कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

उमेरका गल्तीहरू

काठमाडौँ — समाजको उज्यालो भविष्यको रूपमा लिइन्छ युवाहरूलाई । थापागाउँस्थित कुञ्ज थिएटरमा भने यति बेला युवाहरूको अँध्यारो कथा मञ्चन भइरहेको छ ।

उमेरका गल्तीहरू

नाटक ‘वासुदेव’ ले अनेकौं कारणवश बाटो बिराएका युवाहरूको यस्तो अँध्यारो कथा भन्छ, जसलाई हेर्दै गर्दा दर्शक स्वयंले उकुसमुकुस महसुस गर्छन् । युवा उमेरमा गरिने गल्ती र त्यसले निम्त्याउने समस्यालाई नाटकले मूल विषय बनाएको छ ।

वासु र देव दुई जना मिल्ने साथीको कथा हो यो । यसैमा जोडिन आइपुग्छन् इशा र श्लेशा । लागूऔषध दुव्र्यसनीमा फसेका यी चार जना बाटो बिराएको सहरी युवा वर्गको प्रतिनिधि पात्र हुन् । एकपछि अर्को गल्तीको सिकार बनेका यिनीहरूको पीडादायी अवस्थाको चित्रण हुँदै जान्छ नाटकमा । तर, यिनीहरू के कारणले उमेरजन्य गल्ती गर्न विवश हुन्छन् भन्ने पक्षचाहिँ जति आउनुपर्ने हो त्यो नाटकमा देखिँदैन ।

तीव्र सहरीकरण र उपभोक्तावादी जीवन शैलीका कारण सहरी मध्यम र उच्च मध्यम वर्गमा ठूलो समस्या देखिँदै छ । आफ्ना सन्तानका लागि समय दिन नसक्दाको थुप्रै परिणाम रिहयाभ सेन्टरहरू चाहर्दा देख्न सकिन्छ ।

यसले भईखाई आएको समुदायका एकथरी युवा वर्गको निरासा र दिशाहीनतालाई संकेत गर्छ । नाटक ‘वासुदेव’ त्यही निराशा र दिशाहिनताको कथा हो । तीव्र बजारीकरण र त्यसले दिएको व्यक्तिवादी संस्कृतिका कारण सहरी युवा वर्ग कस्तो रिक्तता र विसंगत सोचाइका साथ हुर्किंदै छ भन्ने सन्देश दिन्छ नाटकले ।

आफ्नो परिवार र छोराछोरीभन्दा पनि बाहिरी मोजमस्तीमा मग्न बुबा, पति हुँदैहुँदै ब्वाइफ्रेन्डसँग छुट्टै बस्ने आमाको सन्दर्भले अहिलेको जीवनशैलीमाथि व्यंग्य गर्छ । नाटकका पात्रहरूको पारिवारिक पृष्ठभूमि यस्तै छ ।

प्रेम र यौनप्रति अहिलेको सहरी युवा पुस्ताबीच हुर्किंदै गएको उदारवादी मनोविज्ञान पनि नाटकमा छ । यद्यपि यस हिसाबले नाटकको केही संवाद र दृश्यहरूमाथि अश्लीलताको आरोप लाग्न सक्छ ।

दिनरात लागूऔषधको नशामा डुबिरहने युवायुवतीहरू जसरी बेहोसीमै यौनजन्य गतिविधि गर्छन्, चरित्रगत सापेक्षतामा उक्त दृश्यहरू सही भए पनि प्रस्तुति शैलीको उदारतामा भने प्रश्न उठ्नेछ । लागूऔषधको सिकार बनेका युवाहरूको मनोवैज्ञानिक उतारचढाव, उनीहरूको तनाव र जीवनशैली देखाउन भने नाटक सफल छ । सन्दीप श्रेष्ठले दुव्र्यसनीमा फसेको युवक देवको रूपमा अब्बल अभिनय गरेका छन् ।

आभा नेपाल र आयुष प्याकुरेलको अभिनयले पनि नाटकलाई गति प्रधान गर्छ । आभा छरितो रूपमा प्रस्तुत भएकी छन्, सुरभि सापकोटाको शरीर भाषा सुरुमा स्लो देखिए पनि अन्तिमतिर ठिकै लाग्छ ।

नाटकको कथानक पक्ष भने खासै बलियो छैन । तनावहरूको विकास क्रमलाई पनि सिर्जनात्मक रूपमा बुन्न सकिएको छैन । ध्वनि र प्रकाशमा चाहिँ केही नयाँपन पाइन्छ । सन्दीप श्रेष्ठकै लेखन रहेको नाटक फोर क्युब इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो । नाटक भदौ ३१ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?