१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सम्झना वीर योद्धाहरूको

मधु शाही

काठमाडौँ — गुगलमा ‘वंशु गुरुङ’ नाम टाइप गर्दा थुप्रै वंशु भेटिन्छन् । त्यही लहरमा ब्ल्याक एन्ड हाइट पोट्रेटमा एउटा चित्र पनि देखिन्छ । ठिटौले अनुहारमा ।

सम्झना वीर योद्धाहरूको

वंशु गुरुङ को हुन् ? इतिहासमा चासो राख्नेलाई पक्कै थाहा छ । सिन्धुलीगढीमा नेपाल–अंग्रेज युद्ध हुँदा उनै वंशु गुरुङले नेतृत्व गरेका थिए । उनी बहादुर योद्धा थिए । चित्रकार आलोक गुरुङले वंशु गुरुङको अनुहार देख्ने कुरै भएन । वंशु गुरुङ भनेर जति चित्र देखेका थिए, तिनमा गुरुङपन भेटेनन् । त्यसैले उनी आफैँ अघि सरे । हातमा खुकुरी, जीउमा दौरा सुरुवाल र घलेक, शिरमा फेटा । अझ भनौं, आलोकले गुरुङ समुदायको ठिटाको पहिचान वंशुको छ्यासमिसे दारीमा दिएका छन् ।

‘गुरुङको दारी औंलामा गन्ने हुन्छ,’ चित्र नियाल्दै गरेका कला समीक्षक मुकेश मल्लले भने, ‘सायद, यस्तै थिए वंशु ।’

बबरमहलस्थित आर्ट काउन्सिलमा नेपाल एकीकरणका बेला योगदान दिएका योद्धाहरू र त्यस बेलाको समयलाई स्मरण गराउने हेतुले चित्रकला प्रदर्शनी गरिएको छ । ‘टिस्टा–काँगडा नेपाल एकीकरण : वीर योद्धाहरूको सम्झना र सम्मान’ शीर्षक प्रदर्शनीमा ५२ कलाकारका सिर्जना प्रदर्शनीमा छन् । नेपाल एकीकरण गर्दा पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्म भएको युद्ध र त्यसमा संलग्न योद्धाका चित्रहरू राखिएका छन् । त्यस्तै, भक्ति थापा, विराज थापा मगर लगायतका बहादुर योद्धाका फिगर क्यानसभामा देख्न सकिन्छ ।

नेपाल मण्डल पर्यटन नगरीद्वारा आयोजित प्रदर्शनीको उद्देश्य भनेकै बिर्सन लागेको इतिहास सम्झाउनु हो । व्यवस्थापक संयोजक एवं चित्रकार बीआर बलामी श्रेष्ठले छ महिनादेखि कलाकारलाई इतिहास बुझाउँदै चित्र बनाउन लगाएको बताए । उनका अनुसार, नेपाल एकीकरणका बेला भएका घटना, योगदान र गुमेका भूभागको समेत झल्को चित्रहरूमा दिइएको छ ।

बीआरले आएजतिका दर्शकलाई चित्रपिच्छे इतिहास सुनाउँदै थिए । उनका अनुसार पृथ्वीनारायण शाहले सुरुवात गरेको नेपालको एकीकरणमा मेचीसम्म पुर्‍याए । बहादुर शाहले टिस्टासम्म पुर्‍याए । राजेन्द्रलक्ष्मी शाह हुँदै अमरसिंह थापासम्मको बलले नेपालको सीमा काँगडासम्म पुग्यो । सिन्धुली र जितगढीमा अंग्रेजसँगको युद्धमा समेत सफलता मिल्यो । देउथल र नालापानीमा नेपाली जति राम्रो लडे पनि हार्नुपरेको थियो । अनि अनेक प्रपञ्चपछि भएको सन्धिमा नेपालले अंग्रेजलाई धेरै भूभाग बुझाउनुपर्‍यो । नेपाल मेची र महाकालीका बीच खुम्चियो ।

प्रदर्शनीमा नेपाल एकीकरणको घटना मात्रै नभई त्यो बेलाको मनोभाव, सोच र समयको समेत चित्रण गरेको देख्न सकिन्छ । ज्योतिप्रकाश विकको चित्रले नेपाल एकीकरणपछिको भविष्यको संकेत गरेको छ । पृथ्वीनारायणको नेपाल एकीकरण सम्बन्धी सोचलाई उनले अर्धमूर्त शैलीमा उतारेका छन् ।

नालापानी लडाइँमा होमिएकाहरूको बहादुरी उतारिएका चित्रहरूमा नारीको योगदानलाई अझ कलात्मक ढंगले क्यानभासमा उतारेका छन्, सुदर्शनविक्रम राणाले । युद्धमैदानबीच नेपालको झन्डा लिएर युद्ध गरिरहेकी नारीको आकृतिमार्फत उनले त्यसलाई उजागर गरेका छन् । अधिकांश चित्रहरूमा हुबहु इतिहासको वर्णनभन्दा पनि प्रभाववादी हिसाबले बुझाउन खोजिएको छ ।

‘फोटो र चित्रकलाबीचको फरक यही हो,’ कला समीक्षक मुकेश मल्लले भने, ‘कलाकारले चित्र मात्रै कोर्दैन, त्यो समयभित्र लुकेको यथार्थ रंगमार्फत प्रस्तुत गर्छ ।’

भदौ ७ सम्म चल्ने प्रदर्शनीमा २० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्मका चित्र छन् ।

प्रकाशित : भाद्र ४, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?