१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

स्वदेशी पहिरनलाई माया

काठमाडौँ — ‘खै म कस्तो देखिएँ ?’ तेह्रथुमे ढाकाको टोपी पहिरिँदै खिचापोखरीका गजेन्द्रबहादुर श्रेष्ठ ऐना हेर्न तम्सिए । सबैले सुहाएको प्रतिक्रिया दिएपछि उनले त्यो ढाकाको टोपी किने ।

स्वदेशी पहिरनलाई माया

टोपी पहिरिँदै उनले भने, ‘अब स्विडेन गएको बेलामा यही लाउँछु । नेपाली कपडा भनेर गर्वका साथ विदेशीहरूलाई सुनाउँछु ।’

काठमाडौंको नागपोखरी मार्गस्थित इमेगो डी क्याफे ग्यालरीमा बिहीबारदेखि सवाह नेपालले गरेको ‘फेसन फोटो प्रदर्शनी’ मा गजेन्द्रले ढाका टोपी मात्रै किनेनन्, उनले नेपालमै उत्पादित अलैँचीको धुलो पनि किने । काष्ठमण्डप रोटरी क्लबका संस्थापक अध्यक्ष श्रेष्ठ केही समयपछि विश्वका कन्सल्टेन्टहरूबीच हुने बृहत् मिटिङका लागि स्विडेन जाँदै छन् ।

‘२०७२ को भूकम्पलगत्तै पनि स्विडेन गएको थिएँ,’ उनले भने, ‘म नेपालको भनेर थाहा पाएपछि स्विडेनका राजा र रानीले नेपालको भूकम्पबारे चासो लिएर सोधेका थिए, त्यति बेला म नेपाली पोसाकमा थिइनँ, त्यसैले दु:ख लागेको थियो । तर अब जाँदा नेपालको पोसाकसमेत स्विडेनमा प्रदर्शन गर्छु ।’

नेपालको विभिन्न क्षेत्रका महिलाहरूको उत्पादन गरेको सामान खरिद गरेर उनीहरूलाई प्रोत्साहित गर्नुपर्नेमा गजेन्द्रले जोड दिए । ‘करोडांैको बैंक ब्यालेन्स हुँदैमा मानिस धनी हुँदैन रैछ,’ उनले भने, ‘पकेटमा कति पैसा छ भनेर हैन, उनीसँग कति सीप र मौलिकता छ, त्यसमा भर पर्दाे रैछ ।’

थापाथलीका ७२ वर्षे कमल रुपाखेतीको छोरी शुक्रबार अमेरिका उड्दै छिन् । छोरीका लागि के उपहार लिने भनेर उनी चिन्तित थिए । प्रदर्शनीमै उनले छोरीका लागि ढाकाको सल र अलैँचीको धुलो र चिया किने । ‘बाहिर कस्तो पाइन्छ कस्तो । त्यसैले यहीँबाट पठाउन लागेको हो,’ उनले भने, ‘नेपाली अलैँचीको स्वाद नै भिन्नै हुन्छ । विदेशमा बसेर नेपाली उत्पादन खाँदा नेपाल बिर्सिंदैन ।’ उनी नेपाली उत्पादन नेपालमा नै बिक्रीवितरण गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिँदै प्रदर्शनीबारे अन्य साथीहरूलाई पनि खबर गर्ने उनले बताए ।

सवाहको डिजाइन एन्ड डेभलपमेन्ट प्रमुख बिनी बज्राचार्यका अनुसार सवाहले महिलाहरूको क्षमता अभिवृद्धिका लागि काम गर्छ । महिलाहरूलाई उत्पादनको क्षेत्रमा लगाउने र उनीहरूद्वारा उत्पादित सामानहरूलाई बजार दिने काम उनीहरू गर्छन् ।

उनका अनुसार २२ वटा जिल्लाका तीन हजारभन्दा बढी महिला सवाहमा आबद्ध छन् । उनीहरू टेक्सटाइलतर्फ ढाका, अल्लो उत्पादन गरी त्यसबाट महिला तथा पुरुषहरूका लागि आवश्यक सामग्री तयार पार्छन् । त्यसपछि खानेकुरामा नेवार खाजा, य:मरीलगायत बनाउने गर्छन् ।


प्रदर्शनीमा नेपाली नेचुरल फेब्रिकहरू राखिएका छन् । हेम्प कटन, ब्याम्बो कटन, तेह्रथुमे ढाकालगायत उनीहरू आफैं उत्पादन गर्छन् । नेपाली फेसनको दुनियाँमा भारतीय र चिनियाँ फेब्रिकहरू चमकदार र आकर्षक देखिने भएकोले एक मिटर कपडाकै हजारौँ तिरेर किन्ने गरेको बिनीले दाबी गरिन् ।

बिनीले भनिन्, ‘तर नेपालमै बनेको गुणस्तरीय ढाकाहरू भने किन्दैनन् । नेपालमै महिलाहरूले दु:ख गरेर बुनेको ढाका कसैले किन्दैन । जुन स्वास्थ्यका लागि पनि राम्रा हुन्छन् ।’ पछिल्लो समय कुर्ती, गाउनलगायत मोर्डन अटायरहरूमा ढाकाको प्रयोग बढेको उल्लेख गर्दै उनीहरूले ढाकाको प्रयोग गरेर ल्यापटप केस, लेडिज हयान्ड ब्याग, पर्स, सलजस्ता लेडिज वेयर र पुरुषका लागि टोपी ज्याकेट, वेस्ट कोट, टाईलगायत राखेका छन् । महिलाहरूलाई रोजगारी दिनुका साथै उनीहरूले महिलाको क्षमता अभिवृद्धिमा समेत काम गरिरहेका छन् । ‘यो एक किसिम मुभमेन्ट पनि हो । पिछडिएका महिलालाई कामको माध्यमबाट अगाडि ल्याउने कोसिस गर्दै छौँ,’ बिनीले भनिन् ।

बुङ्मतीकी ४४ वर्षे रचना तुलाधर ६ वर्षदेखि सवाहअन्तर्गत खानेकुरा बनाउँछिन् । पहिले उनी बुनाई सिक्न सवाह आइन् तर पछि फुडको पनि तालिम सञ्चालन भएपछि उनले फुडतर्फ लागिन् । अहिले उनी अर्डर अनुसारका नेवार परिकारहरू बनाउने गर्छिन् ।

सवाहकै टिमले खोकनामा उत्पादन गरेको चामल, खुवाबाट लालमोहन, य:मरी लगायत छोइलाजस्ता बफ आइटमहरू बनाउने गर्छिन् । ‘घरमा पहिलेदेखि नै पैसाको कमी थिएन । तर म बोल्नै जान्दिनथेँ, कहीँ एक्लै जान पनि सक्दिनथेँ,’ उनले ६ वर्ष अघिको घटना सम्झिँदै भनिन्, ‘६ वर्षअघि भृकुटीमण्डपमा हराएकी थिएँ । यहाँ काम गर्दै जाँदा आत्मविश्वास बढ्दै गएको छ । अहिले प्लेन, गाडी, रेल चढेर भारतसम्म पुगेर आइसकेँ ।’ अब जस्तोसुकै परिस्थिति आए पनि लड्न सक्ने आत्मविश्वास बढेको उनले सुनाइन् ।

सुदूरपश्चिम धनगढीकी रमिता कार्की ५ वर्षदेखि सवाहमै सिलाइ–बुनाइका साथै डिजाइन र मार्केटिङको काम गर्छिन् । यसरी नै उनी महिनाको १२ देखि १४ हजार रुपैयाँसम्म आम्दानी पनि गर्छिन् । उनका पति अरूको पसलमा काम गर्छन् । यो काम गर्न थालेपछि उनले आफूमा परिवर्तन भएको महसुस गरेकी छन् । ‘पहिले मलाई मोबाइलमा रिचार्ज गर्न
आउँदैनथ्यो,’ उनले भनिन्, ‘अहिले मार्केटिङसम्म गर्न सक्ने भइसकेको छु ।’ प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।

प्रकाशित : भाद्र २२, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?