कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानीरंगमा फरक समय

कला निश्चित कालखण्डको सामाजिक दस्तावेज पनि हो । हाम्रा थुप्रै इतिहास छुटेका छन्, जुन क्यानभासमा सजाउनै सकिएको छैन ।

काठमाडौँ — दुई दशकअघि राजधानी आउँदा डिराम पाल्पालीसित पेपर र रंग मात्रै थिए । यति बेला उनीसँग पानीरंगको ठूलो अनुभव मात्रै हैन, ठमेलमा आफ्नै व्यावसायिक ग्यालरी छ, पानीरंग चित्र मन पराउने ठूलो अनुरागीहरूको समूह छ ।

पानीरंगमा फरक समय

यति बेला भने उनी आफ्नो थातथलो पाल्पा तानसेन र आसपासका दृश्यलाई पानी रंगमा पस्किँदै बबरमहलस्थित आर्ट काउन्सिल ग्यालरी आइपुगेका छन् ।

‘पानी रंग कलाको एउटा अभिव्यक्ति माध्यम हो,’ एनबी गुरुङसित मिलेर ‘इन्साइट्स’ शिर्षकमा आफ्ना चित्रहरू प्रदर्शनीमा ल्याएका उनले भने, ‘मैले आजसम्म जे गरें, पानीरंगमार्फत समय, समाज र परिवेशको कथा भनें ।’

कलाकृतिमार्फत उनले समयको कसरी भनेका छन् भने पोखरा छाउन्जेल उनले उतैको परिवेश, प्रकृति र विषयवस्तु क्यान्भासमा उतार्थे । काठमाडौं आएपछि उनले यतैको कथा भने । विषयवस्तु टिपे । वसन्तपुर वरिपरिको परिदृश्य, असनका साँघुरा गल्लीहरू, मानिसको व्यस्त दैनिकी, भक्तपुर, पाटनदरबार लगायतका धार्मिकस्थलको आकर्षण उनको पानी रंगमा छचल्कियो । ती चित्रहरू यति बिके कि उनीसँग अहिले एउटा पनि छैन । ‘फेरि भूकम्पपछि त्यही वसन्तपुरको रूप फेरिएको छ,’ उनले भने, ‘अब कहाँ पाउनु ती मौलिक सभ्यता ?’ । यी चिन्ताले छोएपछि उनले जन्मथलोका चित्रहरू कोर्न थाले । ‘भावी पुस्ताका लागि पाल्पाको एतिहासिक र प्राकृतिक सौन्दर्य कैद गरिराख्न चाहेको हुँ,’ उनले भने ।

छेवै थिए अर्का पानीरंग चित्रकार एनबी गुरुङ । गुरुङलाई पाल्पालीले आफू सानैमा खेलीहुर्केको पोखरीको चित्र औंल्याउँदै भने, ‘यही पोखरीमा खेलेर हुर्किएँ । अब यस्तो ल्यान्डस्केप कहाँ पाउनु ? सम्झनामा बाहेक ।’

गुरुङले यसो भन्दै गर्दा पाल्पाली भावुक देखिए । ४८ वर्षे पाल्पालीले पोखरा छँदै वाइसी भुर्तेलसँग कलाकर्म सिकेका थिए । त्यसयता तिन दशक वित्यो, उनी यही रंगमा निरन्तर छन् ।

पानीरंगमा रमाउने पछिल्लो पुस्ताका हस्ती हुन् गुरुङ । पाल्पाली र उनको अभिव्यक्ति माध्यम एउटै भए पनि सोच्ने र पस्किने शैलीचाहिँ नितान्त मौलिक छ । पाल्पालीले प्राय: ल्यान्डस्केप बनाएका छन् भने गुरुङका चित्रमा वरिपरि देखेभोगेका र महसुस गरेका विषयवस्तुको प्रधानता भेछिन्छ । उनी प्राय: चित्रमा सामाजिक चित्रणलाई बढी प्राथमिकता दिन्छन् । ‘मेरो विचारमा कला निश्चित कालखण्डको सामाजिक दस्तावेज पनि हो,’ पोखराका ४२ वर्षे गुरुङले भने, ‘हाम्रा थुप्रै इतिहास छुटेका छन्, जुन क्यानभासमा सजाउनै सकिएको छैन ।’ उनका अनुसार जनयुद्धदेखि मुलुकमा आएको हरेक परिवर्तनलाई कलामार्फत संग्रह गरिराख्न सकिन्छ । गुरुङले यतातिर प्रयास पनि गरेका छन् ।

दुई दशकदेखि पानीरंगमा सिर्जना कोर्दै आएका एनबीले पानी रंगकै माध्यमबाट कोरिया, बंगलादेश, इन्डोनेसिया, चीन, थाइल्यान्डलगायत मुलुक पुग्ने अवसरसमेत पाएका छन् । ‘काम गर्ने कि विदेश जाने ?’ उनले भने, ‘फुर्सद पाउनै गाह्रो छ ।’ अमूर्त, मूर्त र पोट्रेट बनाउने एनबी पानीरंग प्राय: प्रयोगात्मक काम गर्छन् ।

इन्टरनेसनल वाटर कलर सोसाइटीले गरेको प्रदर्शनी साउन ७ सम्म रहनेछ ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?