१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

मुरलीमा के छ ?

सुनीता साखकर्मी

ललितपुर — शिरमा मयूरपङ्ख, गलामा हार, हातमा मुरली । गेरुवा वा पहेंलो वस्त्रमा सजिएका कलंकीका रिवाज रिजाल आइतबार पाटनमा भगवान कृष्णको बाल रूपमै भेटिए ।

मुरलीमा के छ ?

पाँच वर्षे रिवाज बुवा रामकृष्णले भर्खरै किनिदिएको मुरलीका प्वालहरू खोज्दै सकीनसकी औंलाले छोपेर बजाउने कोसिस गर्दै थिए । मुरली समातेको नमिलेपछि उनकी आमाले मिलाइदिँदै भनिन्, ‘ठाडो हैन, तेर्सो समात न ।’

कृष्ण जन्माष्टमीको अवसरमा आइतबार पाटनको कृष्ण मन्दिरमा दर्शनार्थीहरूको भीड लागेको थियो । साथै छोराछोरीलाई नै गेरुवा वा पहेंलो वस्त्र लगाइदिएर कृष्णको भेषमा सजाएर ल्याउनेहरू टन्नै थिए । रामकृष्णले पनि रिवाजलाई मुरली किनिदिएका थिए ।

‘कृष्णको महिमा ठूलो छ । कृष्णले पनि मुरली बजाएर सबैलाई मोहित गरेका थिए रे,’ बुवा रामकृष्णले भने, ‘संगीत क्षेत्रमा लाग्ने मानिसहरू जेन्टल र शान्त हुन्छन् । त्यसैले बच्चैदेखि संगीतको क्षेत्रमा लगाउन बच्चालाई यहाँ लिएर आएँ, मुरली किनिदिएँ ।’

रिवाजलाई अहिले कृष्णबारे थाहा नभए पनि मुरलीको सुरिलो ध्वनिमार्फत पछिसम्म सम्झना आओस् भन्ने रामकृष्णको आशा छ । बाबुबाजेदेखि चलीआएको संस्कृति छोरालाई सिकाउन चाहेको उनले बताए । सानो छँदा आफूले यस्तो केही गर्न नपाएकाले आफ्नो रहर छोरामार्फत पूरा गर्न पाएको पनि उनले बताए ।

यस्तै भीडमा थिए, नुवाकोटका प्रकाशनन्द लामिछाने । उनी ज्योतिषी पनि हुन् । कृष्णको दर्शन गर्न मन्दिर आइपुगेका थिए । उनको हातमा एउटा मुरली त छँदै थियो, तैपनि उनी थप मुरलीहरू छान्दै थिए । हातको मुरली चाहिँ छोराले जनैपूर्णिमाको दिन किनेर लगिदिएको उनले बताए । ‘छोराले अलिक बाक्लो बाँसको किनेर लगिदिएछ,’ उनले भने, ‘बाक्लो बाँसको बलियो त हुन्छ, तर सुरिलो स्वर आउँदैन । त्यही भएर अर्कै पनि खोज्दैछु ।’

इमाडोलका बाबुराजा श्रेष्ठले पनि पाँच वर्षे छोरा दीपिनलाई कालो रंग लगाइएको मुरली किनिदिए । ‘कृष्ण मन्दिर दर्शन गर्न आएका थियौं,’ उनले भने, ‘सबैको हातमा मुरली देखेपछि छोराले पनि रहर गर्‍यो । त्यसैले किनिदिएँ ।’

ह्यान्डिक्राफ्टको काम गर्ने बाबुराजाको आफ्नो छोराले पनि भविष्यमा कलाकै क्षेत्रमा काम गरोस् भन्ने चाहना छ । भीडमै भेटिइन् गोदावरी बस्दै आएकी कल्पना चौधरी जो आफ्नी साढे ६ वर्षकी छोरीका लागि मुरली किन्दै थिइन् । ‘हरेक वर्ष किनेर लगिदिन्छु,’ उनले भनिन्, ‘छोरीले बजाउन पनि जानिसकेकी छन् ।’

भीडमा मुरली बेच्नेको पनि रौनक भिन्न थियो । भारत सीतामढीका ६३ वर्षे मोहम्मद रसिदले मुरली आफैं बनाउँछन् । रोजगारीको सिलसिलामा ४५ वर्षअघि उनी नेपाल आएका थिए । भारतमा छँदा भने यो काम उनले गरेका थिएनन् । नेपालमा आएपछि मुरली बनाउन सिके ।

यसको व्यापार राम्रो देखेपछि यतातिर पनि हात हाले । अहिले उनी आधा घण्टामा एउटा मुरली बनाउन सक्छन् । आसामबाट बाँस ल्याउँछन् । दिनमा पचास वटासम्म बनाउन सक्छन् । पहिले कोइला बालेर त्यसमा रड तताएपछि त्यो रडले मुरलीमा खोप्दै विभिन्न आकारका प्वाल पार्ने काम गर्छन् । र, त्यसमा गमले माथिका प्वालहरू टाल्ने काम गरेर रंग लगाएपछि उनको मुरली तयार हुन्छ ।

राजधानीमा हुने गरेका प्राय: मेलाहरूमा उनी मुरली बेच्न पुग्ने गर्छन् । त्यसबाहेक अरू बेला भने उनी असन इन्द्रचोकमा भेटिन्छन् । उनकोमा तीस रुपैयाँदेखि साठी रुपैयाँसम्मको मुरली पाइन्छ । केराको थाम जस्तो मुरलीको थाक बोकेर उनी इन्द्रचोकतिर घुमी हिँड्छन् । उनीसँगै भारतबाट आएका १० जना यो काममा लागेका छन् ।

भारतकै सीतामढीबाट आएका ३६ वर्षे कमरुद्दिन शाहले पनि २५ वर्षदेखि नेपालमा मुरली बनाएर बेच्ने गरेका छन् । उनलाई चाहिँ मुरली बनाउन एक घण्टा लाग्छ । उनी जात्राहरू भएका बेला जात्रामा र अरू बेलामा इन्द्रचोकमा बसेर मुरली बेच्ने गर्छन् । उनका अनुसार मुरली बनाउनका लागि गोपी बाँस, नर्कट, निगालो प्रयोग गर्छन् । उनले चाहिँ सीतामढीमै मुरली बनाएर यहाँ ल्याउने गर्छन् ।

प्रकाशित : भाद्र १८, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?