कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

“सजिलो रहेनछ हिमाल कोर्न”

काठमाडौँ — समुद्रका छालसँग उनी जति परिचित छन्, हिमाल, पहाड र डाँडापाखासित उति नै नौलो । श्रीलंकाका चित्रकार इशुरा सुरेनले नेपाललाई उतैबाट ‘गुगलमा देखेका थिए’ । प्रकृतिको यो अनुपम सौन्दर्यलाई उनले हालै प्रत्यक्ष अनुभूति गर्न पाए ।

“सजिलो रहेनछ हिमाल कोर्न”

केही दिनअघि नेपाल आइपुगेका उनी पोखरा पुगे, माछापुच्छ्रे हेरे अनि त्यही सेरोफेरोको दृश्यलाई क्यानभासमा उतारे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पोखरामा हालै गरेको सार्क राष्ट्रका कला कार्यशालामा उनले यस्तो अवसर पाएका हुन् ।

‘अद्भुत अवसर !’ राजधानीको बबरमहलस्थित आर्ट काउन्सिल ग्यालरीमा चित्र प्रदर्शनी क्रममा उनले भने, ‘तर, हिमाल र पहाड हेर्दा जति रमाइलो भयो, क्यानभासमा उतार्न भने निकै कठिन महसुस गरें । समुद्र बनाउनेले पहाड कोर्नु भनेको अर्कै रहेछ ।’ नेपालमा बसेर बनाएका पहाडी ल्यान्डस्केप आफ्ना लागि सिक्ने आधार बनेको उनले सुनाए ।

कार्यशालामा सहभागी सार्क राष्ट्रका चित्रकारका सिर्जना आर्ट काउन्सिलमा आइतबार र सोमबार प्रदर्शन गरिए । ‘फस्ट साउथ एसिया इन्टरनेसनल आर्ट क्याम्प’ मा सात मुलुकका ६४ कलाकार थिए ।

कार्यशालामा बनाइएका अधिकांश चित्र ल्यान्डस्केपमा आधारित थिए । नेपाली र विदेशी चित्रकारका सिर्जनाहरू दृष्टिकोण, शैली र भावका हिसाबले पनि फरक देखिन्थे । अधिकांश कलाकारले नेपालका हिमाली र पहाडी दृश्य उतार्न सजिलो नरहेको सुनाए । जसोतसो बनाइहाले पनि हिमाल र पहाडको सेपिङ र टेक्स्चर निकाल्न चुनौती हुने उनीहरूको अनुभव थियो ।

भुटानी चित्रकार तेन्जिन याङ्छेनले पोखरेली परिवेशलाई चक्रव्यूहको प्रतीकसहित देखाउने प्रयास गरेकी छन् । पहाडको हरियो र हिमालको सेतो रंग आँखामा उतारेर क्यानभासमा त्यही रंगको इफेक्ट दिएकी छन् । उनको विचारमा दृश्यचित्र हुबहु उतार्दा कलापक्ष मर्छ ।

अफगानिस्तानका चित्रकार डा. युसेफ अस्फीले दुई पहाडबीचको स्थान क्यानभासमा कैद गरेका छन् । थोप्लाथोप्ला आकृति जोड्दै बनाएको दृश्यचित्र आफूले सोचेजस्तो हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘उतारचढावको रिदम मिलेन भने पहाडको दृश्य चलायमन बन्दो रहेनछ ।’

चित्रकारहरूले आफूसँग ल्याएका पुराना चित्र पनि प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनीमा नेपाली चित्रकारहरूका भने पुरानै सिर्जना थिए । केके कर्माचार्य, एरिना ताम्राकार, एससी समुन, सुषमा राजभण्डारी, श्रीभक्त प्रजापती लगायतका चित्र पुरानै थिए । लालकाजी लामाको चित्र भने फरक थियो, मोनो शैलीमा बौद्ध स्तूप र वरिपरिको दृश्यलाई एउटै रंगमा उतारिएको थियो ।

प्रकाशित : श्रावण १, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?