१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

किलामा कला

सुनीता साखकर्मी

काठमाडौँ — चित्रकलामा किलाको भूमिका के होला ? केवल इजेलमा क्यानभास अडयाउन, फ्रेमको चौकोस बनाउन वा सुन्दर क्यानभास भित्तामा टँग्याउन सहयोगी बन्न सक्छ ।

किलामा कला

चित्रकला भन्नेबित्तिकै कुची र रंगको खेल नै सम्झिने गरिन्छ । तर ३४ वर्षीया कलाकार महिमा सिंह भने यति मात्र ठान्दिनन् । उनका लागि किला पनि कला प्रस्तुतिको एउटा माध्यम हो ।

महिमाले झन्डै नौ हजार फलामे किला क्यानभासमा ठोकेर आफ्नै बहिनी निमाको एउटा पोट्ेरट बनाएकी छन् । नौ हजार किलालाई उनले २०७२ मा गएको महाभूकम्पमा परी दिवंगत झन्डै नौ हजार जनासँग तुलाना गरेकी छन् । र, चित्रको शीर्षक राखेकी छन्, ‘नाइन थाउजेन्ड प्लस दे आर नट जस्ट नम्बर्स’ ।

‘जबसम्म कुनै घटना हामी आफंैमाथि पर्दैन । ती घटना समाचार मात्र हुन्छन् र मृत्यु हुने केवल संख्या हुन्छन् हाम्रा लागि,’ महिमाले भनिन्, ‘तर जब परिवार सदस्य पर्छन्, तब ती संख्या मात्रै रहन्नन् । मेरी बहिनी नबितेको भए, ती नौ हजार पनि केवल मेरो लागि संख्या हुन्थे । मलाई पनि मेरी बहिनी बितेपछि यो महसुस भयो ।’ उनले बहिनीको पोट्रेट बन्नुको कारण पनि खुलाइन् ।

महिमाका लागि कला भनेको अभिव्यक्तिको एउटा माध्यम हो । भित्री अनुभूतिहरूको प्रष्फुटन गर्ने थलो । कुनै समय महिला हिंसाजस्तो सामाजिक विषयवस्तुमाथि इन्स्टलेसन, पर्फमेन्स आर्ट गर्थिन्, उनी । तर भूकम्पमा बहिनी बितेको तीन महिनापछि बुवा पनि बिते । महिमाका लागि जिन्दगी उराठलाग्दो बन्यो ।

तर शोकलाई शक्तिमा बदल्दै उनले क्यानभासमा किला ठोक्न थालिन् । कलाकी विद्यार्थी महिमाले यसैमा नयाँ आर्ट फर्मको विकास गरिन् । नेल आर्ट अर्थात् किलाबाट कला सिर्जनातर्फ उनी लागिपरिन् । रंग र कुचीको विकल्पमा किलाबाटै पोट्रेट बनाउन थालिन् । नौ हजार किला ठोकिएको क्यानभासमा महिमाले भूकम्पमा परी त्यति नै संख्यामा दिवंगत भएकाको नाम पनि लेखेकी छन् ।



महिमाले २०७४ को विश्व नारी दिवसको दिन किला कलाको थालनी गरेकी थिइन् । महिना दिनअघि मात्रै उनले यो काम सकाइन् । ‘पहिलोचोटि बनाउन लागेकोले केही अप्ठेरो लागे पनि पछि सहज नै भयो,’ उनले भनिन्, ‘किला ठोक्न मात्रै एक महिना लाग्यो ।’ दिवंगतको नाम भने स्ट्रिकर बनाएर क्यानभासमा टाँसिन् । उनी अहिले भूकम्पमै ज्यान गुमाएकाहरूको फोटो खोज्दै पोट्रेट बनाउनमा व्यस्त छिन् । ‘यही वर्ष पोट्रेट प्रदर्शनी गर्ने सोचेको थिएँ, तर फोटो पाउनै गाह्रो,’ उनले भनिन्, ‘अहिलेसम्म ३० पोट्रेट बनेको छ ।’ उनी यसपछि भने नेपालका आन्दोलनहरूमा दिवंगतको सम्झनामा किला शृखंलाअन्तर्गत नेल आर्ट बनाउने सोचमा छिन् ।

स्वयम्भू नागार्जुन गैह्री गाउँका १९ वर्षे सनिम केसी पनि कलामा पृथकता रुचाउँछन् । उनले पूर्वराजा वीरेन्द्र शाहलाई नेल आर्टमा उतारेका छन् । उनले भने क्यानभासमा किला मात्रै ठोकेनन्, अनुहारको आकार दिनको लागि कालो धागोको प्रयोग गरेका छन् ।

सात कक्षादेखि नै चित्र कोर्न थालेका सनिमले एक दिन फेसबुकमा रंगीन धागोले किलामा आकर्षक रूपमा ‘वेलकम’ लेखेको देखेपछि आफू पनि कस्सिए । मन्दिर जाने भनेर असनको गल्लीमा गएर किला र धागो लिन जान्थे रे । जसोतसो क्यानभास तयार पारे । किला ठोक्नु पनि गाह्रो काम थियो । त्यसमा धागोले मुखाकृति दिनु झन् गाह्रो ।

सनिमले भने, ‘कहिलेकाहीँ कुनै ठाउँमा बिग्रँदा दुई/तीन दिनको काम नै बिगार्नुपथ्र्याे । थोरै गर्न पनि धेरै समय लागेकोले नगर भन्ने धेरै थिए । तर काम रोकिनँ । पछि राजाको मुखाकृति देखिन थालेपछि तिनैले राम्रो गरेछौ, राम्रो गर्नु भन्न थाले ।’ सनिमले महादेव, दुर्गाका पोट्रेटदेखि मोडल नीति शाह, फुटबलर नेमार, मेस्सी, रोनाल्डो लगायतको पोट्रेटसमेत बनाएका छन् ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?