१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सहरमा सारंगी

कान्तिपुर संवाददाता

काठमाडौँ — सारंगी र अरबाजोलाई लोक संगीतमा पोथी र भाले बाजा मानिन्छ । सारंगी भने प्राय: पुरुषले नै बजाउँदै आएका छन् । यसमा महिला वादक पनि थपिनुपर्छ भन्दै सारंगी गुरु मिनु वाइबाले शनिबार सांस्कृतिक संस्थान (नाचघर) मा आफ्नो प्रस्तुति दिइन् । उनले सारंगी रेटदै झलकमान गन्धर्वको ‘डाँफे चरी...’ को छोटो भाग पनि सुनाइन् ।

सहरमा सारंगी

गन्धर्व इतिहास र सामाजिक जीवन समेटेको उक्त गीत गाएपछि वाइबाले यसको महत्त्व बुझाउनु सान्दर्भिक ठानिन् । ‘यो निकै लामो गीत छ,’ उनले भनिन्, ‘गन्धर्व इतिहास र लोक साहित्य बुझ्न हामीले यो गीत सुन्नैपर्छ ।’ नाचघरमै शनिबार आयोजित राष्ट्रिय सारंगी उत्सव २०७५ मा उनीसहित झन्डै दुई दर्जन सारंगी वादकले प्रस्तुति दिएका थिए । तीमध्ये मिनु र वर्त गन्धर्वले महिला प्रतिनिधित्व जनाए । वर्तले आफ्नै शब्द रचनामा ‘हे मेरी आमा...’ सुनाएकी थिइन् ।

लोक स्रष्टा कल्याण शेचरनको ७२ औं जन्मस्मृतिका अवसरमा नाचघर र कल्याण स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा देशभरका सारंगी वादक भेला भएका थिए । उनीहरूले सारंगीमै लोक, शास्त्रीय, भजन र फयुजन गीत एवं धुन सुनाए । कोलम्बियाका एरिक बोकामको प्रस्तुति कार्यक्रमको आकर्षण बन्यो । सारंगी सिक्न कास्की बस्दै आएका उनले मनछुने गाएका थिए ।

कास्कीका गोविन्द गायकको ‘हे राम...’ बोलको लोक गीतमार्फत सांगीतिक माहोल सुरु गरिएको थियो । यसमा उनले मान्छेको जुनी अजम्बरी नहुने भाव व्यक्त गरेका थिए । रुपन्देहीका कर्णबहादुर गन्धर्वले ‘आयो आयो गाइने दाइ...’ बोलमा सारंगी वादकका हक/अधिकारका कुरा समेटे । उनको ‘इलेक्ट्रोनिक सारंगी’ पनि कार्यक्रममा चासको विषय बन्यो ।

कीर्तिपुरका हरिशरण नेपालीले सारंगीमा शास्त्रीय धुन मिसाउँदा दर्शक ताली बजाउन आतुर बने । मादल र पर्कसनमा उनले ‘साँघुरी बारी...’ गीतलाई फयुजन शैलीमा सुनाए । कास्कीकै सम्बरबहादुर गायक सारंगीलाई प्लेटफर्म दिएकोमा धन्यवाद भन्दै स्टेजमा भावुक बने । उनले धर्मराज थापाको ‘हाम्रो तेन्जिङ शेर्पा...’ गाउँदै सारंगी रेटिरहे ।

गन्धर्वहरूको बाहुल्यमा रोल्पाका झंकार बूढामगर पनि लोकभाका सुनाउन तम्सिए । गाउनुअघि उनले आफू मगर जातिको भए पनि सारंगी बजाएर गन्धर्व बनिसकेको बताए । ‘सुरुमा त मलाई जात फालिस् भने,’ उनी बोले, ‘तर, संगीतको जात हुँदैन जस्तो लाग्छ मलाई ।’ गन्धर्व समुदायको लोक सम्पदाका रूपमा रहँदै आएको सारंगी र यससम्बन्धी सीप विकासका लागि उनले नाचघरलाई थप पहल गर्न अनुरोध पनि गरे ।

म्याग्दीका हेमन्त रसाइलीले चाहिँ आफू अघिल्लो जन्ममा गन्धर्व हुनुपर्ने अडकल काटे । झलकमानको ‘हे बैरी...’ सुनाउनुअघि उनले भने, ‘पहिले गन्धर्व भएकाले अहिले गाउन/बजाउन जानेको हुँजस्तो लाग्छ ।’ समारोहका झापाका लालबहादुर गन्धर्वले ‘आकाशैमा चिल हो कि...’ सुनाइरहँदा तनहुँका धर्म गन्धर्वले सन्तोषी भजन प्रस्तुत गरे । कोलम्बियाका एरिकले सारंगी रेटा दर्शकलाई उत्तिकै कौतुहलताले बाँध्यो ।

दाङका खुमबहादुर केसी, हेमराज गन्धर्व, अर्घाखाँचीका ठाकुर गन्धर्व, बाग्लुङका कमल विश्वकर्मा, भक्तपुरका भरत नेपाली, सुर्खेतका तिलक गन्धर्व, कैलालीका दीपक गन्धर्व र दाङका बालाराम गन्धर्वले सांरगी उत्सवलाई गुञ्जयमान बनाए । समारोहमा हिमाली सांस्कृतिक परिवारका कलाकारले कल्याण शेचरनका गीतमा नृत्य देखाएर माहोल अझै रोमाञ्चित बनाउन भ्याए । संस्कृति मन्त्री रवीन्द्र अधिकारीले सारंगीजस्ता लोकबाजा र लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सरकारले ध्यान दिइरहेको दाबी गरे ।

‘सारंगी वादन नयाँ पुस्तामा हस्तान्तरण हुन जरुरी छ,’ उनले भने, ‘हामी संस्कृति प्रवद्र्धनमा क्रान्ति ल्याउन चाहन्छौं । यसका लागि संस्कृतिको पुस्तान्तरण आवश्यक छ ।’ उनले सारंगीलाई स्कुल/कलेजको पाठयक्रममा राख्न आवश्यक रहेको पनि बताए ।

प्रकाशित : श्रावण १३, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?