३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मुस्ताङदेखि मेडिटेरियनसम्म

काठमाडौँ — युरोपेली देश र विशेषत: इटालीमा कुमारी सहिदका रूपमा सेन्ट अगाथालाई प्रत्येक फेबु्रअरी ५ मा स्मरण गर्ने चलन छ । ‘अगाधा अफ सिसिली’ का रूपमा परिचित उनको सन् २५१ मा कारागरभित्र निधन भएको थियो । स्तन क्यान्सर भएका र बलात्कारमा परेकाहरूले उनलाई आफ्नो संरक्षक (प्याट्रोन सेन्ट) का रूपमा आदर गर्छन् । उनको सम्झनामा फेब्रुअरीमा एकहप्ते महोत्वस नै आयोजना गरिन्छ ।

मुस्ताङदेखि मेडिटेरियनसम्म

महोत्सवमा सेन्ट अगाथाको मूर्तिलाई रथमा राखेर सहर परिक्रमा गराइन्छ । रातको समयमा मैनबत्ती र्‍याली हुन्छ । यो समारोह यति भव्य हुन्छ, त्यो हेर्न विभिन्न देशका पर्यटक सिसिलीको कटानिया सहर पुग्छन् । सोही महोत्सवको एउटा तस्बिर अहिले बबरमहलस्थित आर्ट काउन्सिलको ग्यालरीमा छ । त्यो हेर्दा काठमाडौं उपत्यकाकै कुनै देवीको रथयात्रा हो कि भन्ने झल्को मिल्छ । तर, रथ तानिरहेका गोरा अनुहारले भने भूगोल र समाजको फरक छुट्याउन मद्दत गर्छन् ।

‘पाटनतिर रथयात्रा गरिँदो रहेछ,’ उक्त तस्बिर खिचेकी ६२ वर्षे कन्सी माजुलो भन्छिन्, ‘त्यहाँ कुमारीको परिक्रमा गराएको देख्दा मलाई पनि हाम्रो सेन्ट अगाथा महोत्सव याद आएको थियो ।’ माजुलोले मंगलबारदेखि ‘बियोन्ड भिजिबल’ शीर्षकमा आफ्नो एकल तस्बिर प्रदर्शनी गरिरहेकी छन् । त्यहाँ इटाली र नेपालका विभिन्न भूभाग र समारोहमा खिचिएका तस्बिर राखिएका छन् । तिनमा क्याप्सन उल्लेख नगरेकी माजुलो भन्छिन्, ‘म प्राय: अमूर्त तस्बिर खिच्न मन पराउँछु । मान्छेले आफ्नै किसिमले बुझून् भन्ने चाहन्छु ।’


प्रदर्शनीमा रेस्टोरेसन, पिपल, एब्स्ट्राक्ट र इन्भिजिबल सिटिज विधामा तस्बिरको वर्गीकरण गरिएको छ । तिनमा उनले मुस्ताङको थुब्चेन गुम्बादेखि मेडिटेरियन समुद्रका छालसम्मलाई समावेश गरेकी छन् । पानी, ढुंगा, प्रकाश, ठाउँ र व्यक्ति विशेषलाई उनले आफ्नो विषयका रूपमा प्रस्तुत गरेकी छन् ।

कटानियाको जी लोम्बार्डो राडिस स्कुलमा अंग्रेजी साहित्य पढाउने माजुलो सोखिन फोटोग्राफर हुन् । एक दशकयता भने व्यावसायिक रूपमै फोटोग्राफीमा लागेको उनले बताइन् । दुई युवा सन्तानकी आमा उनी पाको उमेरमा पनि कहिले हिमाल त कहिले समुद्र, कहिले हिउँ त कहिले जनकपुरजस्तो गर्मी ठाउँमा पुगेर तस्बिर खिचिरहेकी हुन्छिन् । ‘म यो काममा यति रमाउँछु कि तस्बिर खिचिरहँदा उमेरको हेक्का हुँदैन,’ उनले भनिन्, ‘प्राय: एक्लै घुम्न निस्किन्छु । भनेजस्तो फोटो लिन सकेँ भने रोमाञ्चित हुन्छु ।’

सिसिलीमा फोटो प्रदर्शनी गर्दा यहाँको चित्र देखाउने पनि उनको सोच छ । उनको प्रदर्शनी साउन ११ सम्म चल्नेछ ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?