कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चन्द्रागिरिबाट समृद्धि सृजना

काठमाडौँ — हिमवत् खण्डको बहुसांस्कृतिक पक्ष झल्किने गरी सांस्कृतिक संग्रहालय स्थापना र यस क्षेत्रको कला साहित्य अध्ययन मञ्च निर्माण गरी विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित ‘हिमवत् खण्ड कला साहित्य सम्मिलन, २०७५’ समापन भएको छ ।

चन्द्रागिरिबाट समृद्धि सृजना

सम्मिलनको तेस्रो दिन चन्द्रागिरिबाट ‘समृद्धिको स्वर’ थिममा लाइभ कविता र चित्र सिर्जनासहित १५ बुँदे घोषणापत्र जारी गरियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा जारी घोषणापत्रमा ‘बहु–सांस्कृतिक संग्रहालय बनाउन सरकारलाई सम्बन्धित समुदायसँग सहकार्य गरी तत्काल कार्य आरम्भ गर्न ध्यानाकर्षण’ समेत गरिएको छ । सम्मिलनले नेपालको विकास निर्माण र समृद्धितर्फको यात्रामा बहु–सांस्कृतिक पहिचान कायम राख्दै अघि बढ्न सम्बद्ध सबै पक्षलाई आह्वानसमेत गरेको छ ।
‘मुलुकभित्र बोलचालमा रहेका १ सय २३ भाषा तथा तिनसँग जोडिएका संस्कृतिको जीवन्ततालाई आपसमा सहकार्य गरी विकसित गर्नु आवश्यक छ,’ घोषणापत्रमा छ । ‘हिमवत् खण्ड कला साहित्य र संस्कृति : विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ को उद्घोषसहित मदन भण्डारी कला साहित्य फाउन्डेसनले सम्मिलनको आयोजना गरेको हो ।

प्रा. केशव सुवेदीले घोषणापत्र प्रस्तुत गर्दै ‘हिमवत् खण्ड एसियाली भेगबाट सिर्जित वैदिक, ताओ तथा बौद्ध वाङ्मय, ज्योतिष विज्ञान, योग एवं आयुर्वेदले यस भेगको चेतनालाई सदैव उँचो पार्दै आएको तथ्य स्वीकार गर्दै ज्ञान तथा चेतनाका गौरवशाली परम्परालाई अझ परिष्कृत र परिमार्जित गर्ने प्रस्ताव पारित’ भएको पनि बताए ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५ औं भानु जयन्तीका अवसरमा गरेको सम्मिलनको अन्तिम दिन कविहरूले ‘समृद्धि’ थिममा सिर्जना कोरे भने चित्रकारहरूले क्यानभास रंग्याए ।

दिनभरजसो साहित्यकार र चित्रकारहरूसित बिताएका प्रधानमन्त्रीलाई सहभागीले कविता लेख्न आग्रह गरेका थिए । यसपछि प्रधानमन्त्रीले सात मिनेटजति लाएर ‘समृद्धि र सपना’ का सन्दर्भ समेट्दै दस पंक्तिको कविता कोरे । पृथ्वीनारायण शाहले एकीकरणको जग बसालेको चन्द्रागिरि जस्तै नेपालका अन्य पौराणिक, ऐतिहासिक महत्त्वका ठाउँहरूलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने पनि प्रधानमन्त्रीले बताए ।

पहिलो चरणको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको दर्शन विभागका प्रमुख दिनेशराज पन्तले चन्द्रागिरिको ऐतिहासिक एवं सांस्कृतिक महत्वबारे बोलेका थिए ।

दोस्रो चरणमा कवितावाचन गरियो । भारतको सिलिगुडीका ज्ञानेन्द्र खतिवडा, दार्जिलिङका कर्ण विरही, खर्साङकी उषाकिरण सत्यदर्शी, तेजपुरका कालु सिंह रणपहेली, मिरिकका अजम प्रधान, डुवर्सका शंकर प्रधान र देवनारायण उपाध्याय तथा असमका नव सापकोटा एवं म्यानमारका लक्ष्मण न्यौपाने लगायतले कविता सुनाए । नेपालबाट भने बुँद राना, लक्ष्मी माली, डा. रामप्रसाद ज्ञवाली, टीका आत्रेय, नारायण पोखरेल, डीएम कन्दङ्वा, आभाष, सेतु सिंह, प्रकाश चापागार्इं, लक्ष्मी थापा, हीरा शर्मा, वासुदेव पाण्डे, रघुनाथ कडरिया, तुलसी शर्मा, रेखा सुवेदी लगायतले समृद्धि विषयमा कविता वाचन गरे ।

त्यस्तै, चित्रकारहरू नरेश सैंजु, केके कर्माचार्य, जीवन राजोपाध्याय, मुकेश श्रेष्ठ, गणेश बीसी, लालकाजी लामा, देवेन्द्र थुम्केली, केशवराज खनाल, सुषमा राजभण्डारी, चन्दा श्रेष्ठ, रमेश श्रेष्ठ, डिराम पाल्पाली लगायतले चित्र बनाए ।

सम्मिलनलाई निरन्तरता दिन आवश्यकताअनुसार पालैपालो विभिन्न क्षेत्रमा आयोजना गरी आपसी हार्दिकता अरू प्रगाढ बनाउने सम्मिलन संयोजक प्रा. राजेन्द्र सुवेदीले जनाए ।

प्रकाशित : असार ३२, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?