कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आफ्नैलाई आउट !

मिथिला पेन्टिङका लागि त्यो दुर्भाग्यपूर्ण स्थिति हो । मिथिला कलामा पुस्तान्तरण भइरहेका बेला सरकारी तवरमै यसको संरक्षण हुनुपथ्र्यो, भएन ।– मिथिलेश्वरीदेवी कर्णचित्रकार
व्यावसायिक पेन्टर सर्जक हैनन्, अरूको स्केचमा रंग भर्ने कामदार मात्रै हुन् । तिनलाई यस्तो काममा लाउँदा कलाको मर्म मर्छ । कतिपय अवस्थामा अर्थ पनि अर्कै हुन जान्छ ।– सतीश साहप्रमुख, नारी विकास केन्द्र
अजित तिवारी

जनकपुर — रंगभूमि मैदान र जानकी मन्दिरका पर्खालहरूमा मिथिला चित्रहरू कोरिँदै छन् भन्ने थाहा पाउँदा सतीश साह उति बेला जति खुसी थिए, काम सकिएयता उति नै बेखुसी छन् । त्यसको कारण हो–त्यो काम सम्पन्न चित्रकार नभई व्यावसायिक पेन्टरबाट गराइनु ।

आफ्नैलाई आउट !

‘व्यावसायिक पेन्टर सर्जक हैनन्, उनीहरू कामदार मात्रै हुन्,’ मिथिला पेन्टिङको व्यावसायिक उत्पादन गरिरहेको नारी विकास केन्द्रका प्रमुख साहले भने, ‘अरूको स्केचमा रंग भर्ने काम मात्रै गर्ने हुन् । यस्तो हुँदा कलाको मर्म मर्छ । कतिपय अवस्थामा अर्थ पनि अर्कै हुन जान्छ ।’ मिथिला पेन्टिङको तीन दशकको अनुभव सँगालेका उनले दु:खित स्वरमा थपे, ‘आफ्नै आँगनको ठूलो अवसरबाट हामीलाई वञ्चित गरियो ।’

प्राय: जताततै फोहोरले ढाकिएको यो धार्मिक नगरीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणताका जनकपुर उपमहानगरपालिकाले दुलहीझैँ सिँगारेको थियो । प्रमुख बाटाघाटा सफाचट भएका थिए भने, पर्खालहरूले नयाँ रूप पाएका थिए । त्यसको दुई महिना बितिसके पनि त्यसबारेको चर्चा सेलाएको छैन । सौन्दर्यकरणको प्रयासको प्रशंसा हुँदै गरे पनि पर्खाल कलाकृतिको आलोचना भइरहेकै छ । सहर सिँगार्न भक्तपुर र पोखराबाट व्यावसायिक पेन्टर झिकाउनाले दशकौंदेखि मिथिला आर्टमा योगदान दिएकाहरू खिन्न भइरहेकै छन् ।

चित्रकार मिथिलेश्वरीदेवी कर्ण पनि यही कोटिमा पर्छिन् । मिथिला चित्रकलाको बजारीकरणमा योगदान पुर्‍याउनेमध्ये पहिलो पुस्ताकी मानिने कर्णले मोदी भ्रमणका बेला बाहिरिया कलाकार झिकाएर गरिएको पेन्टिङले पुस्तौंदेखि यसमा लागेका स्रष्टाहरूको अपमान भएको बताइन् । विसं २०४५ देखि मिथिला चित्र सिर्जना गर्दै आएकी जनकपुर–३ की कर्णले मिथिलाको मौलिकतामाथि अतिक्रमण भएको समेत आरोप लगाइन् । ‘मिथिला पेन्टिङका लागि त्यो दुर्भाग्यपूर्ण स्थिति हो,’ उनले भनिन्, ‘मिथिला कलामा पुस्तान्तरण भइरहेका बेला सरकारी तवरमै यसको संरक्षण हुनुपथ्र्यो, भएन ।’

जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साहले चाहिँ छोटो समयमा धेरै ठाउँमा मिथिला पेन्टिङ गर्नुपर्ने भएकाले बाहिरबाट कालिगड मगाएको दाबी गरे । ‘धेरै संख्यामा कालिगड आवश्यक परेकोले बाहिरबाट ल्याइएको हो,’ उनले भने ।

तर, नारी विकास केन्द्रका प्रमुख साह यसलाई मेयरको बहाना मात्रै मान्छन् । उनका अनुसार, केन्द्रमा मात्रै अहिले ४० महिला चित्रकार छन् । मिथिला पेन्टिङका पाँच वटा सेगमेन्टमा काम गरिरहेका ती चित्रकारहरू दक्ष र अनुभवी रहेको उनको ठम्याइ छ । ‘समय छोटै समय भए पनि हामी त्यो काम गर्न सक्थ्यौं,’ उनले भने, ‘तर, हामीमाथि विश्वास गरिएन । जनकपुरको रेल्वे, विमानस्थल, सरकारी कार्यालय र होटलमा मिथिला पेन्टिङ गरिसकेका हाम्रा चित्रकारहरूले मोदी भ्रमणका बेला पनि अवसर पाएको भए समयमै राम्रो काम गर्न सक्थे ।’

मिथिला पेन्टिङको व्यावसायिक उत्पादनसमेत गर्ने नारी विकास केन्द्रबाट वार्षिक १५ लाख रुपैयाँको पेन्टिङ अमेरिकामा मात्रै निर्यात हुन्छ । पेन्टिङ मात्र नभई मिथिला चित्र बनाइएका ऐना, लुगा, बालबालिकाका लागि हात्ती, उँट र बाख्रा जस्ता खेलौना, माटाका भाँडाको समेत अमेरिका लगायतमा उच्च माग रहेको साहले बताए । उनका अनुसार, रंगभूमि मैदान र विवाहमण्डपको पर्खालमा कोरिएका चित्र मिथिला पेन्टिङ जस्तो देखिए पनि फरक छन् । ‘चित्रकारले बनाएको र पेन्टरले बनाएको चित्रमा धेरै फरक देखिन्छ,’ उनले भने, ‘त्यो मिथिला पेन्टिङको बुट्टा र बनावट हामीले बनाउने पेन्टिङभन्दा धेरै फरक छ ।’

भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा जनकपुर भ्रमणमा आउनु साताअघि नै रंगभूमि मैदान र जानकी मन्दिरको बाहिरी पर्खालमा केशरिया रंग पोतेर मिथिला पेन्टिङ कँुदिएको थियो । भक्तपुर र पोखराका पेन्टरले आफूसँग रहेको बनिबनाउ स्केच हेरेर मिथिला पेन्टिङका विभिन्न चित्र बनाएका थिए ।

उपमहानगरपालिकाले त्यति बेला पर्खाल कलामा भएको खर्च अझै सार्वजनिक गरेको छैन ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?