समको घरमा एक दिन

सुनीता साखकर्मी

काठमाडौँ — ‘लौ हिँड’ भन्दै दाइले आैंला समाए । पाका रंगकर्मी प्रचण्ड मल्ल सानैछँदा साहित्यकार बालकृष्ण समको घर पुगेको दिन अझै सम्झन्छन् ।

‘२००९को जाडो महिना थियो त्यो । दाइ (सुरेन्द्र) ले ज्ञानेश्वरस्थित समको निवासमा लानुभएको थियो,’ उनी भन्छन्, ‘चिसोले काम्दै उहाँलाई भेट्न जाँदासम्म पनि उहाँ को हो भन्ने थाहा थिएन ।’

काठमाडौंकै लगनटोलबाट हिँडेर समको घर ज्ञानेश्वरसम्म आइपुग्न ठयाक्कै आधा घण्टा लागेको ७८ वर्षे प्रचण्ड सम्झिन्छन् । हिँड्न मात्रै गाह्रो । समको घर पुगेपछि शान्त वातावरण, फुलैफूलको बगैँचा र राणा शैलीको दरबार देखेर प्रचण्ड आनन्दित बनेका थिए उति बेला । ६ दशक बिते ।

Yamaha

रंगकर्मी प्रचण्ड बेलाबखत तिनै बाल्यकालको सम्झना बोकेर समको घर धाउँछन् । तर, पहिले जस्तो चार्म देख्दैनन् । हालैको दिन सम निवासमै भेटिएका प्रचण्डसँग साहित्यकार सरुभक्त पनि थिए । उनैले सरुभक्तलाई सम निवास देखाउन लगेका थिए । ‘घर त पुरानो हुँदै छ, नै यससँगै समका धेरै सम्झनाहरू बिलिन हुँदै छन्,’ प्रचण्डले सरुभक्तलाई दु:ख पोखे ।

भनिहालौं, एउटा युगमा धेरै मानिस जन्मन्छन् । तर, कमै मात्र त्यस्ता मानिस हुन्छन्, जसले युग नै जन्माउँछन् । नेपाली रंगमञ्चको यस्तै एउटा युग जन्माउनेमध्येका एक हुन्, बालकृष्ण सम । कठोर र क्रूर शासक मानिने राणा परिवारमा जन्मिएर पनि प्रचण्डका अनुसार ‘सम भने निकै कोमल र मनकारी थिए ।’

समले बनाएका चित्रहरू। तस्बिर : सुनीता

प्रचण्डको नजरमा सम
वरिपरि खाली जमिन अनि बीचमा शान्त र सुनसान घर । ज्ञानेश्वरमा त्यति बेला समको बाहेक अन्य घर थिएनन् । दक्षिणतिर फर्किएको घरको गेटबाट छिर्दै गर्दा बगैँचामा ढकमक्क फूल फुलेका हुन्थे । बगैँचामै कमिज र सुरुवालमा एक लक्का अधवैँसे हँसिलो मुद्रामा देखिन्थे ।

प्रचण्डका दाइले आफ्नो भाइलाई अघि सार्दै भने, ‘बालकृष्णजी, तपाईंका लागि जन्तु ल्याइदिएको छु, यसलाई सम्हाल्नुस् ।’ त्यसपछि मात्रै प्रचण्डले चिने, ती हँसिला मान्छे नाटककार बालकृष्ण सम थिए । ‘भागीभागी नाटक हेर्न, खेल्न जाने भएपछि दाइले समको घरमा पुर्‍याउनुभएको थियो,’ उनले सम्झे, ‘मैले पहिलो पटक त्यसरी चिनेको थिएँ । त्यसपछिका हरेक दिन उहाँकैमा बित्न थाल्यो । पछि त परिवारजस्तै भएँ ।’

प्रचण्डका अनुसार समको घरको उत्तरपूर्वी दिशामा ठूलो नाटयशाला थियो, जहाँ समले नाटक, नृत्य र गीत सिकाउने गर्थे । त्यति बेला नाटक सिक्न आउनेहरूको जम्बो टिम नै हुन्थ्यो । ४०/५० जनाको टिमलाई सम नि:शुल्क नाटक सिकाउँथे ।

‘समको त्यो कक्षमा उति बेला फ्रान्सलगायत विभिन्न देशी र विदेशी नाटकहरू देखाइने गरिन्थ्यो,’ उनले भने, ‘उनको परिवारले कहिल्यै झिँझो मानेको थाहा भएन । सम मात्रै नभई समका पत्नी, भाइ, छोराछोरीहरूसमेत नाटक क्षेत्रमा रुचिका साथ लागि पर्नुहुन्थ्यो ।’ उनका अनुसार समले नाटक त सित्तैमा सिकाउँथे नै, सिक्नेलाई खाजा पनि सित्तैमा खुवाउँथे । ‘भोक लागिरहेको हुन्थ्यो,’ उनले भने, ‘समको घरमा जे हुन्छ, चिया, गुलियो, नुनिलो बिस्कुट, समोसा, निम्कीजस्ता खानेकुरा सँगै बसेर खान्थ्यौँ ।’ प्रचण्डका लागि सम गुरु मात्रै हैनन्, अभिभावक नै थिए ।

प्रचण्डले नाटक सिक्दाताका त्यस्तो कठोर समय थिएन । समले बोलेरभन्दा पनि प्राक्टिकल्ली नै सिकाउँथे । अभिनय नै गरेर देखाउँथे । विसं २०११ मा समले प्रचण्डलाई ‘अमरसिंह’ नाटकमा पहिलो पटक मौका दिए । त्यसपछि सुरु भएको प्रचण्डको नाटययात्रा अहिले जिउँदो इतिहासको रूपमा स्थापित छ ।

समका पाण्डुलिपि संग्रह। तस्बिर : सुनीता

समको घर
ज्ञानेश्वरमा समको दुइटा घर छन्, एउटा उनी जन्मिएको र एउटा समले बनाएको । दुवै घर अहिले भूकम्पले क्षतिग्रस्त छन् । उनी जन्मिएको घरमा पुग्दा बन्द देखिन्थ्यो भने उनले बनाएको घरमा उनका नातिनी बुहारी र पनातिहरू भेटिए ।

क्षतिग्रस्त भएकाले भवनका थुप्रै कोठाहरू प्रयोगहीन छन् भने प्रयोगमा भएकामा पनि भूकम्पको असर देखिन्छ । समको बैठक कोठा भने अझै उस्तैगरी सिंगारिएकै छन् । एकापट्टि बुट्टेदार आँखीझयालले भित्ता सजाइएको छ भने अर्काेतिर समकी पत्नी मन्दाकिनीको ठूलो पेन्टिङ र समले नै बनाएका अन्य साना पेन्टिङहरू झुन्डयाएका छन् ।

कलात्मक बुट्टेदार ऐना, जुद्धशमशेर र भैरवको चित्र, पुराना इन्साइक्लोपेडियाका ठुल्ठूला ठेलीहरूले कोठा सजिएका छन् । ‘यो कोठा फ्रान्सको दरबार शैलीमा बनाएको भनेर समले बेलाबेलामा चर्चा गर्नुहुन्थ्यो,’ प्रचण्डले भने, ‘यो कोठाको आँखीझयाल पछाडि विशेष बत्ती थियो । समलाई जुन समयमा लेख्न इच्छा हुन्थ्यो, लाइट मिलाएर त्यही समयको मुड बनाउनुहुन्थ्यो ।’

सम सुत्ने कोठामा अहिले डाइनिङ टेबल छ । भित्ताभरि वाल पेन्टिङ देखिन्छ । समले आफ्ना बुवा समरशमशेरलाई मुख हेर्ने दिनमा उपहार दिएको समुद्री छालको चित्र पनि यहाँ राखिएको छ । सानो छुट्टै बैठककोठामा अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर र उनकी श्रीमतीको पेन्टिङ झुन्डयाइएको छ ।

पेन्टिङका बारेमा बोल्दै बुहारी कल्पनाले भनिन्, ‘उहाँ हरेक प्रधानमन्त्रीलाई पेन्टिङ बनाएर हस्तान्तरण गर्नुहुन्थ्यो । तर त्यो बेलामा मोहनशमशेरलाई पेन्टिङ दिनुभन्दा पहिले नै कार्यकाल सकिएकाले दिन पाउनुभएन । त्यही भएर समले पेन्टिङमा हस्ताक्षर पनि गर्नुभएन भन्ने सुनेको हुँ ।’

समकै प्रेरणामा सरुभक्त
सरुभक्तले समलाई केवल तीन पटक भेटेका छन्, बोलेको चाहिँ एक पटक । पहिलो पटक २०२७ सालमा । पोखरामा पढदै गर्दा सम साहित्यिक कार्यक्रमका लागि सरुभक्त पढ्ने विद्यालयमा पुगे । नाटक पढेरै फयान बनिसकेका थिए सरुभक्त ।

नजिकबाट देख्न पाएकामा निकै खुसी भए । तर, समले नाटकभन्दा पनि लक्ष्मीप्रसाद देवकोटाको योगदानबारे चर्चा गरे । त्यसपछि झनै उनी समका फयान भए । ‘धेरैले आफ्नै प्रशंसा गर्थे,’ उनले भने, ‘समले भने देवकोटाको योगदानको चर्चा मात्रै गरेनन्, युवालाई प्रोत्साहित पनि गरे ।’

त्यसपछि रातरातभर समकै नाटकहरू पढेर बिताउन थाले सरुभक्तले । समलाई नै पढेर नाटक लेख्न सिकेको उनी बनाउँछन् ।

दोस्रो पटक उनले काठमाडौंको न्युरोडको अस्कल छात्रावास बाहिर देखे समलाई । बाटोमा हिँडदै गरेका समलाई सरुभक्तले पछयाए । ‘बोल्न भने डर लाग्यो,’ सरुभक्तलाई सम्झना छ, ‘अनि पछयाउँदा पछयाउँदै हातमा पुस्तक बोकेर रिक्सा चढेर जानुभयो । यति ठूलो मान्छे रिक्सामा चढेर गएकोमा अचम्म लाग्यो ।’

तेस्रो पटकको भेट भने स्पेसल रहयो सरुभक्तका लागि । त्यही बेला पहिलो पटक समसँग उनले दोहोरो संवाद गरे, त्यो नै अन्तिम बन्यो । विसं. २०३८ मा राष्ट्रिय नाचघरमा अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा देशव्यापी नाटक प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा सरुभक्तले नाटक ‘यामभरीको सपना’ लिएर पोखराबाट आएका थिए । सरुभक्त आफैंले लेखेर मञ्चन पनि गरे । निर्णायकमा बालकृष्ण सम, विजय मल्ल, भज्ञ प्रसाद थिए ।

‘त्यतिखेर मेरो नाटकलाई उहाँहरूले प्रथम बनाइदिनुभएको थियो,’ उनले भने, ‘पहिलो पटक समसँग बोलेको पनि थिएँ । मेरो नाटकको प्रशंसा गर्नुभयो ।’ त्यही वर्ष समको देहवसान भएको खबर पाएपछि उनी मर्माहत भए । उनले भने, ‘समकै बाटोमा लागेर नाटक लेखिरहेँ ।’

हरायो पाण्डुलिपि
सम डम्बरशमशेर राणाका नाति हुन् भने समरशमशेरका छोरा । प्रचण्डका अनुसार समका दाजु पुष्करशमशेर पनि नरम स्वभावका थिए । दुई जनाबीच कसले राम्रो नाटक लेख्ने, साहित्य सिर्जना गर्ने र अभिनय गर्ने भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो । सैनिक सेवामा लेफटनेन्ट कर्णेलसम्म भएका सम रंगमञ्च, साहित्य, कलामा भने गहिरोसँग भिजे । पछि उनी सैनिक सेवा चटक्कै छोडेर साहित्य र रंगमञ्चको क्षेत्रमा आइपुगे । बालकृष्ण शमशेर जबराबाट उनी बालकृष्ण सम बने ।

‘त्यस बेलामा राणाशाहीलाई यो मन परेन,’ बुहारी कल्पनाले भनिन्, ‘पारिवारिक समारोहमा समेत समलाई बोलाउन छाडे ।’ तर पनि समले जनतासँग मिसिएर साहित्यिक कार्यक्रमहरूमा हिँड्न र लेख्न नछोडेको उनले बताइन् । छोरा जनार्दन र नाति जीवन पनि समकै बाटोमा लागे । तर गत वर्ष जीवन दिवंगत भए । अहिले समको उत्तराधिकारीका रूपमा छन्, कल्पना राणा र उनका दुई छोराहरू । उनकी छोरीको भने विवाह भइसकेको छ ।

२०३८ मा कल्पनाको विवाह जीवनसँग भएको थियो, सम दिवंगत भएकै वर्ष । त्यही भएर समलाई देख्न र चिन्न पाइनन् कल्पनाले । उनलाई सम को हुन् र कस्ता थिए भन्ने थाहा दिएका थिएनन् पति जीवनले । ‘विवाहपछि नै समको चित्र र किताबबाट चिनेकी हुँ,’ उनले भनिन् ।

समजस्तै नाति जीवन पनि मनकारी थिए । समका पेन्टिङ र अप्रकाशित कृतिका पाण्डुलिपिहरू जीवनसँग मागेर लगेपछि फिर्ता नगरेको कल्पनाले बताइन् । ‘मैले कला, साहित्यको क्षेत्रकालाई प्राय: चिन्दिनँ, लैजाने को हो पनि थाहा छैन,’ उनले भनिन्, ‘कति पेन्टिङहरू लगेर फिर्ता नगर्नेहरू धेरै छन् ।’

पहिले विभिन्न सञ्चारमाध्यमहरूले नभनेको कुरालाई पनि बढाईचढाई गरेर लेखिदिएकाले उनलाई कसैमाथि पनि विश्वास नलाग्ने पनि बताइन् । उनी स्वयं पनि अहिले पेन्टिङ गर्न थालेकी छन् । बैठककोठामा उनले बनाएका फूल र गमलाका पेन्टिङहरू झुन्डिएका पनि छन् । ‘मलाई पनि अहिले रहर लाग्न थालेको छ,’ उनले भनिन् ।

समको योगदानलाई अहिले बिर्संदै गएको उल्लेख गर्दै अब उनी समको कृतिहरू पुन: प्रकाशित गरेर समलाई पुन: साहित्य क्षेत्रमा चिनाउन चाहन्छिन् । ‘अहिलेको नयाँ पुस्ताले समका कृतिहरू पढ्नु आवश्यक छ, धेरैले समलाई चिनेका छैनन्,’ उनले भनिन्, ‘अहिले त म आफैं शोकमा छु । केही वर्षमा अलिक सम्हालिएपछि समका अप्रकाशित र प्रकाशित कृतिलाई पुन: प्रकाशित गर्ने योजना छ ।’

Esewa Pasal

प्रकाशित : भाद्र २०, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

संस्कृत जोगाउने गाउँ

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण भारतको कर्णाटकस्थित मत्तुर गाउँका बासिन्दा संस्कृत भाषा बोल्छन् । तिनले ‘अहम् गच्छामी’, ‘कथम् अस्ति ?’ भन्दै कुराकानी गर्नु अनौठो होइन ।

यो गाउँको विशेषतै भनौं, यहाँ सबैलाई संस्कृत आउँछ र प्रत्येक घरका एक न एक सदस्य सूचना प्राविधिक हुन्छन् नै ।

स्थानीय ब्राम्हमण समुदायको सांकेथिस थरीको बसोबास रहेको मत्तुरमा संस्कृत भाषा बोलीचालीको माध्यम हो । हुन त उनीहरूको आफ्नै मौलिक भाषा पनि छ, सांकेथी । संस्कृत, तामिल, कन्नड र तेगलुको सम्मिश्रणबाट बनेको सांकेथीसँगै सांकेथिस समुदायले संस्कृत भाषा पनि जोगाउँदै आएका छन् ।

शिक्षाको राम्रो प्रबन्ध रहेको मत्तुर गाउँमा संस्कृतिको जर्गेना भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आईटी विज्ञ जन्माउने यो गाउँका थुप्रै जनशक्ति विदेशमा कार्यरत छन् । तर, आफूहरूको परम्परा कायम राख्न परदेसिएकाहरू पनि चाडपर्व र रीतिरिवाज मान्न अनिवार्य गाउँ फर्किने गरेका छन् ।

मत्तुरबासीले सञ्चालन गरेको पाठशालामा वैदिक र वैज्ञानिक दुवै थरी पढाइ हुन्छ । गाउँका प्रौढ र पाकाहरूलाई पनि विद्यालय जाने वातावरण मिलाइएको छ । राम्रो शैक्षिक रेकर्ड राखेकोमा जिल्लाभरि नै मत्तुर गाउँ नमुनाका रूपमा रहँदै आएको इन्डियन एक्सप्रेसले जनाएको छ । संस्कृत पढ्नाले विद्यार्थीको गणितीय र तार्किक क्षमता वृद्धि हुने भएकाले यो भाषा समावेश गरिएको स्थानीयको भनाइ छ ।

संस्कृत सिक्नका लागि यहाँ विदेशबाट पनि विद्यार्थी आउने गरेका छन् । संस्कृत भित्ते चित्रणका लागि पनि मत्तुर नामुद छ । मार्ग स्वच्छताय वीरजाते, ग्रामी सुजनाह वीरजाते (सडक सफा राख्न जरुरी छ किनभने गाउँका लागि राम्रा मान्छे महत्त्वपूर्ण छ) जस्ता भनाइ गाउँका भित्ताभरि लेखिएको पाइन्छ ।

अगस्ट २६ मा संस्कृत दिवस मनाइरहँदा यो भाषाको महत्त्व र प्रभावबारे विभिन्न भेगमा छलफल भएका थिए । हाल पूजाआजा वा अन्य धार्मिक समारोहमा पाठ पढ्न मात्रै सीमित राखिएको भाषामा ऐतिहासिक साहित्य र ग्रन्थ रहेकाले तिनको अध्ययनका लागि यो भाषा जोगाउनै पर्ने बताइन्छ ।

संस्कृतमा लेखिएका कपितय पुस्तक थुप्रै भाषामा अनुवाद गरिएको छ । पञ्चतन्त्र, कामसूत्र, योगसूत्र, शकुन्तला र अर्थशास्त्रजस्ता पुस्तक कैयौं भाषामा पढ्न सकिन्छ ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT