नेपाली मञ्चमा डारियो फो

कान्तिपुर संवाददाता

काठमाडौँ — इटालियन साहित्यकार डारियो फोको ‘कान्ट पे ? वन्ट पे’ को नेपाली अनुवाद नाटक राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन सुरु भएको छ । शनिबारदेखि सुरु नाटकको नेपाली नाम ‘सकेको तिरौंला नत्र फिरीमा’ राखिएको छ ।

नेपाली मञ्चमा डारियो फो

सरकारले कर प्रणाली कडा बनाउँदै लाँदा श्रमजीवि वर्गमा त्यसको असर कस्तो हुन्छ भन्ने प्रस्टयाउन खोजेको छ नाटकले । डिपार्टमेन्ट स्टोरबाट चोरी गरी ल्याएको सामान लुकाउने चक्करमा पात्रले झूटमाथि झूट थप्दै जाँदाको रमाइलो तर गम्भीर कथावस्तुमा नाटक केन्द्रित छ । हास्य–व्यंग्यात्मक स्वादका कारण नाटक रमाइलो त लाग्छ, तर मसलादार अभिनयका कारण विषयवस्तुको गम्भीरता भने गौण भएको महसुस हुन्छ ।

अहिलेको राजनीतिक परिवेश, मूल्यवृद्धि र कर प्रणालीले सामान्य कमाउने वर्गलाई कस्तो असर पारिरहेको छ भन्ने चित्र भने नाटकले सबल रूपमा पस्केको छ । सन् १९७४ मा पहिलोपटक मिलानमा मञ्चन भएको डारियोको यो नाटक विभिन्न ३० भन्दा बढी देशमा मञ्चन भइसकेको छ ।

नेपाली समाजकै घटना र विषयवस्तुजस्तो महसुस भए पनि डारियोको नाटक मञ्चनमा ल्याइएको निर्देशक विकास जोशीले बताए । सरिता गिरी, विजय बराल, उमेश तामाङ, अनुप शर्मा र प्रमिला खनालको अभिनय रहेको नाटकमा भदौ १० गतेसम्म मञ्चन हुने बताइएको छ ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?