सहरमा लिम्बू संस्कृति

कान्तिपुर संवाददाता

ललितपुर — लिम्बू समुदायको कला, संस्कृति र जनजीवन नियाल्न पूर्वी नेपाल पुगिरहनु पर्दैन । किरात याक्थुङ चुम्लुङले ललितपुर महानगरपालिका–१४ शोभाहिटीस्थित चुम्लुङ हिम (कार्यालय) मा प्रदर्शनी सुरु गरेको छ ।

शुक्रबार सुरु दिनेदिने प्रदर्शनीको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले उद्घाटन गरे । शोभाहिटीस्थित चुम्लुङ हिमको भुइँतला गरिएको प्रदर्शनीमा लिम्बू भाषा, सिरिजंगा लिपिमा खोपिएका मुन्धुम, शब्दकोश, व्याकरण, वर्णमाला, साहित्य, संस्कृति, इतिहास, राजनीतिका पुस्तक, पत्रपत्रिका आफैंमा नौलो छन् ।

लिम्बूसँग सम्बन्धित अधिक पुस्तक नेपालीमा छन् भने केही अंग्रेजीमा पनि । लिम्बू समुदायको इतिहास पुरुषहरूको मिनियचर (मूर्ति) देखि लिम्बु समुदायको २४ थरका वंशावलीसमेत प्रदर्शनीमा छन् ।

याक्थुङ सहयोग कोषले लिम्बूका प्रसिद्ध पुस्तकहरू, निम्बल प्रकाशन, मुन्धुम बुक्स, कन्दङा समाज नेपालले आआफ्नै प्रकाशन स्टल राखेका छन् । लिम्बूवान् सांस्कृतिक परिषद्ले लिम्बू भाषाका सांगीतिक कृतिहरू, डकुमेन्ट्री प्रदर्शनीमा राखेको छ । किरात ललितकला समाजले किरातीजन्य चित्र तथा मूर्तिकला प्रदर्शन गरेको छ ।

प्रदर्शनीमा लिम्बू पहिरन पनि छन् । सांस्कृतिक हातहतियार, धनुर्वाण, खाने, लाउने, देखाउने, सजाउने कलादेखि ओखतीमुलोसम्म छन् । चुम्लुङको ३०औं वार्षिकोत्सवका अवसरमा भगिराज इङनाम लिखित ‘लिम्बू जातिको इतिहास’ पुस्तक पनि प्रदर्शनीकै क्रममा सार्वजनिक गरियो ।

Yamaha

पूर्व उपकुलपति काइँला, योजना आयोगका पूर्व सदस्य डा. चैतन्य सुब्बा, चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेम लिम्बूले पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तकबारे बोल्दै विश्लेषक बलदीप प्रभाश्वर चाम्लिङले मानवशास्त्रीय पक्षबाट किरात मूल जाति र त्यसमा लिम्बू जातिको प्राचीनता केलाइएको बताए । इङनामको यसअघि ‘तेह्रथुम जिल्लाको सुब्बाङ्गी प्रथा’ इतिहास कृति प्रकाशित छ ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दिल्लीमा पुतली राजमार्ग

सुरेशराज न्यौपाने

नयाँदिल्ली — बगैंचा वा पार्कमा हिँडदा छेवैबाट हूलका हूल रंगीन र आकर्षक पुतलीको ओहोरदोहोर । पैदल यात्रुका लागि फुटपाथ भएजस्तै पुतलीलाई निर्बाध ओहोरदोहोर गर्न बेग्लै ‘बटरफ्लाई करिडोर’ अर्थात् पुतली मार्ग ।

सुन्दै मन रमाउने । तर नझुक्किनुस्, प्रकृति र जीवजन्तु संरक्षणको यस्तो लोभलाग्दो परियोजना काठमाडौंमा होइन, भारतको राजधानी नयाँदिल्लीमा सुरु हुन लागेको हो ।

हुन त दिल्लीको तुलनामा काठमाडौं र आसपासका क्षेत्रमा पाँचगुणा बढी अर्थात् ३५० भन्दा बढी पुतलीका प्रजाति पाइन्छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अध्ययनले नेपालमा ६ सय ३५ प्रजातिका पुतली रहेको देखिएको छ । जबकी बम्बे नेचुरल हिस्ट्री सोसाइटी (बीएनएचएस) ले एक वर्षअघि गरेको अध्ययनअनुुसार दिल्लीमा भने ७० प्रजातिका मात्रै पुतली छन् ।

बीएनएचएसले करिब डेढ सय वर्षदेखि पर्यावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ । तर बिहानसाँझ हिँडडुल गर्न खुला चौरको समेत अभाव खेपिरहेका काठमाडौंबासीका लागि ‘पुतली मार्ग’ अहिलेका लागि कोरा सपना नै हो ।

वन्यजन्तु तथा प्रकृति संरक्षणमा काम गर्ने संस्था तथा विज्ञहरूले पुतलीलाई घुमफिर गर्न सहज बनाई सहरलाई पर्यावरणीय हिसाबले आकर्षक बनाउन यस्ता अवधारणा अघि सारेका हुन् । बीएनएचएसले जवाहरलाल नेहरू तथा दिल्ली विश्वविद्यालयका विज्ञसँग मिलेर पुतली मार्गको अवधारणा कार्यान्वयनको गृहकार्य सुरु गरेको हो ।

बीएनएचएसले दिल्लीका यमुना विविध जैविक पार्कलगायतका एक दर्जन पार्कलाई यसअघि नै पुतलीमैत्री बगैंचाका रूपमा विकास गरिसकेको छ । पुतली मार्ग निर्माणका लागि दिल्लीका पार्क, बगैंचा, वनलगायतका हरित स्थललाई एकअर्कासँग जोडिनेछ । पुतलीलाई रस चुस्न मिल्ने र अण्डा पार्न तथा झुसिलकीरा हुर्काउन अनुकूल हुने विरुवा अर्थात् ‘होस्टप्लान्ट’ चाहिन्छ । हेर्दा सानो देखिए पनि पर्यावरणीय सन्तुलनमा पुतलीको अहंभूमिका हुन्छ । त्यसबाहेक पुतलीले बोटविरुवाको परागसेचनमा पनि सक्रिय भूमिका खेल्छन् ।

विज्ञहरूको टोलीले सम्भावित पुतली मार्गको नक्सांकन पनि गरिसकेको छ । यसका साथै रोप्नुपर्ने बोटविरुवाको सूची पनि तयार पारिएको छ । होस्टप्लान्ट रोप्ने काम सुरु भइसकेको निर्देशक मादेनले जानकारी दिए । यसअघि स्थानीयसँगको सहकार्यमा पुतलीको प्रजाति र तिनको संख्या पहिचान गरिएको निर्देशक मादेनले जनाए । ‘नागरिकसँगको सहकार्यबिना यस किसिमको योजना सफल हुन सक्दैन,’ उनले भने ।

त्यसैगरी, पुतलीले फ्लाईओभर तथा सडक कसरी पार गर्छन् भन्ने अध्ययन पनि सुरु भइसकेको उनले जनाए । बीएनएचएसले हाल दिल्लीको उत्तरी छेउबाट दक्षिणी छेउसम्म पुतलीमार्ग निर्माण गर्न लागिएको र त्यसलाई ५ वर्षभित्र दिल्लीभर विस्तार गर्ने योजना बनाएको छ ।

करिडोरले पुतलीलाई दिल्लीका पार्क र बगैंचामा हिँडडुल गर्न सुरक्षित मार्ग उपलब्ध गराउनुका साथै संरक्षणमा समेत योगदान गर्ने निर्देशकको मादेनको दाबी छ । तर, केही विज्ञले भने दिल्लीको बाक्लो बस्तीले सिर्जना गरेको प्रदूषणका कारण पुतली मार्गको अवधारणा पूर्णरूपमा कार्यान्वयनमा ल्याउन सहज नहुने बताएका छन् ।

तर सहरीकरण भए पनि सडक, स्कुल तथा कलेजमा होस्टप्लान्ट लगाउन सकिने भएकाले आयोजना प्रभावकारी हुने मादेनको तर्क छ । ‘कार्यान्वयन सुरु भएपछि मात्र केकस्ता चुनौती आउँछन्भन्नेबारे थाहा हुन्छ र सम्बोधनको आवश्यक कदम चालिनेछ,’ मादेनले भने ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT