१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

क्वाँटी अर्थात् तातो झोल

पहिलेका मानिसलाई वैज्ञानिक तथ्य थाहा थिएन तर पनि उनीहरूलाई खानेकुरा ब्यालेन्स गरेर भने खान आउँथ्यो, ऋतु अनुसारका खानेकुरा खान आउँथ्यो ।
सुनीता साखकर्मी

भक्तपुर — क्वाँटी अर्थात् तातो झोल । जनैपूर्णिमा अर्थात् गुन्हीपुन्हीको दिन नेवार समुदायमा विभिन्न थरीका नौ गेडागुडीको टुसा उमारी क्वाँटी पकाएर खाने चलन छ । सानो–ठूलो केराउ, मास, मुगी, मस्याङ, बोडी, भटमास, बकुल्ला, चनालगायत नौ थरीका गेडागुडी मिसाएर क्वाँटी बनाउने गरिन्छ ।

क्वाँटी अर्थात् तातो झोल

संस्कृतिविद् ओम धौभडेलका अनुसार नेवार समुदायमा नागपञ्चमीपछि चिसो सुरु भएको विश्वास गरिन्छ । यो समयमा पानी पर्ने र त्यसका कारणले बालकदेखि वृद्धसम्मलाई रुघाखोकी, श्वासप्रश्वासमा समस्या भई धेरै मानिसको मृत्युसमेत हुने गरेपछि क्वाँटी खाने परम्परा सुरु भएको उनी बताउँछन् ।

‘क्वाँटी खाने चलन कसले चलायो भन्ने यकिन छैन,’ उनले भने, ‘तर रोगले आफन्तको मृत्यु हुन थालेपछि भने पुर्खाहरूले यसलाई रोकथाम गर्ने उपाय खोज्दा क्वाँटी पत्ता लगाएको देखिन्छ ।’

धौभडेलका अनुसार, नेवार समुदायभित्र पनि हिन्दु धर्मावलम्बीहरूले जनै पूर्णिमा र गाईजात्राको दिन अनि बौद्ध धर्मावलम्बीहरूले पञ्चदानका बेला क्वाँटी खान्छन् । कुनै घरबाट गाईजात्राको दिन गाई निकालिन्छ भने कसैले चाहिँ ‘घिन्ताङ घिसी’ खेल्ने, बाजा बजाउने र आफन्तजनलाई क्वाँटी बनाएर खुवाउने गछन् ।

नेवार पात्रो अनुसार भदौ नवौँ महिना हो । त्यसैले यो महिना ‘गुन्ही पुन्ही’ भनेर नौ दिन जात्रा मनाउने, नौ थरीका गेडागुडी खाने र नौ थरीका लुगा लगाउने चलन रहेको धौभडेलले बताए । पानी पर्ने मौसम भएकाले घरको ढुकुटीमा राखिएका खानेकुराहरू ओसिने वा ढुसी पर्ने हुँदा यसको सदुपयोगका लागि पनि क्वाँटी बनाएर खाने चलन रहेको उनले दाबी गरे । क्वाँटी मात्रै नभई उपत्यकामा चामल, तिल, कुश, जौ र जल पञ्चगव्य राखी पोको पारेर हातमा ब्राह्मणले पञ्चरंगी डोरा बाँधिदिने चलन पनि छ । यो दिन बाँधेको डोरो तिहारमा लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा बाँध्ने चलन पनि छ ।

‘जीवित खाना’
गेडागुडीको टुसा उमारेर खाइने भएकाले डा. अरुणा उप्रेतीका अनुसार क्वाँटी ‘जीवित खाना’ हो । ‘गेडागुडी पानीमा भिजाई कपडाले छोपेर राखेपछि त्यसमा टुसा उम्रिन्छ । यसरी उमार्ने प्रोसेसले गेडागुडीमा भएका भिटामिन र प्रोटिनहरू २० देखि ३० प्रतिशतसम्म पनि बढ्छन्,’ उनले भनिन्, ‘गेडागुडीलाई छुट्टाछुट्टै पकाउनुभन्दा पनि एकै ठाउँमा राखेर पकाउँदा ती भिटामिन र प्रोटिनहरू एकअर्कामा सर्न पाउँछन् ।’ मासु नखानेहरूका लागि पनि यो परिकार एकदमै फाइदाजनक हुने उनको ठहर छ । गेडागुडी बोक्रासमेत राखेर पकाइने हुँदा यसमा भएको रेसादार पदार्थले कब्जियत हुन नदिने उनले बताइन् ।

नेवार समुदायमा आजदेखि जाडो लाग्यो भन्ने विचार भएकाले क्वाँटीले तातो गराउँछ भन्ने जनविश्वास छ । क्वाँटीमा राखिने चनामा प्रोटिन र भटमासमा क्याल्सियम हुने भएकाले यसले बढ्दो उमेरका बालबालिका, भर्खर बिरामीबाट उठेकालाई समेत फाइदा पुग्ने डा. उप्रेतीले बताइन् । उनका अनुसार, यो संस्कृति नेवार समुदायमा मात्रै नभई सुदूरपश्चिममा पनि छ । सुदूरपश्चिममा गौरा पर्वका बेला बिडौरा बनाएर खाने गरिन्छ । गेडागुडीकै टुसा उमारेर बनाउने गरिन्छ ।

‘पहिलेका मानिसलाई वैज्ञानिक तथ्य थाहा थिएन तर पनि उनीहरूलाई खानेकुरा ब्यालेन्स गरेर भने खान आउँथ्यो, ऋतु अनुसारका खानेकुरा खान आउँथ्यो,’ उनले भनिन्, ‘म पनि हप्तामा एकदुई चोटि क्वाँटी खान्छु र अरूले पनि खानुपर्छ भन्ने सल्लाह दिन्छु । म हरेक दिन मेथी उमारेर पनि खाने गर्छु । मेथीमा आइरन हुने भएकाले यसले स्वास्थ्यमा राम्रो गर्छ ।’

टुसा उमारेर लिटो
डा. उप्रेतीले अफ्रिकी मुलुक इथियोपिया जाँदाको अनुभव सुनाउँदै बच्चाहरूलाई खुवाउने लिटो पनि टुसा उमारेकै गेडागुडीबाट बनाउँदा राम्रो हुने बताइन् । तर नेपालमा लिटो बनाउन पनि विभिन्न गेडागुडीलाई टुसा उमार्ने चलन छैन ।

‘मैले इथियोपिया जाँदा त्यहाँ बच्चाहरूलाई कुपोषणबाट बचाउनका लागि गेडागुडीको टुसा उमारेर त्यसलाई पिनेर लिटो बनाउने गरेको थाहा पाएँ,’ उनले भनिन्, ‘हामी पनि त्यस्तै गर्न सक्छौं । यसले हाम्रा बच्चाहरू पनि स्वस्थ हुन्छन् ।’ त्यसरी बनाएको पिठोलाई रोटीका रूपमा, दालका रूपमा, अन्डासँग अम्लेटका रूपमा पनि खान सकिने उनले जनाइन् ।

घाँसदेखि ज्वानोसम्म
भक्तपुरमा पकाइने क्वाँटीमा ज्वानो फुराउने गरिन्छ भने पाटनमा ज्वानोको सट्टा ललिचा घाँस राखेर पकाउने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताए । क्वाँटीलाई पुर्खाले रोगव्याधिबाट बच्न र बचाउने अभ्यासको क्रममा पत्ता लगाएको औषधि मान्छन् उनी । ज्वानो फुराउने सन्दर्भमा नेवार समुदायमा एउटा कथन पनि छ– क्वाँटीमा ज्वानो फुराउँदा लामखुट्टेको सुँड पनि डढ्छ र अब त्यसले टोक्न सक्दैन ।

पाटनबासी संस्कृतिविद् कीर्तिकिरण जोशीका अनुसार, अहिले क्वाँटीमा ललिचा घाँस मिसाएर खाने परम्परामा कमी आएको छ । क्वाँटी भने अहिले पनि धेरै खाइन्छ । पाटनमा जनैपूर्णिमादेखि एक महिनासम्म पनि क्वाँटी खाने चलन रहेको उनले बताए ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?