नाटक हेर्छ पोखरा

‘अहिलेसम्मको सक्रियतालाई प्रशंसा नै गर्नुपर्छ । अब भने गुणस्तरमा पनि ध्यान दिनुपर्ने बेला भएको छ ।’
दीपक परियार

लेखनाथ — साहित्यमा रुचि राख्ने पोखरा नदीपुरका उपेन्द्र पौडेल नाटकका पारखी हुन् । नाटक हेर्न काठमाडौंसम्म पुगेको अनुभव उनीसँग छ । गत वर्षको फागुनदेखि पोखरामै थिएटर सञ्चालनमा आएपछि उनलाई हाइसन्चो भएको छ ।

नाटक हेर्छ पोखरा

गैह्रापाटनमा रहेको गन्धर्व नाटक घरमा मञ्चन हुने जुनसुकै नाटक उनी छुटाउँदैनन् । विद्यालयका शिक्षक उनी आफ्ना विद्यार्थीलाई पनि बेलाबेलामा नाटक देखाउन लैजान्छन् ।

इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरका विद्यार्थी संगीत लामिछाने नियमित नाटक हेर्नेमध्येमा पर्छन् । बिदाको दिन पारेर उनी समूहमा नाटक हेर्न थिएटरसम्म पुग्छन् । पोखरा सिमलचौरका राजीव गिरीले पहिलोपल्ट पोखरामै नाटक हेरेका हुन् । पृथ्वीनारायण क्याम्पसका विद्यार्थी उनी साथीको माध्यमबाट नाटक हेर्न पुगे । थिएटरमा मञ्चन भएको पहिलो नाटक ‘सिरुमारानी’ एकपल्ट मात्रै हेरेर उनको चित्त बुझेन । अरू साथी पनि बटुलेर फेरि हेर्न पुगे । पौडेलले पनि चारपल्ट ‘सिरुमारानी’ हेरे ।

सरुभक्तको लेखन र राजन खतिवडाको निर्देशन रहेको नाटकले दर्शकको वाहवाही बटुल्यो । कुशल कलाकार माओत्से गुरुङ र प्रकाश घिमिरे लामो समयको अन्तरालमा ‘सिरुमारानी’ बाट रंगमञ्चमा फर्किए । नाटकअघि भएको अभिनय कार्यशालाले स्थानीय कलाकार जन्मायो । प्रयोगोन्मुख, लोक र बैद्धिक परम्परामा आधारित नाटक १६ दिन मञ्चन भयो । नाटकले पोखरा थिएटरलाई चिनायो ।

संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानले हालै राष्ट्रिय नाटक महोत्सव पोखरामै गर्‍यो । महोत्सवले दर्शकलाई थिएटरसम्म तान्न उत्तिकै भूमिका खेल्यो । ‘थाङ्ला’, ‘एन्टिगोनी’, ‘भर्जिन कथा’, ‘नारी शिक्षा’, ‘जयगान’, ‘सान्नानीको सन्ते राजा’, ‘एक चिहान’, ‘पानीघट्ट’, ‘चाँदीको घेरा’, ‘सखी’ लगायत नाटक महोत्सवमा मञ्चन भए । ‘सिरुमारानी’ बाट नाटकको स्वाद चाखेका पोखरेली दर्शकले महोत्सवमा नाटकलाई झन् नजिकबाट नियाल्ने मौका पाए ।

यसै वर्षको सुरुवातमा कलाकार अनिल सुब्बाले तेस्रोलिंगीको भूमिकामा अभिनय गरेको नाटक ‘जिउँदो आकाश’ मञ्चन भयो । दर्शकले उक्त नाटक फरक स्वादको माने । थिएटरले आफ्नै प्रस्तुतिमा जेठमा ‘बितेका कुरा’ मञ्चन गर्‍यो । यद्यपि नाटकले अपेक्षाकृत दर्शक बटुल्न सकेन । असारमा नाजिर हुसेनको निर्देशनमा ‘कुरूप हाँस’ मञ्चन भयो ।

उक्त नाटकले धेरथोर राहत दियो । साउन ७ बाट १७ सम्म खगेन्द्र लामिछानेको लेखन र निर्देशनमा ‘अटलबहादुरको आतंक’ नाटक मञ्चन भयो । पोखराबाटै रंगकर्मको सुरुवात गरेका उनले सात वर्षअघि काठमाडौंको गुरुकुलमा मञ्चन गरिएको नाटकलाई परिष्कृत गरेका थिए । नियमित थिएटर पुग्ने दर्शकले नाटकलाई रुचाए ।

र्‍यान्डम रिडर्स सोसाइटीका पूर्वअध्यक्षसमेत रहेका उपेन्द्र पौडेल पोखरा थिएटरको स्थापनासँगै नाटकमा सक्रियता बढेकोमा खुसी व्यक्त गर्छन् । ‘अहिलेसम्मको सक्रियतालाई प्रशंसा नै गर्नुपर्छ,’ उनी भन्छन्, ‘अब भने गुणस्तरमा पनि ध्यान दिनुपर्ने बेला भएको छ ।’ थिएटरमा मञ्चन भएका सबै नाटक नछुटाई हेरेका उनले बेलैमा गुणस्तरमा ध्यान नदिए दर्शकको आगमन कम हुनेतर्फ सचेत गराउँछन् ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीप पहिले नाटयकर्मी सीमित घेरामा बस्ने भए पनि अहिले हरेकमा हुटहुटी जागेको बताउँछन् । उनी भन्छन्, ‘पोखरा थिएटर खुलेसँगै नयाँ पिँढीमा अझै बढी नाटयचेत भरिएको छ ।’

तीन वर्षपछि गन्धर्व
लामो समयपछि पोखराले थिएटर पाएको हो । पोखराको गैह्रापाटनमा निर्मित थिएटर दुई सय सिट क्षमताको छ । ८० लाख रुपैयाँको लागतमा तयार भएको थिएटर वातानुकूलित छ । नाटयकर्मी परिवर्तन, दिलु गुरुङ र स्थानीय शंकरनाथ कोइरालाले थिएटरमा लगानी गरेका छन् । नाटक घरको अवधारणा विकास र त्यसलाई मूर्तरूप दिने अवस्थासम्म आइपुग्न झन्डै तीन वर्ष लागेको अनुभव पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीसँग छ ।

नाटकघरमा दर्शकको उपस्थिति सोचेभन्दा उत्साहजनक भएकोमा उनी खुसी छन् । एकपल्ट नाटक हेर्न आएको दर्शक दोहोरिने गरेको उनले सुनाए । ‘हामीले धेरै प्रचारप्रसार नगर्दा पनि हल खोजीखोजी दर्शक आउनुभएको छ,’ उनी भन्छन्, ‘दर्शकको अपेक्षा पनि त्यहीअनुरूपको छ ।’ पछिल्लो समय नाटकमा गुणस्तरीयता दिन नसक्नुमा विविध कारण उनी औंल्याउँछन् ।

‘रंगमञ्चको अभ्यासको कमी, स्थानीय स्तरबाट उत्पादित कलाकारलाई प्रयोग गर्नुपर्ने बाध्यता, आर्थिक अभावजस्ता कुराले प्रभाव पारिरहेको छ,’ उनी भन्छन्, ‘यद्यपि हामी नाटकलाई गुणस्तरीय बनाउन इमानदारीपूर्वक मिहिनेत गरिरहेका छौं ।’ थिएटरभन्दा बाहिरका समूहले नाटक प्रदर्शन गर्ने अपेक्षा लिएको भए पनि त्यसो हुन नसकेको उनले जनाए ।

संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त कलाकारलाई प्रोत्साहन गरे मात्रै नाटकको विकास हुने बताउँछन् । कलाकारलाई प्रोत्साहन गर्न थिएटरसम्म पुगेर नाटक हेर्नैपर्ने उनको धारणा छ । ‘पोखरामा राम्रो सुरुवात भएको छ,’ उनी भन्छन्, ‘यसलाई कति निरन्तरता दिन सक्छौं भन्ने कुराले नाटय संस्कृतिको विकास कति चाँडो या ढिलो हुन्छ भन्ने निर्धारण गर्छ ।’ उनले राम्रो नाटक मञ्चन गर्न सके दर्शकको अभाव नहुने देख्छन् । यथार्थवादी मात्रै भन्दा प्रयोगवादी र बौद्धिक नाटक प्रदर्शन गर्नुपर्नेमा उनको जोड छ । ‘राम्रा नाटक मञ्चन गर्न सके दर्शकको अभाव छैन,’ उनी भन्छन्, ‘पोखरामा चार वटासम्म थिएटर सञ्चालन हुने सम्भावना म देख्छु ।’

२०५५ सालमा पोखरा क्षेत्रीय नाटक महोत्सव भएदेखि सुस्ताएको पोखरेली रंगमञ्चलाई ब्युँतिन झन्डै १५ वर्ष लाग्यो । २०७० सालमा कृष्ण उदासीको लेखन र निर्देशनमा तयार भएको नाटक ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ मञ्चन भएपछि पुन: रंगमञ्चको माहोल बनेको हो । उनकै निर्देशनमा ‘एक रुपैयाँ’, ‘पुलिस र प्यास’ नाटक पनि पछिल्लो क्रममा मञ्चन भए ।

पोखराका नाटय समूहहरूले यसअघि पोखरा उद्योग वाणिज्य संघको सभाहल र पोखरा सभागृहलाई नाटक मञ्चनमा प्रयोग गर्दै आएका थिए । युथ क्रिएसन थिएटरले पनि पोखराको नागढुंगामा नाटक घर निर्माण गरिरहेको छ । थिएटरले रामलाल जोशीको ‘ऐना’ कथा संग्रहको ‘भर्जिन कथा’ नाटक मञ्चन गरेको थियो । पोखरा आर्ट स्कुल, ओथेलोलगायत नाटय समूह यतिखेर पोखरामा सक्रिय छन् ।

सेतो दरबारबाट सुरु
त्यसो त, पोखरामा पहिलो पटक १९९५ सालमा विधिवत् नाटय मञ्चन सुरु भएको मानिन्छ । बडाहाकिम भएर पोखरा बसेका धनशमशेर जंगबहादुर राणाले मोहरिया टोलमा रहेको आफ्नै सेतो दरबारमा ‘पोखराको चक्कर’ नाटक मञ्चन गराएका थिए । धनशमशेर आफैंले लेखेको उक्त नाटकको निर्देशन उनका छोरा हरिशमशेरले गरेका थिए ।

उक्त नाटकले पोखराको प्राकृतिक सौन्दर्य तथा जनजीवन झल्काउने उद्देश्य राखेको थियो । उक्त नाटकका दर्शक त्यस समयका साहुमहाजन, संगीतकार तथा संगीतप्रेमी र सरकारी कर्मचारी मात्रै थिए । त्यसपछि झन्डै १० वर्षसम्म सेतोदरबारमा धनशमशेरका नाटकहरू बर्सेनि प्रदर्शित भए ।

तिनीमध्ये वाणासुर, उषाहरण, मायामच्छेन्द्र, कृष्ण–सुदामा आदि नाटकहरू चर्चित थिए । संस्कृतिकर्मी तीर्थ श्रेष्ठका अनुसार साहु, व्यापारी र धनशमशेरका कृपापात्रहरू मात्र ती नाटकका दर्शक हुने गर्दथे । धनशमशेरद्वारा रचित नाटकहरू काठमाडौंका राणा दरबारमा प्रदर्शन गरिने उर्दू नाटकभन्दा फरक र धार्मिक भावनामा आधारित एवं शिक्षाप्रद थिए ।

१९९७ सालमा रामबहादुर श्रेष्ठ र पूर्णबहादुर कार्कीको संयुक्त निर्देशनमा ‘राजा हरिश्चन्द्र’ नाटकको सार्वजनिक मञ्चन गरे । उक्त नाटक नै पोखरामा सार्वजनिक रूपमा प्रदर्शित पहिलो नाटक भएको श्रेष्ठ बताउँछन् ।

उनीहरूकै सक्रियतामा १९९८ सालमा ‘नल दमयन्ती’, १९९९ सालमा ‘प्रेमविजय’ नाटकको सार्वजनिक प्रदर्शन भयो । २००७ सालमा राणा शासनविरुद्ध राजनीतिक क्रान्ति भयो । पोखरेली रंगमञ्चका लागि पनि यो महत्त्वपूर्ण वर्षमा परिणत भयो । यही साल रामबहादुर श्रेष्ठ र पूर्णबहादुर कार्कीको निर्देशनमा भीमनिधि तिवारीको ‘सहनशीला सुशीला’ नाटक मञ्चन गरियो । एक सुकादेखि दुई रुपैयाँसम्मको टिकट दर राखिएको उक्त नाटक नै पोखरामा पहिलोपल्ट टिकटमा प्रदर्शन गरिएको नाटक हो ।

२००७ मै ‘रतन’ र ‘प्रेम परिवर्तन’ नामका नाटक पनि मञ्चन गरिएको थियो । उक्त वर्ष बिन्ध्यवासिनी नाटक मण्डलीको गठन भएको थियो । जसले ज्वाला धोंजूको जग्गामा एउटा हलको निर्माण गरी आफ्ना नाटकको प्रदर्शन गर्दथ्यो । विसं २००९ बाट ०१२ सम्मका वर्षहरू नाटय मञ्चनका दृष्टिले विशेष स्मरणीय रहेनन् ।

विसं २०१३ सालमा चन्द्रकुमार पालिखे र स्थानीय राणाहरूको सक्रियतामा गणेश टोलमा ‘विनायक नाटयशाला’ स्थापना भयो । त्यहाँ ‘भूल’, ‘विषालु साँप’, ‘किस्मतको फैसला’ आदि नाटक मञ्चन भए । ‘किस्मतको फैसला’ नाटक १८ दिनसम्म मञ्चन भएर कीर्तिमान कायम गरेको थियो । तर स्थापनाको दुई वर्षपछि नै आर्थिक समस्याका कारण उक्त नाटयशाला पनि बन्द भयो ।

विसं २०२१ मा तत्कालीन नेसनल मल्टिपर्पोज हाई स्कुल (हाल राष्ट्रिय मावि) का प्रधानाध्यापक श्यामप्रसाद पन्तको निर्देशनमा ‘राजा हरिश्चन्द्र’ को मञ्चन भयो । त्यसपछि २०२२ मा पृथ्वीनारायण क्याम्पसमा तिलकमान गुभाजूद्वारा निर्देशित सेक्सपियरको ‘म्याक्वेथ’ प्रदर्शन गरिएको थियो ।

उक्त वर्ष चेतन कार्कीको लेखन तथा निर्देशनमा ‘आत्मा बेचेको छैन’ पनि प्रदर्शित भयो । पोखेरली नाटय इतिहासमा बिर्सन नसकिने संस्था डाँफे कला मन्दिर २०२६ मा क्याप्टेन मीनबहादुर गुरुङको सक्रियतामा स्थापित भयो । २०२८ सालतिर डाँफेद्वारा प्रस्तुत ‘नासो’ को मञ्चन भयो । उक्त नाटक राघवलाल वैद्यले निर्देशन गरेका थिए ।

२०३० सालपछि पोखरामा थुप्रै संस्थाहरू रंगकर्ममा संलग्न हुन पुगे । २०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवार, विसं २०३५ सालमा स्थापित युवा नाटक परिवार र २०४७ सालमा स्थापित प्रतिविम्ब नाटय समूह भने पोखरेली रंगकर्मको नवइतिहास निर्माता संस्था बन्न पुगे ।

बिन्ध्यवासिनी युवा क्लब, सूर्योदय युवा क्लब, हिमशिखर कला परिवार, ओम शिव कला केन्द्र, आदर्श नाटय समूह, हिमाली सांस्कृतिक परिवार, क्षितिज नाटय परिवार, दीर्घजीवी, नवप्रतिभा नाटय परिवार, धर्मसेवा परिवार, जमर्को साहित्य प्रतिष्ठान, सिर्जनशील साहित्य सदनजस्ता संस्था पोखरेली नाटय कर्ममा जोडिएका थिए ।

प्रकाशित : श्रावण १९, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?