कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हायर क्लास पिकनिक

फूलमान वल

काठमाडौँ — रंगकर्मी आशान्त शर्माले आफ्नै लेखन/निर्देशनमा नाटक तयार पारेका छन्– ‘एलआईजी पिकनिक’ । एलआईजी अर्थात् लोअर इन्कम ग्रुप । निम्नवर्गीय सपना र उनीहरूमाथि परिस्थितिले थोपर्ने निराशा र असफलताका कथा बुनिएको नाटक केही दिनयता बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । नाटक हेरिसकेपछि दर्शकले सजिलै महसुस गर्छन्– ‘हायर क्लास प्रस्तुति रहेछ ।’

हायर क्लास पिकनिक

पछिल्लो समय नेपाली फिल्म र रंगमञ्चलाई दुइटा आरोप लाग्दै आएको छ– फिल्म नाटकजस्तो र नाटक चाहिँ फिल्म जस्तो । नाटककै प्यास मेटाउन कोही थिएटर जान चाहन्छ भने शर्माको ‘एलआईजी पिकनिक’ ले साँच्चिकै तिर्खा मेटाउनेछ ।

अनूदित विदेशी नाटकमा टाढाका परिवेश र चरित्रहरूका प्रेम, निराशा र कुण्ठा हेर्दै आएका दर्शकले आफ्नै वरिपरिका कथा पाएर राहत महसुस गर्नेछन् । आशान्तले यही नाटक मार्फत आफूलाई दरिलो नाटककारको रूपमा समेत उभ्याएका छन् । गएको भदौमा मात्रै उनले ऐतिहासिक विषयवस्तुमाथि ‘दरौंदीको पानी’ लेखन र निर्देशन गरेका थिए । राम्रो नाटकको अभावमा कहिले कथा त कहिले कवितालाई कथानकको रूपमा विस्तार गरेर रंगमञ्चीय प्रस्तुति दिन विवश युवा रंगकर्मीका लागि आशान्त पछिल्लो समय लोभलाग्दो उदाहरण बनेका छन् ।

नाटक जम्माजम्मी एउटा पिकनिकको घटना हो । तर, यही सानो घटनामार्फत् समकालीन नेपाली समाजको निम्नवर्गीय चित्रलाई मनछुने गरी उतारेका छन् आशान्तले । महानगरमा निम्नवर्गीय जीवन बिताइरहेकाको संख्या पक्कै पनि ठूलो छ । तर, यो कामकाजी वर्गको भावी पुस्ता के–कस्तो मनोदशाबाट गुज्रिरहेको छ ? न अभिभावकलाई बुझ्ने फुर्सद छ, न त राज्यसँग यिनीहरूको सिर्जनशील क्षमताको प्रयोग गर्ने योजना नै छ ।

नाटक हेर्दै गर्दा ती निम्नवर्गीय युवाहरूको याद आउँछ, जसलाई कुनै समय समृद्धिको सपना बाँड्दै बन्दुक बोकाइएको थियो । त्यो उमेर समूहका किशोरकिशोरी अहिले सरकारी स्कुल बंक गरिरहेका छन् र खाडी मुलुकतिर भास्सिइरहेका छन् । नाटकमा केही सीप नलागे खाडी पलायनको सपना बुन्नेसित पनि भेट हुन्छ । अभिभावकको वास्ता, माया, उचित चासो र सल्लाह नपाएर दिशाविहीन भएका तन्नेरी हाम्रै वरिपरि छन् । यो नाटक तिनै दिशाविहीन तन्नेरीहरूको कथा हो ।

राम्रो करिअर बनाउने, धेरै पैसा कमाउने, धनी हुने सपना सबैको हुन्छ । निम्न वर्गले झन् यस्तो सपना देख्ने नै भयो । नाटकले भने तीव्र सहरीकरण र उपभोक्तावादको चपेटामा पर्दै गएको अहिलेको समयको कथा भन्छ, जहाँ सपनालाई सफलतातिर मोड्न निम्न वर्गले थुप्रै अप्ठ्यारा र निराशासित जुध्नुपर्छ । थुप्रै चीज गुमाउनुपर्छ । जस्तो कि, नाटकमा धनी हुने सपना देखेकी लक्कीले कार चढ्ने ब्वाइफ्रेन्डबाटै यौन शोषणको फन्दामा पर्नुपर्छ । आफ्ना साथीभाइ र समाजमा हैसियत कायम राखिराख्न पिकनिकका लागि किनेको चिनीबाट पनि पैसा बचाउनुपर्छ । यस हिसाबले निम्न वर्गीय समाजका ससाना मनोविज्ञान पर्गेल्न नाटक सफल छ । प्रेम, रोमान्स, ईष्र्या जस्ता मानवीय तत्त्वको सही अन्तरघुलनले नाटकलाई गति दिन्छ ।

मुख्य पात्र लक्कीको कल्पना यथार्थमा झार्न सामान्य तरिकाबाट पनि आशान्तले म्याजिकल काम गरेका छन् । द्वन्द्वकालमा युवाको अवस्था बताउन डिसिप्लिन इन्चार्ज (डीआई) को रूपमा रामबाबु रेग्मीले भन्ने कथाको शैली सरल भए पनि मन छुन्छ । लामो समयपछि रंगमञ्च आएका रामबाबुले राम्रो काम गरेका छन् । मुख्य पात्र लक्कीको अभिनय उत्तिकै अब्बल छ । खासमा यो नाटक अभिनयले बढी तानेको छ । कलाकारले राम्रो काम गरेका छन् । रञ्जना कार्की, छिरिङ शेर्पा, रेनुका सिंह, सुरज तमु, लवली चन्द, दीपेन्द्र कार्की लगायतको अभिनय एकसे एक लाग्छ ।

संरचनाको हिसाबले नाटक मध्य र अन्त्यतिर केही अल्झिएको भान हुन्छ । चरित्रहरूको संघर्षको विकास, तनावको सिर्जना, केन्द्रीय द्वन्द्वको स्पष्टतामा केही धीमा लाग्छ । सीधा र सरलभन्दा बक्र र बहुरेखामा कथा अघि बढेका कारण यस्तो भएको हुन सक्छ । सबै चरित्रको पृष्ठभूमि र कथा जोड्न खोज्दा पनि बहकिएको छ ।

यति हुँदाहुदै दर्शक बाँधिराख्नुमा प्रत्यक्ष संगीतसित कलाकारको हाउभाउ र नृत्य संयोजनलाई पनि जस जान्छ । विवेक भट्टराईको प्रत्यक्ष संगीत संयोजन प्रसंशनीय छ । प्रकाश परिकल्पनामा सिर्जनशीलता देखाउने ठाउँ बाँकी राखेका छन् रामबाबु रेग्मीले । पिकनिकको माहोल सिर्जना गर्न प्रकाशबाट खासै काम भएको देखिँदैन । बुधबारसम्म मञ्चन गरिने नाटक समग्रमा अब्बल छ ।

प्रकाशित : श्रावण १४, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?