु’ भन्नेहरू देखेर मलाई झर्को लाग्छ,’’ उनले भने, ‘एक लाइन गाउने अनि त्यसैलाई कपी गरेर अर्को लाइनमा पेस्ट गर्ने गर्छन् । स्टुडियोमा राम्रो गाउन नसक्नेले स्टेजमा झनै भद्रगोल गरेको देख्छु । हाम्रो सांगीतिक वातावरण स्वच्छ रहेन अब, प्रदूषण छ ।’

लाहुरे बुबासँगै सानैमा भारत पुगेका आनन्दले उतै संगीत अध्ययन गरे । उनलाई हिन्दुस्तानको संगीत संस्कार उच्च स्तरीय लाग्छ । त्यहाँका कलाकारले ‘आज छैन तर भोलि राम्रो हुन्छ’ भन्ने विश्वाससाथ संघर्ष गरे पनि हामीकहाँ ‘आज जेजति छ त्यो भोलि नहुन सक्छ’ भन्ने भयले जथाभावी गर्ने गरिएको उनको बुझाइ छ । ‘त्यसमाथि हामी बलिउड संगीतबाट दबिएका छौं,’ उनले भने, ‘मलाई नै कुमार सानुसँग तुलना गरियो । यसले मलाई सानो महसुस गराउँछ । म आफ्नै पहिचानका लागि मिहिनेत गर्छु ।’

आनन्दले आधुनिक, गजल, पाश्र्व, राष्ट्रभक्ति, भजन लगायत विभिन्न विधाका गरी हालसम्म तीन हजार गीत गाएका छन् । कुनै बेला प्ले ब्याक सिंगिङमा उनको भव्य साख थियो । अहिले यही विधा ‘मूलधार’ बनिरहेका बेला यी गायकचाहिँ गजल र आधुनिक गीततिर बढी सक्रिय छन् । अहिलेका फिल्मी गीत सुन्दा उनलाई आफ्नै पुराना गीतको सम्झना हुन्छ । अनि फिस्स हाँस्छन् एक्लै । ‘हामीले गाइसकेका तिनै लोकशैलीका गीत अहिले रिभाइभ भएका छन्,’ उनले भने, ‘अलिअलि प्याटर्न फेरिएको मात्रै हो, नयाँ रचना होइन ।’

संगीतकर्मीबीच एकता आवश्यक रहेकोतर्फ पनि आनन्दले औंल्याए । संगीतसम्बन्धी संघसंस्था, समाज र प्रतिष्ठानहरूले सबै कलाकारलाई एकजुट बनाउन भूमिका खेल्नुपर्ने बताए । तिनले कार्यक्रमहरू आयोजना गर्न छोडेकामा खिन्नता प्रकट गरे । यी सबैबीच उनलाई भन्न मन लागेको अर्को पनि एउटा कुरा रहेछ । जाँदाजाँदै सुनाइहाले, ‘अचेल बजारमा चल्ने गीत बनाउने चलन छ । अडियन्सलाई नचाउने नाममा हल्का गीत बनिरहेका छन् । हामीले स्तरीय संगीत सिर्जनाका लागि कोसिस गर्नुपर्दैन ?’

अचेल बजारमा चल्ने गीत बनाउने चलन छ । अडियन्सलाई नचाउने नाममा हल्का गीत बनिरहेका छन् । हामीले स्तरीय संगीत सिर्जनाका लागि कोसिस गर्नुपर्दैन ?
आनन्द कार्की, गायक

प्रकाशित : असार ३१, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?