कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नाको हेला, विदेशीको चासो

‘सबैलाई फाइदाको काम मात्रै गर्नु छ अहिले । समयको फाइदा, पैसाको फाइदा खोजे जसले पनि । पुरानो प्रविधि र मौलिकताको कसैलाई पर्वाह छैन, सीपको कदर पनि छैन । अहिले त समय नै लोभी भयो ।’
सुनीता साखकर्मी

भक्तपुर — अघिल्तिर फनफनी घुमिरहेको चक्रबाट उनले माटाको सानो पाला बनाइन् । अनि मुसुक्क हाँसिन् । बल्ल उनको चिनियाँ परिचय खुल्यो । भक्तपुरको पोट्री पार्कमा केही दिनयता २६ वर्षीया लिली माटाका भाँडा बनाउने कला सिक्दै छिन् ।

आफ्नाको हेला, विदेशीको चासो

भक्तपुर मुलुककै सानो जिल्ला । तर भूगोलका हिसाबले मात्रै । ऐतिहासिक सम्पदा र संस्कृतिका मामिलामा यो जिल्ला विशाल छ । कला र संस्कृतिको यो खुला संग्रहालयमा पर्यटकहरू मक्ख परेर घुमिरहेका बेला लिली भने माटो मुछिरहेकी हुन्छिन् ।

माटाका भाँडाका लागि अन्तर्राष्ट्रिय रूपमै चर्चित यो थलोमा चीनबाट तीन साताअघि मात्रै आएकी लिलीलाई सृजन प्रजापतीले सिकाइरहेका छन् । उनीसँगै आएका सहपाठी भक्तपुरका सम्पदा नियाल्नैमा व्यस्त हुन्छन्, लिलीलाई भने यहाँको कला जसरी पनि सिक्नु छ ।

‘यस पटक माटोका भाँडा बनाउनै सिक्न आएको हुँ,’ चर्चित चिनियाँ फिल्म निर्देशक झाङ यिमुको गृह–प्रान्त सान्सीबाट आएकी लिलीले भनिन् ।

लिलीको यो तेस्रो नेपाल भ्रमण हो । अघिल्ला दुई भ्रमणमा उनी थाङका र पौभा कलाको फ्यान भइन् । तर ती दुवै बनाउन कठिन लागेपछि उनी माटोका कलातिर तानिइन् । ‘थाङका र पौभाभन्दा यो सिक्न सजिलो भइरहेको छ,’ उनले भनिन्, ‘नेपालबाटै चीन पुगेका एकजना साथीमार्फत् यहाँ सिक्ने व्यवस्था मिलेको हो ।’

हाई स्कुल सकेर काममा लाग्न थालेकी उनी फुर्सद हुनेबित्तिकै नेपाल नै आउने गर्छिन् । यस पटक भने उनी विशेष सीप सिक्ने उद्देश्यले आएकी हुन् । चीनमा सेरामिक्सका भाँडा बनाइन्छन्, तर उनी बस्ने वरपर बनाइँदैन । ‘घुम्न पनि पाइने, सिक्न पनि पाइने,’ उनले खुसी व्यक्त गरिन् ।

लिलीलाई सिकाइरहेका २४ वर्षीय सृजनले चार वर्षदेखि माटाको कलात्मक भाडाहरू बिक्रीवितरण गर्नुका साथै सिक्न चाहनेका लागि वर्कसप समेत सञ्चालन गर्दै आइरहेका छन् । यसमा उनलाई परिवारको पनि साथ छ । तीनै जना दाजुभाइ माटोकै काम गर्छन् ।

सत्यलक्ष्मी प्रजापती

अब माटो छैन
सृजन दिनमा १ हजार पाला बनाउँछन् । बुवाले गरेको देख्दै हुर्किएका उनलाई यो पेसा सानैदेखि मन पथ्र्यो । ‘पेसा राम्रो छ, कमाइ पनि हुन्छ,’ उनले भने, ‘तर अहिले माटो पाउन छाडेपछि धेरैले छोड्दै छन् ।’ उनका अनुसार कुनै समय भक्तपुरका ५० भन्दा बढी परिवारले यो पेसा गर्थे, अहिले एक दर्जन परिवारमा झरेको छ ।

उनी सानो छँदा बुवाको पछि लागेर सूर्यविनायक तलतिरको खापीमा पुग्थे । टोलै मिलेर माटो खन्ने काम हुन्थ्यो । ‘अघिल्लो दिन खन्ने, भोलिपल्ट सित्तैमा टयाक्टरमा हालेर ल्याउने गर्थे सबैले,’ उनले भने, ‘तर पछि प्लटिङ बढेपछि भने स्थानीयले माटो ल्याउन दिएनन् । पछि ललितपुरको हरिसिद्धिबाट ल्याउन थालियो ।’ हरिसिद्धिबाट टिपरको पाँच/छ हजार तिरेर माटो ल्याउने गरेकोमा चार वर्ष अघिदेखि त्यहाँबाट पनि माटो ल्याउन बन्द गरिएको छ । भाँडा बनाउन माटो लस्सादार हुनुपर्ने भएकाले जहाँ पायो त्यहाँकोले काम गर्दैन ।

हुन त सृजनको पसलमा सेरामिक्सका भाँडाहरू पनि देखिन्छन, तर धेरैले लोकल माटाकै भाँडा खोज्छन् । ‘सेरामिक्स पनि माटाकै विधि हो, चिल्लो बनाउने प्रोसेस मात्रै फरक,’ उनले भने, ‘सेरामिक्सका भाँडा बनाउन माटोमा सेरामिक ग्लेज हालेर चिप्लो बनाउनुपर्छ । त्यति हो ।’

कृष्णलक्ष्मी प्रजापती

‘चाखा’ को सट्टा इलेक्ट्रिक ह्वील
संस्कृतिविद् ओम धौभडेलका अनुसार संस्कृत भाषाको कुम्भकारबाट नै पहाडमा माटोको काम गर्नेहरूलाई कुमाले, भक्तपुर नगरकालाई कुम्भ, थिमिकालाई कुम्भाया र तराईकालाई कुम्भर भन्ने गरिएको हो । भक्तपुरको पाँचतले मन्दिरको माथिल्लो टोलका प्रजापतीलाई सिज्या र तल्लो टोलकालाई हाकुज्या भन्ने गरिन्छ ।

सिज्याहरूले खैरो माटो प्रयोग गरेर दही जमाउने कतारो र फेसनेबल खालका सामग्री बनाउने गर्छन् भने हाकुज्याहरूले कालो लस्सादार माटोबाट खुत्रुके, नानी, घैंटोलगायत भाँडा बनाउने गर्छन् । पहिले काठको ठूलो चाखा घुमाएर भाँडा बनाइन्थ्यो, अहिले त्यो भक्तपुरमै नगण्य मात्रामा पाइन्छ । नयाँ पुस्तालाई चाखा घुमाएर भाँडा बनाउन आउँदैन । इलेक्ट्रिक ह्वील प्रचलनमा आएको छ ।

४१ वर्षीय मोहन प्रजापतीका अनुसार अहिले माटोलाई प्लग मेसिनमा राखेर पेल्ने गरिन्छ । त्यसपछि माटोमा भएका ढुंगाहरूलाई हातैले मुछेर निकालिन्छ । यो क्रम दुई घण्टा जति चलेपछि उनीहरू इलेक्ट्रिक ह्वीलको प्रयोग गर्छन् । अहिले धेरैजसोले इलेक्ट्रिक ह्वील नै प्रयोग गर्छन् । ‘चाखा गह्रौँ हुन्छ, मिहिनेत पनि धेरै पर्छ । बेलाबेलामा घुमाइरहनुपर्दा गाह्रो हुन्छ,’ उनले भने, ‘बसीबसी इलेक्ट्रिक ह्वीलमा हजारौं सामान छिट्टै बनाउन सकिन्छ ।’

चाखा चलाएरै माटाका भाँडा बनाएका ८० वर्षीय रामगोविन्द प्रजापतीका अनुसार पहिलेको तुलनामा अहिले निकै कम भाँडाहरू बन्ने गरेका छन् । ‘सबैलाई फाइदाको काम मात्रै गर्नु छ अहिले । समयको फाइदा, पैसाको फाइदा खोजे जसले पनि । पुरानो प्रविधि र मौलिकताको कसैलाई पर्वाह छैन, सीपको कदर पनि छैन,’ उनले नेपालभाषामै गुनासो गरे, ‘अहिले त समय नै लोभी भयो ।’

भएन सीप हस्तान्तरण
पुरुषहरू माटोको भाँडो बनाउने र महिलाहरू चाहिँ त्यसको पिँधमा बाक्लो भयो भने बालुवा हालेर प्वेउ गर्ने, रंगाउने र सुकाउने काम गर्छन् । ५८ वर्षीया सत्यलक्ष्मी प्रजापती बुझ्ने उमेरको भएदेखि यस्तै काम गर्दै आइरहेकी छन् । उनका पति अहिले ७५ वर्षका भए ।

पतिले काम गर्न सकुन्जेल धेरै थरीका भाँडा बनाउँथे । त्यसैमा सत्यलक्ष्मीले मिलाउने र सुकाउने गर्थिन् । तर पतिले काम गर्न नसक्ने भएपछि उनको छोराले खुत्रुकेबाहेक अरू बनाउन जानेनन् । अहिले सत्यलक्ष्मी दिनहुँ खुत्रुके आफ्नो मेहनत र पसिना भरेर टाल्छिन् । खुत्रुकेमा रातो रंग लगाउनका लागि भने उनीहरू अचेल रातोमाटोको सट्टा बजारमा पाइने केमिकल हालेर रंगाउँछन् । यसले खुत्रुकेको बाहिरको माटोमा भएको बालुवा निकाल्ने गर्छ । यसरी बनाएको खुत्रुके उनीहरू दुई दिन घाममा सुकाउने गर्छन् ।

बुवाका सबै सीप छोराले नलिएकोमा सत्यलक्ष्मी दु:खी छिन् । अहिले उनका छोराले चार साइजका खुत्रुकेहरू बनाउँछन् । बजार लोकल मार्केट नै हो । झरी परेको बेला, पर्यटक कम आउजाउ हुने हुँदा कमाइ पनि कम हुने बताइन् सत्यलक्ष्मीले ।

‘अहिले त माग पनि खुत्रुकेकै बढी छ,’ उनले भनिन्, ‘पानी पर्‍यो भने दिनको १०–१२ वटा, परेन भने दिनको सय वटासम्म बनाउन सक्छ छोराले । तीन जनाको परिवार यही पेसाले धानिरहेको छ ।’

उनको परिवारले महिनामा ३० हजारदेखि ४० हजारसम्म कमाउँछ ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?