१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

युरोपमा चिनियाँ ओपेरा

काठमाडौँ — उत्तरी छिमेकी चीन वस्तु उत्पादन र बिक्रीमा मात्रै अग्रणी छैन । उसले आफ्नो सांस्कृतिक परिधि पनि विस्तार गर्न थालेको छ । हुन त चिनियाँ फिल्महरू यसअघि नै विश्वभर लोकप्रिय थिए, तर अब चिनियाँ नाटकको पनि बजार बढाउन थालिएको छ ।

युरोपमा चिनियाँ ओपेरा

बेइजिङ बस्दै आएका क्यानाडेली शास्त्रीय संगीत संयोजक रे आर्मस्ट्रङ चिनियाँ संस्कृतिबाट खुब प्रभावित छन् । उनले हालै चीनमा प्रदर्शन गरिएको ‘ड्रिम अफ द रेड च्याम्बर’ ओपेरालाई युरोप लग्ने भएका छन् । चिनियाँ उपन्यासमा आधारित यस्ता प्रदर्शन कलाहरू कसरी विदेशसम्म पुगिरहेका छन् भन्नेबारे पछिल्लो समय निकै समाचार देख्न पाइन्छ ।

आर्मस्ट्रङले चिनियाँ संस्कृतिको प्रचार गर्न यो माध्यम उचित हुने बताएका छन् । यसबारे राष्ट्रपति सी चिनफिङलाई जानकारी गराइसकेका उनले स्थानीय पत्रिकालाई भनेका छन्, ‘उहाँ संस्कृति र सफ्ट पावर सम्बन्धमा निकै कडा हुनुहुन्छ । गत अक्टोबरमा भएको कम्प्युनिस्ट पार्टीको १९ औं साधारणसभामा यसबारे बोल्नुभएको थियो । हामी चिनियाँ संस्कृति युरोप लग्न पहल गरिरहेका छौं ।’

बेइजिङस्थित नर्थ पिनगड आर्ट कम्युनिटीको कार्यालयमा बसेर आर्मस्ट्रङले आफ्ना कुरा चाइना डेलीलाई सुनाएका थिए । उनीछेउ बडेमानको आकर्षक टेबल थियो । सय वर्ष पुरानो चिनियाँ परम्परागत ढोकालाई टेबलको रूप दिएर सिसाले बलियो पारिएको थियो । ‘यो मैले काओबेडियन जिल्लाका काष्ठकर्मीलाई बनाउन लगाएको थिएँ,’ आर्मस्ट्रङले भने, ‘त्यहीँबाट हामी नाटकलाई चाहिने सरसामान पनि भेला पार्छौं ।’

यी ६७ वर्षे क्यानाडेलीले २००९ मा बेइजिङमा आर्मस्ट्रङ म्युजिक एन्ड आर्ट नामक संस्था खोलेका थिए । ‘ड्रिम अफ द रेड च्याम्बर’ लाई उनको सबैभन्दा सफल कार्यक्रम मानिएको छ । यसमा चिनियाँ मूलका अमेरिकी आर्टिस्ट ब्राइट सेङले संगीत र्सिजना गरेका थिए भने डेभिड हेनरी वाङको पटकथामा ओपेरा तयार पारिएको थियो । सेङ र वाङ अमेरिकामै रहेर चिनियाँ भावबाट प्रभावित सांस्कृतिक कला उत्पादन गरिरहेका हुन्छन् । ‘खासमा यो ओपेरा चिनियाँ बजारका लागि निर्माण भएकै थिएन,’ आर्मस्ट्रङले भनेका छन्, ‘तर, सान फ्रान्सिस्को ओपेराले सहयोग गर्ने भएपछि यतै देखाउनुपर्ने भयो ।’ अमेरिकी उत्पादन भए पनि चिनियाँ कलाकार समावेश गरिएको छ ।

कपितय विदेशी विज्ञका अनुसार चीनले फिल्मलाई पनि सफ्ट पावरका रूपमा प्रयोग गरिरहेको छ । स्थानीय भाषा र संस्कृति त्याग्ने हो भने चिनियाँ फिल्मले हलिउडलाई पाखा लगाउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका स्टान्ली रोजेनले बताएका छन् । ‘फाइन्डिङ मिस्टर राइट’, ‘स्लिपलेस इन सियाटल’, ‘टाइनी टाइम्स’ जस्ता फिल्म चीन छोड्न सफल भएका थिए ।

पपुलर कल्चर मात्र नभएर मौलिक चिनियाँ संस्कृतिको प्रचारमा सी सरकार बढी सचेत भएको अनुमान गरिएको छ । आफूले तयार पारेको ओपेराले चीन र पश्चिमेली अर्केस्ट्राबीचको दूरी घटाउन मद्दत गर्ने भएकाले सरकार लचिलो भएको आर्मस्ट्रङको बुझाइ छ । ‘जापानी कलाकारले झैं चिनियाँले पनि पश्चिमा संगीतकर्मीसँगको ग्याप मेटाउन सक्छन्,’ उनले भने, ‘यसलाई युरोप पुर्‍याउनु मेरो सपना हो ।’

चीनमा संगीतकर्मीको खडेरी पर्न थालेको बताइन्छ । त्यहाँका युवायुवतीहरू अमेरिका, बेलायत र जर्मनी गएर संगीत अभ्यास गर्ने गर्छन् । यसले पनि परोक्ष रूपमा चिनियाँ संस्कार प्रचारमा सहयोग गरेकै छ ।

- एजेन्सी

प्रकाशित : भाद्र १, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?