कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चित्रकारहरूले नै किन्छन् चित्र

‘एकअर्काका चित्रकृति किन्नु भनेको बजारको निर्माण गर्नु पनि हो । अर्कातिर, चित्र जति पुरानो भयो उति अमूल्य हुदै जान्छ ।’
मधु शाही

काठमाडौँ — बिहान चियाको चुस्की लिँदै गर्दा होस् या दिनभरिको कामले गलेका बेला, कलाकार सौरगंगा दर्शनधारी जसै लिभिङ रुममा पुग्छिन्, उनको आधा थकान पर भाग्छ । भित्तामा राखिएका चित्रहरू भिन्नै आनन्द पाउँछिन् उनी । कालोपुल घर भएकी उनी थकान मेट्न लिभिङ रुममा घण्टाैं बिताउने गर्छिन् ।

चित्रकारहरूले नै किन्छन् चित्र

अझ लिभिङ रुममै राखिएको वरिष्ठ चित्रकार शशीविक्रम शाहको एउटा पुरानो चित्रले सौरगंगालाई धेरै पटक जिज्ञासु बनाइदिन्छन् । प्रिन्टमेकिङ मिडियम, त्यसमा पनि पोट्रेट आकृति । उनी त्यसमा युनिकनेस देख्छिन् । सौरगंगाका अनुसार, सन् १९७५ ताका शाहले आर्ट सिक्दै गर्दा बनाएको चित्र हो यो ।

‘उहाँ सुरुमा प्रिन्टमेकिङ गर्नुुहुँदो रहेछ,’ उनले भनिन्, ‘घोडा त पछि मात्रै बनाउन थाल्नुभाको रे †’
प्रिन्टमेकिङ चित्रकलाको एउटा विधा हो । सौरगंगा पनि प्रिन्टमेकर हुन् । दस वर्ष पहिले उनी शाहको कुपण्डोलस्थित घर पुगेकी थिइन् । चित्रकला नियाल्ने क्रममा उनले शशीको प्रिन्टमेकिङ त्यसमा पनि पोट्रेट भेट्टाइन् ।

‘म यो किन्छु नि,’ सौरगंगाले शाहलाई भनेको सम्झिन्छन् । उस बेला शाहले आफूले ‘काम सिक्दा बनाएको चित्र भएकाले राम्रो छैन, नलैजाऊ’ भनेका थिए । सौरगंगालाई भने त्यही काँचो चित्रमा परिपक्वता मात्रै हैन, ऐतिहासिकता पनि देखिन् र किनिन् ।

‘अहिले शशी सरको यस्तो चित्र कहाँ पाउनु ?’ उनले भनिन् ।

वरिष्ठदेखि युवा कलाकारसम्मका सिर्जना संकलन गरेर राख्नुको मज्जा भिन्नै रहेको सौरगंगाको अनुभव छ । एकातिर कलासँगै निश्चित कालखण्डको शैली र ज्ञानको संकलन हुन्छ भने अर्कातर्फ कलाकारको सम्मान पनि ।

‘एकअर्काका चित्रकृति किन्नु भनेको बजारको निर्माण गर्नु पनि हो,’ उनले भनिन्, ‘त्यही भएर यो संस्कार आवश्यक छ ।’ सौरगंगाले शाहसँगै शंकरराज सिंह सुवाल, एरिना ताम्राकार, आशा डंगोलजस्ता चित्रकार कलाकृतिहरू पनि संकलन गरेकी छन् ।

अर्का चित्रकार ज्योतिप्रकाश विके चित्र संकलन गर्नुमा दुई कारण देखाउँछन् । कलाकारको सम्मान गर्नु अनि आफ्नै सम्पत्ति थप्नु । ‘कला संकलन गर्नु भनेको सम्पत्ति भण्डारण गर्नु पनि हो,’ उनले भने ।

कुपण्डोल बस्ने ज्योतिले शशीविक्रम शाह, विजय थापा, किरण मानन्धर, पुरन खड्का, केके कर्माचार्य, डिराम पाल्पाली, रमेश खनाल, हिमेश शाहसहित केही बंगलादेशका कलाकारका समेत चित्र संकलन गरेका छन् । उनको बैठक कोठा चित्रैचित्रले भरिएको छ ।

‘पाहुनाले चारैतिर चित्र हेरेर रमाइलो मान्नुहुन्छ,’ उनले भने, ‘कला बुझाउने यो पनि राम्रो तरिका हो । कलाकारको मर्म कलाकारले नै नबुझे कसले बुझ्छ ? मैले त किस्तामा पैसा तिरेर पनि किनेको छु ।’

चित्र किनेर संकलन गर्ने चित्रकारमध्ये राजन काफ्ले पनि एक हुन् । उनको चाबहिलस्थित घर पुग्ने जोकोहीले भित्तामा सजाइएका चित्र देखेर उनको सोख अनुमान लगाउन सक्छन् । राजनसँग अहिलेसम्म उत्तम नेपाली, शशीविक्रम शाह, दुर्गा बराल, सरोज रञ्जित, मोहन खडका, मनुजबाबु मिश्र, किरण मानन्धर, बुद्धि गुरुङ, सीमा शाह लगायतका चित्र छन् ।

राजन चित्र संकलनको मामिलामा अनौठा पनि छन् । उनलाई आफूले बनाएका चित्र पटक्कै मन पर्दैनन् । र, उनी चित्र साइनो जोड्नकै लागि मात्रै पनि किन्दैनन् । ‘हेर्दा जुन चित्रकारको चित्रले मन छुन्छ उसैको किन्छु,’ उनले भने, ‘कसैलाई खुसी बनाउन हैन, आफैँ खुसी हुन किन्छु ।’

दस वर्षदेखि उनी निरन्तर आर्ट कलेक्सन गर्दै आएका छन् । किन्नुभन्दा पनि सम्हालेर राख्ने कसरी भन्ने चुनौती सबैभन्दा ठूलो छ । राजनले संकलन गरेका चित्रहरू आफू जीवित रहेसम्म नबेच्ने बताउँछन् । चित्र बेच्नुपर्ने स्थितिचाहिँ नआओस् भन्ने कामना गर्छन् उनी ।

चित्रकार मनीषलाल श्रेष्ठ, एरिना ताम्राकार, सुदर्शन राणा पनि चित्र किन्न मन पराउँछन् । सुदर्शनले चित्र संकलन गर्नुका पछाडि बेग्लै कथा छ । उनले बुबा (झसेन्द्रविक्रम राणा) बाट यस्तो पाठ सिकेका हुन् । चित्रकारसमेत रहेका झसेन्द्र पछि सेनामा सिभिल इन्जिनियरका रूपमा कार्यरत रहे । उनी केही समय चित्र कोर्थे । तर, त्यस बेला आफ्ना बुबाले आय आर्जन नहुँदा र चित्रकारले अरूका पनि चित्र किन्नुपर्छ भन्ने धारणा नहुँदा खासै कला संकलन नगरेको सुदर्शनले बताए । अहिले उनलाई लाग्छ, ‘सायद उति बेला केही चित्र बुबाले संकलन गर्नुभएको भए ?’

चित्रमा इतिहास, पुख्र्यौली सभ्यता र संस्कृतिसमेत झल्किने हुँदा सुदर्शनले आफ्नो राणाकालीन पुर्खाका चित्रकला त्यत्ति देख्न नपाएको बताउँछन् । राणाकालीन कलाकृति कस्तो हुन्थ्यो ? भने जति डकुमेन्टेसन हुन नपाएको सुदर्शन बताउँछन् । उनी निश्चित कालखण्ड जीवित राख्न पनि चित्र संकलन गर्न आवश्यवक रहेको औँल्याउँछन् । उनीसँग केही वरिष्ठ चित्रकारसँगै युवा पुस्ताका सिर्जनाहरू बढी छन् ।

मनीषलाललाई चित्रमा समेटिएको विचारले प्रभावित भएपछि मात्रै किनूँजस्तो लाग्छ । ‘चित्र कस्तो बन्यो भन्दा पनि त्यसमा उठाउन खोजेको वैचारिक तर्क के हो भन्ने पक्षले मन छुन्छ,’ उनले सुनाए, ‘यस्ता चित्र सकेसम्म किन्छु ।’ उनीकहाँ कृष्ण मानन्धर, चिराग वाङदेल, वत्सगोपाल वैद्य, शशीकला तिवारी, शशीविक्रम शाह, कपिलमणि दीक्षित, जुपिटर प्रधान, बिन्दु गुरुङ लगायतका सिर्जना छन् ।

एरिना ताम्राकारका चित्र देशविदेशमा प्रख्यात छन् । उनको कलाका फयान थुप्रै छन् । यद्यपि उनी आफैं पनि अन्य कला र कलाकारकी फयान हुन् । उत्तम नेपाली, किरण मानन्धर, शशीविक्रम शाह, मनुजबाबु मिश्र, एससी सुमन, रमेश बाराही, अनिल प्रजापतीलगायत कलाकारका चित्रहरूसमेत उनले संकलन गरेकी छन् । शयन कक्षदेखि बैठक कोठासम्मका भित्ताहरू चित्रैचित्रले भरिएका छन् ।

एरिनालाई चित्र जोड्नु भनेको समयलाई कैद गर्नु हो भन्ने लाग्छ । ‘चित्र भनेको जति पुरानो उति अमूल्य हुँदै जान्छ,’ उनले भनिन् ।

कला समीक्षक मुकेश मल्लका अनुसार चित्रकला संकलन गर्न जति सजिलो छ उति त्यसको व्यवस्थापन गर्न समस्या रहेको बताए । आफूले खासै चित्र नकिनेको बताउँदै उनले थपे, ‘चित्र किन्नैपर्ने कलाकार औँलामा गन्ने भेटिन्छन् । किनेर मात्रै भएन, राख्ने कहाँ ?’

प्रकाशित : भाद्र ८, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?