१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

टाटुमा पानीरंग

तर गहुँगोरो वा कालो छालामा वाटरकलर टाटु काम छैन । कलाकारिताको ज्ञान भएको आर्टिस्टसँग मात्र यो काम गराउनुपर्छ ।

काठमाडौँ — टाटु भन्नासाथ जीउमा खोपिएको कालो वा खैरो रङको डिजाइन दिमागमा आउँछ । तर, अब टाटुमा यी दुई रंगको प्रधानता कम हुन थालेको छ । पछिल्लो समय रंगीबिरंगी टाटुको फेसन छ । चित्रकलामा अमूर्त भाव व्यक्त गर्न पानीरंग (वाटरकलर) शैली अपनाइएझैं टाटुमा पनि वाटरकलर आर्ट लोकप्रिय बन्दै छ । यसमा थुप्रै रंगका मसीको प्रयोग हुन्छ ।

टाटुमा पानीरंग

चित्रकलाको यो विधा कागजमा जति सानदार देखिन्छ छालामा झनै आकर्षक देखिने विदेशी पत्रपत्रिकाले लेखेका छन् । वाटरकलर टाटुमार्फत विभिन्न रूपरंग, पशुपक्षी, आकारप्रकार, विचार वा भनाइहरू उतार्ने गरिएको छ । मण्डला, फूल र ज्यामितीय प्याटर्नहरू पनि चल्तीमा छन् ।

टाटु संशोधन
कतिपय नेपाली जातजातिमा टाटु खोप्ने पुरानै चलन छ । नेवार, थारू, तामाङ, गुरुङ, मगरजस्ता समुदायका पाका महिलाले हातपाखुरा, चिउँडो, अनुहार वा खुट्टातिर रंग भरेको देख्न सकिन्छ । संस्कृतिविद् रवीन्द्र ग्याबा तामाङका अनुसार, तामाङ समुदायका महिलामा चिउँडोमा कोठी बनाउने चलन थियो । अहिले यो आधुनिक जीवनशैलीका कारण लोप हुँदै गइरहेको छ । थारू संस्कृतिका जानकार एवं लेखक कृष्णराज सर्वहारी पनि थारू समुदायको टाटु संस्कृति विस्तारै आधुनिकतातिर ढल्किँदै गएको बताउँछन् ।

पछिल्लो समय सांस्कृतिक चलन पपुलर कल्चरमा रूपान्तरित भएको लामै भइसक्यो । टाटुका नयाँनयाँ शैली विकसित हुँदै छन् । यसमा वाटरकलर पछिल्लो ट्रेन्ड हो ।

आफूले पहिल्यै बनाएको टाटुको डिजाइन मन परेन भने के गर्ने ? यसलाई वाटरकलर इफेक्टमार्फत संशोधन वा सुधार गर्न सकिन्छ । कालो मसीमाथि अन्य रंग थपेर आफ्नो टाटुलाई सुन्दर बनाउने क्रम बढेको टाटु आर्टिस्टहरू बताउँछन् । कतिपय अवस्थामा वाटरकलरले टाटुको पूरै लुक्स फेरिदिने भएकाले यसप्रति टाटुप्रेमीको आकर्षण मौलाएको छ ।


फरक परिणाम
वाटरकलर टाटु खोपाउन चाहनेले कुशल आर्टिस्टको सल्लाह लिनु अनिवार्य रहेको बताइन्छ । यो विशेषत: गोरो छालामा मात्र राम्रो देखिने भारतीय टाटु आर्टिस्ट सनी भानुसालीले एउटा मिडियालाई बताएका छन् । साधारण टाटुभन्दा यो अलि जटिल हुने भएकाले पर्याप्त गृहकार्य गर्नुपर्ने उनको सुझाव छ । ‘गहुँगोरो वा कालो छालामा वाटरकलर टाटु काम छैन,’ उनले भनेका छन्, ‘कलाको ज्ञान भएकाबाट मात्र यो काम गराउनुपर्छ ।’

कुनै पनि टाटुलाई वाटरकलर इफेक्ट दिन मिल्ने भएकाले यो राम्रो विकल्पका रूपमा स्थापित हुँदै छ । तर, व्यक्तिको छालाअनुसार परिणाम फरक पर्ने बताइन्छ । स्किन टोन गाढा छ भने टाटु उज्यालो नदेखिने आर्टिस्टहरूको अनुभव छ । धेरै थरी रंग प्रयोग हुने वाटरकलर टाटु उमेरसँगै फिका हुँदै जानुलाई यसको डिसएडभान्टेज मानिन्छ । घामले प्रत्यक्ष नभेट्ने भागमा वाटरकलर टाटु खोप्नु बुद्धिमानी मानिन्छ ।

प्रकाशित : श्रावण ५, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?