थ्रीडी आर्ट : भ्रम कि कला ?

कान्तिपुर संवाददाता

काठमाडौँ — लम्बाइ, चौडाइ र गहिराइ नाप्न नमिल्ने चीज के होला ? उत्तर हो— कला । तर, डिजिटल मिडियाको विकाससँगै कला पनि चारै कोणबाट ‘तौलिन’ मिल्ने भएको छ । डिजिटल वा थ्रीडी आर्टले कलामा नयाँ आयाम थपेको छ ।

थ्रीडी आर्ट : भ्रम कि कला ?

अमेरिकाको लस एन्जलस काउन्टी म्युजियम अफ आर्टमा हाल ‘थ्रीडी : डबल भिजन’ प्रदर्शन भइरहेको छ, जसले थ्रीडी आर्टसम्बन्धी बहस निम्त्याएको छ । परम्परावादीहरू थ्रीडी वा कम्प्युटर आर्टलाई चित्रकलाको शत्रु मान्छन् । भ्रमले सिर्जना मार्ने उनीहरूको तर्क छ । टु–डी फम्र्याटको क्यानभासलाई बढी सम्मान दिनुपर्नेमा उनीहरूको जोड छ । थ्रीडीलाई पपुलर आर्टमा गाभ्दै उनीहरूले यसलाई चित्रकलाभित्रको अनैतिक कार्यसमेत भन्न भ्याएका छन् । तर, डिजिटल आर्टिस्टहरू आफ्नो विधालाई अभिव्यक्तिको सशक्त माध्यम मान्छन् ।

वस्तुलाई वास्तविक आकार, प्रकार र मापनमा उतार्न सकिने भएकाले थ्रीडीको आफ्नै महत्त्व भएको बताइन्छ । यसभित्र पनि नेट आर्ट, इन्स्टलेसन आर्ट र भर्चुअल रियालिटी जस्ता नयाँ फर्म विकास भइरहेका छन् । नेपालमा थुप्रै युवायुवती डिजिटल आर्टमा आकर्षित भइरहेका छन् । लस एन्जलसको प्रदर्शनीमा भने सन् १९८० मा सुरु भएको थ्रीडी प्राविधिको विकासक्रम अवलोकन गर्न सकिने ‘न्युयोर्क टाइम्स’ मा उल्लेख छ ।

उन्नाइसौं शताब्दीका वैज्ञानिक, आर्टिस्ट, आविष्कारक वा डिजाइनरहरूले तयार पारेका थ्रीडी प्रविधि र कलालाई म्युजियममा राखिएको छ । सन् १८३९ मा क्यामेरा आविष्कार हुनुभन्दा अघि स्टेरियोस्कोप भन्ने यन्त्र निर्माण गरिएको थियो । थ्री डाइमेन्सनमा तस्बिर लिन सक्ने त्यो नै पहिलो प्रविधि मानिन्छ । त्यसले थ्रीडीमा तस्बिर खिच्नुभन्दा पनि थ्रीडीको भ्रम सिर्जना गर्ने बताइन्छ ।

म्युजियमकी क्युरेटर ब्रिट साल्भेसनले फोटोग्राफी, प्रिन्ट र चित्र भेला पारेर थ्रीडीको इतिहास र वर्तमान प्रदर्शन गरेकी छन् । यो प्रविधि विकासका लागि केकस्ता प्रयोगहरू गरिएका थिए भन्ने प्रदर्शनीमा देख्न सकिन्छ । पाँच खण्डमा विभाजित प्रर्दशनीमा थ्री–डी प्रविधिको सुरुआतदेखि अहिलेको मिक्स्ड–मिडिया प्रविधिमार्फत निर्मित प्रतिमाका नमुना देख्न/बुझ्न पाइन्छ ।

सन् १९६० को कला र प्रविधि अभियान हुँदै अहिलेको डिजिटल युगमा भर्चुअल रियालिटीको अवधारणा कसरी विस्तार भइरहेको छ भन्ने कुरा प्रदर्शनी अवलोनपश्चात् छर्लंग हुने स्थानीय सञ्चारमाध्यमको विश्लेषण छ । थ्रीडी आर्टको विकासमा विज्ञान र व्यवसायको भूमिका बुझाउने माध्यम समावेश गर्नुसँगै त्यहाँ तस्बिर, भिडियो र चित्रकलाको उचित समायोजन गरिएको छ ।

ओस्कार फिसचिंगरले बनाएको ज्यामितीय चित्र अनौठो लाग्छ । त्यसलाई गहिरिएर हेर्दा त्रिभुज र चक्रहरू अन्तरिक्षमा उडेको आभास हुन्छ । मेट्रोनम (स्टपवाच जस्तै यन्त्र) को टिकटिकमा झिमिक्क झिम्किने आँखाको तस्बिर फोटोग्राफर म्यान रेले कैद गरेका छन् । यो पनि प्रदर्शनीमा राखिएको छ । थोमस रफको फोटोग्राफिक प्रिन्टमा मंगल ग्रहको सतह देखाउन खोजिएको छ । यी थ्रीडी कलाकृतिले उन्नाइसौं शताब्दीका प्रयोग हुन् ।

फिल्ममेकर कने ज्याकोबले त्यो बेला नै थ्रीडीमा भिडियो लिएका छन् । एघार मिनेट लामो उक्त भिडियो प्रदर्शनीमा छ । थ्रीडी इमेज अहिले निकै चर्चित छन् । कतिपय फिल्म यही फम्र्याटमा बनाइन्छन् अनि दर्शक रंगीन चस्मा लगाएर हल छिरेका देखिन्छन् । सन् २०१० को ‘अवतार’ थ्रीडीमा बनेको थियो, जुन औधि चर्चित भयो । केटाकेटी र युवा वर्ग यो शैली धेरै रुचाउनेमा पर्ने भेराइटी म्यागाजिनले उल्लेख गरेको छ ।

प्रकाशित : श्रावण २९, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?