कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

खबर हराएको चिठी

दीपक परियार

लेखनाथ — काठमाडौंबाट केही थान रंगकर्मी हराएका छन् । उनीहरू कहाँ छन्, के गर्दै छन् धेरैलाई अत्तोपत्तो छैन । केही दिनयता हराएका देशभरका १४ युवा निर्देशक यतिखेर पोखरामा भेटिन्छन् ।

खबर हराएको चिठी

उनीहरू साउन १७ देखि यतै छन् । लामो समय बिहानदेखि बेलुकासम्म नाटक निर्माण कार्यशालामै व्यस्त भए । काठमाडौंको मण्डला थिएटरको पहलमा एक महिना लामो कार्यशालामा जुटेका देशभरका युवा निर्देशकले नाटक निर्माणका आन्द्राभुँडी खोतलेका छन् । उनीहरूले अध्ययन मात्रै गरेनन्, अभ्यास गर्दै नाटक नै तयार पारेका छन्, जुन शुक्रबारदेखि पोखरा थिएटरमा मञ्चन जारी छ ।

मण्डलाका राजन खतिवडाका अनुसार गत वर्षको भदौमा पनि नगरकोटमा एक हप्ता लामो कार्यशाला चलेको थियो । त्यहीं कार्यशालालाई निरन्तरता दिन यस पटक मण्डलाले पोखरा रोज्यो ।

कार्यशालामा आफूहरूले खुला प्रतिस्पर्धाबाटै सहजकर्ताको खोजी गरेको पनि उनले बताए । आवेदन दिनेमा चार विदेशी पनि थिए । संयोगवश दिल्लीको नेसनल स्कुल अफ ड्रामामा पढेर आएका नेपालकै विमल सुवेदी छानिए । उनैले निर्माण प्रक्रियासहित सहभागीलाई नाटक पढाइरहेका छन् । खतिवडाले कार्यशालाको सह–सहजकर्ताको जिम्मेवारी सम्हालेका छन् । द्वन्द्वको समयमा बेपत्ता पारिएका नागरिकको परिवारका समस्या नाटकमा देखाइएको छ । नाटकको नाम रहेको छ— खबर हराएको चिठी ।

कार्यशालाका सहभागीले सुरुको एक हप्ता पोखरा नजिकैको पर्यटकीय गाउँ कालाबाङ घरेडीमा बिताए । उनीहरूले सशस्त्र द्वन्द्वमा बेपत्ता भएका नागरिकको मुद्दा केलाए । त्यसमाथि छलफल चल्यो । उक्त एक हप्तामा नाटकको ‘कन्टेन्ट’ तयार भएको सहजकर्ता सुवेदी बताउँछन् । सहभागीले थिएटरमा दैनिक अभ्यास गर्दै नाटक तयार पारेका हुन् । सिजन दाहाल र केदार श्रेष्ठले आलेख तयार पारेका छन् । आकांक्षा कार्की, किरण चाम्लिङ राई, चेतन आङथुपो, चे शंकर, पत्रिका घिमिरे, परिवर्तन, पशुपति राई, रेनुका कार्की, सुदाम सिके र सोनाम लामाले अभिनयको पाटो सम्हालेका छन् । निर्देशक सबै नै भइहाले । नाटकको संयोजन स्वयं खतिवडाले गरेका छन् ।

सहजकर्ता सुवेदी कार्यशालामा सैद्धान्तिकभन्दा क्रियात्मक अभ्यासलाई जोड दिएको बताउँछन् । नाटकका प्राविधिक पक्ष मात्र नभई सामाजिक संरचनासँग जोडिन प्रेरित गरिरहेको उनले बताए । ‘सहभागीले आफैंले आफैंलाई कसरी बुझ्ने, आफ्नो प्रतिविम्ब कसरी झल्काउने भन्ने कार्यशालामा सिक्नेछन्,’ उनी भन्छन्, ‘समाजप्रति निर्देशक, कलाकार कति संवेदनशील बन्नुपर्छ भन्नेबारेमा पनि सचेत गराइएको छ ।’ कार्यशालाका सहभागीले नाटकलाई प्रभावकारी बनाउन ‘कन्टेन्ट’ मा धेरै मिहिनेत गरेको उनले बताए । उनले भने, ‘नाटकलाई उत्कृष्ट बनाउन सबै सहभागीको उत्तिकै परिश्रम परेको छ ।’

समूहले कार्यशालाकै अवधिमा पोखरा वरपरका १२ बेपत्ता नागरिकका परिवारलाई भेटेको थियो । परिवारको अहिलेको आर्थिक, सामाजिक अवस्था, उनीहरूको भोगाइसँग सम्बन्धित रहेको सहभागीले कुराकानी गरे । नाटकका संयोजक खतिवडा बेपत्ता नागरिकका परिवारको दैनिक जीवन बुझ्न उक्त भेटघाटले सघाएको बताउँछन् । भन्छन्, ‘उनीहरूको मनमा के चलिरहेको छ भन्ने निर्देशकले महसुस गरून् भन्ने हाम्रो उद्देश्य थियो ।’ त्यसो त उनी नाटकलाई अभियानको रूपमा लिन्छन् ।

नाटक मनोरञ्जनको विधा मात्र नभई समाजको अवस्था देखाउने प्रभावकारी माध्यम बन्नुपर्ने उनको धारणा छ । ‘अहिलेसम्म हाम्रो नाटक देखाउने शैलीमा परिवर्तन हुन सकेको छैन,’ उनी भन्छन्, ‘अब भने अभियानको रूपमा पनि अगाडि बढाउनुपर्छ भन्ने कार्यशालाको उद्देश्य हो ।’ रंगकर्मीले पनि सामाजिक, राजनीतिक मुद्दामा बोल्नबाट पर भाग्न नहुने उनको तर्क छ ।

मण्डलाकै रंगकर्मी सोमनाथ खनाल नाटकले निष्कर्ष पस्किनुभन्दा पनि विषयवस्तुको उठान गर्नुपर्ने पक्षमा छन् । ‘कुन पक्षले बेपत्ता पार्‍यो भन्ने विषय होइन,’ उनी भन्छन्, ‘अहिले उनीहरूको अवस्था कस्तो छ ? उनीहरूलाई समाजमा कसरी हेरिन्छ ? अरूलाई उनीहरूको पीडा महसुस गराउन के गर्नुपर्छ भन्ने कुरा नाटकमा आउनेछन् ।’ प्रयोगात्मक नाटक भएकाले पोखरेली दर्शकले यसबाट फरकपनको महसुस गर्ने उनको आशा छ । पोखरामा नाटकप्रतिको चेतना वृद्धि हुँदै गएकाले पनि कार्यशाला गर्न उपयुक्त लागेको उनले सुनाए । पोखरा थिएटर बनेपछि पहिलोपल्ट मञ्चन भएको सरुभक्तको नाटक ‘सिरुमारानी’ उनैले निर्देशन गरेका थिए ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?