१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मनैदेखि रंगमञ्च

कान्तिपुर संवाददाता

काठमाडौँ — गलाभरि खादा, निधारमा टिका । मिठाई खाँदैमा रंगकर्मी सुनील पोखरेलको शुक्रबार बित्यो । आफ्ना चेलाचेलीबीच रंगकर्मका अनुभव साट्न पाउँदा उनी अरू दिनभन्दा विशेष खुसी थिए । गुरुपूर्णिमाका दिन उनका लागि दसैंभन्दा महत्त्वपूर्ण लाग्छ ।

मनैदेखि रंगमञ्च

अनामनगरस्थित ‘ज्ञ’ डिस्कभर योरसेल्फ थिएटर टिममा बिहानैदेखि उनी विद्यार्थीमाझ रमाए । उनले सबै विद्यार्थीलाई एउटा प्रश्न गरे– ‘तिमीहरूको विचारमा गुरु भनेको के हो ?’

उनको प्रश्नमा चेलाचेली केहीबेर गम्भीर भए । केहीले कानेखुसी गर्न थाले । यस्तैमा युवा रंगकर्मी केनिपा सिंहले छोटो उत्तर दिइन्, ‘जसले जसलाई जे सिकाउँछ त्यही नै गुरु हो ।’

केनिपालगायत थुप्रै युवा रंगकर्मीले यसरी नै सुनीलको प्रश्नको जवाफ दिने प्रयास गरे । खासमा उनले विद्यार्थीको मनोविज्ञान बुझ्न प्रश्न गरेका थिए । आफूले सिकाएका विद्यार्थीले आफ्नो प्रशंसा पटक्कै नगरिदिए हुन्थ्यो भन्ने उनको सदैव अपेक्षा हुन्छ । हरेक गुरुपूर्णिमाको दिन सुनीलले विद्यार्थीलाई ‘रंगमञ्च मनदेखि नै गर’ भन्दै एउटै आशीर्वचन दिँदै आएका छन् । उनी रंगमञ्चको मुलसूत्र नै ‘मनैदेखिको काम’ लाई मान्छन् ।

पाका रंगकर्मी हरिहर शर्मा समकालीन नेपाली रंगमञ्चका गुरुका पनि गुरु हुन् । उनलाई शुक्रबार बिहानैदेखि गुरुपूर्णिमाको शुभकामना दिनेको घुइँचो थियो । लाजिम्पाटस्थित आफ्नै घरमा चेलाचेली भेट्न आउने क्रम त थियो नै साथै फोनमा समेत आशीर्वाद माग्नेहरू उत्तिकै थिए । सुनील पोखरेल सधंैजसो गुरुपूर्णिमा मनाउन सबैभन्दा पहिला हरिहरकहाँ पुग्ने गर्थे ।

यो पटक कामको व्यवस्तताले उनले आफ्ना गुरुलाई फोनबाटै शुभकामना दिए । ‘पहिलो फोन नै सुनीलले गरेका थिए,’ हरिहरले भने, ‘आफ्ना चेलाले सम्झिँदा खुसीले गद्गद् हुन्छ ।’ वरिष्ठ रंगकर्मी शकुन्तला शर्मा र हरिहरको जोडीले हरेक वर्ष घरमा आएजति चेलाचेलीलाई टीका लगाएर आशीर्वचन दिने गरेका छन् । ‘आफूले सिकाएका विद्यार्थीले प्रगति गरेको देख्दा एक किसिमको स्वर्गीय आनन्द महसुस हुन्छ,’ शकुन्तलाले भनिन् । शुक्रबार बिहानै रंगकर्मी वीरेन्द्र हमाल, रंगकर्मी घिमिरे युवराज, सरोज अर्याललगायतले हरिहर र शकुन्तला भेट्न गए । हरिहरलाई सुर्खेतबाट बिहानै रंगकर्मी गणेश गौतमले पनि फोन गरे ।

रंगकर्मी सुनील पोखरेल अन्य कलाकारसँग ।

अर्का वरिष्ठ रंगकर्मी अशेष मल्ल बिहानै कालिकास्थानस्थित सर्वनाम थिएटर आइपुगे । एकैछिनमा उनको गला फूलमालाले भरियो । चेलाचेलीहरूले खासमा उनलाई झुक्काएर गुरुपूर्णिमा मनाउन बोलाएका थिए । गुरुपूर्णिमासम्बन्धी भने अशेषको भिन्न मत छ । उनका अनुसार माला र टीका लगाउँदैमा गुरुको पूजा भएको मानिँदैन । मुख्य कुरा ज्ञानको हस्तान्तरण हो ।

त्यही भएर उनी बाहिरी देखावटी तामझामबाट सदैव टाढा बस्न रुचाउँछन् । तर, यसपटक विद्यार्थीले झुक्काएर उनको गलामा माला पहिर्‍याइदिए । चेलाचेलीलाई टीका लगाइदिँदै अशेषले सबैलाई एउटै आशीर्वचन दिए, ‘कर्म गर फलको आशा नगर ।’ रंगमञ्चमा यो भनाइ बढी नै लागू हुन्छ । पछिल्लो पुस्ता साधना सुरु नगर्दै परिणामको आश गर्ने प्रवृत्तिका हुने हुँदा यो बुझाइ मनन गर्न आवश्यक रहेको उनको तर्क छ ।

सर्वनामकै राज शाहले अशेषलाई आफ्ना गुरु मान्छन् । उनले यो खुसी फेसबुकमा सार्वजनिक रूपमा सेलिब्रेट गरे । युवा रंगकर्मी सुदाम सिकेले गुरु अनुप बरालको भिडियो फेसबुकमा सेयर गरे । माला र टीकामा सजिएका अनुपको गुरुवचन भिडियोमा कैद गरिएको छ । जहाँ उनले नयाँपुस्ते रंगकर्मीलाई सपना देख्न आग्रह गरेका छन् । सपनालाई साकार पार्न साधना अनिवार्य हुने उनको तर्क छ ।

प्रकाशित : श्रावण १२, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?