जसले चित्रमा भित्र्याए आधुनिकता

ललितपुर — १९६० को दशकलाई आधुनिक कलाको सुनौलो समय मानिन्छ । यस धारमा वरिष्ठ चित्रकार लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्गदेखि रामानन्द जोशी, वत्सगोपाल वैद्य, गेहेन्द्रमान अमात्य, इन्द्र प्रधान, कृष्ण मानन्धर, मनुजबाबु मिश्र, शशीविक्रम शाह, शशीकला तिवारी, केके कर्माचार्य लगायतको ठूलो योगदान छ ।

जसले चित्रमा भित्र्याए आधुनिकता

यिनै वरिष्ठ चित्रकारले उति बेला सिर्जना गरेका चित्रहरू यति बेला ग्यालरीमा देख्न सकिन्छ । पुलचोकस्थित विकल्प आर्ट सेन्टर (एबीसी) ग्यालरीमा आधुनिक चित्रकला सिर्जना गर्ने तिनै चित्रकारका चित्र प्रदर्शनीमा राखिएका छन् । ग्यालरीका प्रमुख एवं चित्रकार सरोज महतोले व्यापारिक उद्देश्यले भन्दा पनि आधुनिक कलाको सुरुवात गर्ने वरिष्ठ स्रष्टाको सम्मानस्वरूप प्रदर्शनी गरेको बताए ।

यद्यपि केही चित्र बिक्रीमा नभए पनि २ लाखदेखि १० लाख रुपैयाँ मूल्य पर्ने चित्र ग्यालरीमा छन् । उनका अनुसार हालै दिवंगत चित्रकार मनुजबाबुको चित्र भने बिक्रीमा छैनन् ।

मनुजबाबु बित्नुभन्दा केही दिनअघि सरोजले बौद्ध महांकालस्थित हर्मिताजमै पुगेर चित्र प्रदर्शनीका लागि ल्याएका थिए । ‘मनुज सरका पुराना चित्र कमै भेटिए,’ उनले भने, ‘बनाउँदै बेच्दै गर्ने हँुदा उहाँका संकलन थोरै भएको पाएँ ।’ त्यसैले पनि मनुजबाबुका बाँकी सिर्जना पारिवारिक आग्रहमा ‘नट फर सेल’ मा राखिएको उनले सुनाए ।

ग्यालरीमा मनुजबाबुले सन् ६० को दशकमा बनाएका केही चित्र छन्, जुन बेग्लै स्वादका छन् । बालबालिका, महिला, पुरुष र त्रिशूल बोकेका व्यक्तिको फिगर क्यानभासमा नियाल्न सकिन्छ ।

शशीविक्रमले धेरै पहिले सिर्जना गरेका स्केचहरू ‘गोल्डन पिस’ का रूपमा देख्न पाइन्छ । साधु लगायतका पोट्रेट स्केच गरिएका छन् । संगै उनले बनाउने ‘सिग्नेचर स्टाइल’ घोडाका चित्र पनि ग्यालरीमा छन् ।

१९६० दशकपहिले नेपाली कलाकार राजाले जेजस्तो बनाउन भन्छन्, त्यही बनाउने गर्थे । जब राजा महेन्द्र विदेश भ्रमण पुगे, त्यहाँ प्रशस्तै आधुनिक चित्र बनाएको देखे । यसैबाट प्रभावित भई उनले नेपाली कलाकारलाई पनि आधुनिक चित्र बनाउने उत्प्रेरणा दिन थालेको सरोजले बताए । उनलाई ६० का दशकका चित्रमा ऐतिहासिक महत्त्व झल्केको लाग्छ ।

त्यस्तै, शैलीका हिसाबले पनि यी चित्रहरू विशेष छन् । वत्सगोपालले तान्त्रिक मन्त्रमा आधारित चित्र बनाउँछन्, जहाँ क्यानभासमै टेक्स्चर उठाएर मण्डला, तान्त्रिक चिह्न कोरेका छन् । आधुनिकतामा पनि मौलिकता मिसिएका चित्रहरू उनका विशेषता हुन् ।

शशिकलाका चित्रमा नारी वेदना पाइँदैन । घुमरीभित्र नाच्दै गरेकी युवतीको भाव मन छुने छ । १० लाख रुपैयाँ मूल्य राखिएको उक्त चित्रले सामान्य वस्तुभित्र असामान्य सौन्दर्य झल्केको महसुस गराउँछ ।

इन्द्रको सिर्जना पूरै अमूर्त छ । कृष्ण भने ल्यान्डस्केपमा अमूर्त प्रभाव देखाउन सिपालु छन् । गेहेन्द्रमानको कलामा आकृतिको बहाव पाइन्छ । प्राकृतिक दृश्यबाट प्रभावित रामानन्दको चित्र ओम मन्त्रमा आधारित छ ।

दुई सातासम्म चल्ने प्रदर्शनीमा वरिष्ठ कलाकारका १८ चित्र छन् ।

प्रकाशित : भाद्र २, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?