२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जोगाउँदै कर्णालीका भाका

कृष्णप्रसाद गौतम

सुर्खेत — गलीमा लाउने गली ठुमरा
कानैमा लाउने सुनको भमरा
पाउमा लाउने पाउजु बजाउँदै शिरफूल लाएर सिउँदो सजाउँदै उडी गई पुतला नबोली गैगै मायाजालमा...

जोगाउँदै कर्णालीका भाका

६ वर्षअघि तिलक परियारले गाएको यो सिंगारु गीतले मध्यपश्चिम क्षेत्रमा राम्रै श्रोता पायो । उनको लोकप्रियता पनि बढ्यो । त्यसबेला सातामा चार वटासम्म कन्सर्ट भ्याउँथे । यसबाट हौसिएका उनले त्यसपछि ‘रिम्ना दोभान’ झयाउरे गीत र ‘तोरी हरियो’ टप्पा गीत ल्याए । यी दुई गीत पनि पश्चिम पहाडमा लोकप्रिय बने । अहिले उनको परिचय नै लोपोन्मुख भाका जोगाउने सर्जकको रूपमा स्थापित भएको छ ।

तिलकले अहिलेको कर्णाली प्रदेशमा लोप हुँदै गएका पुराना भाकालाई नयाँ शब्दमा ढालेर गीत गाउने गरेका छन् । उनले पैस्यारु गीत ‘बासमती चावल’ का साथै टप्पा भाका ‘क्या राम्री रैछौ’ र ‘सुन हजुर’ ल्याएका छन्, जुन सुर्खेत, दैलेख, रुकुम र सल्यानमा निकै रुचाइएका छन् । दुई वर्षअघि उनले गाएको यो टप्पा पनि पश्चिम क्षेत्रमा चल्यो :

सगालैको बारीमा तोरी हरियो
लाग्दैन बाँडुली माया मरियो...

लोकसंगीत आधुनिकीकरण भइरहेका बेला उनी पुराना लोकभाकाको संरक्षणमा किन लागे त ?
‘पश्चिम पहाडको पहिचान बोकेका टप्पा, सिंगारु, पैस्यारु लगायतका गीतलाई संरक्षण गर्न जरुरी छ,’ २९ वर्षे गायकले भने, ‘त्यसैले वर्षमा एउटा एल्बम लोपोन्मुख भाकाकै ल्याउने गरेको छु । पछिल्लो समय चाडपर्व र मेलामा बाहेक अन्त पुराना भाका सुन्न पाइँदैन ।’

‘दु:ख पाइछौ रे’ गीत हुँदै २०६५ मा लोकसंगीतमा प्रवेश गरेका तिलकले भावी सन्ततिका लागि समेत मौलिक पहिचानको जगेर्ना गर्नुपर्ने बताए । आफ्ना गीतले केही हदसम्म परम्परागत कला–संस्कृतिलाई जोगाउन मद्दत पुर्‍याएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण ११, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?